Sunday , November 19 2017
Home / Featured News / टुडिखेलमा मानवले बनाए नेपालको झण्डा

टुडिखेलमा मानवले बनाए नेपालको झण्डा

काठमाडौंको टुडीखेलमा हजारौं मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।  शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले ७ भदौमा नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा नेपालको झण्डा बनाएको छ ।nepali_flag_human

 

करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ । दृश्य सामग्रीसँगै समाजसेवी अनुराधा कोइराला, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको साक्षी हस्ताक्षरसमेत सङ्कलन गरी पठाइने आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।

 

त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकप्टरमार्फत दृश्यमा कैद गरिएको थियो । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड छ । नेपालको झण्डा जस्तो र जुनजुन रङको छ त्यही रङमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गरेका थिए ।

 

यसका लागि एकजना मानिसले बोक्ने कागजको आकार १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको थियो । सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको थियो ।

 

दृश्य सामग्रीको अध्ययन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डले आठ हप्ताभित्र निर्णय दिनेछ । कार्यक्रमका लागि प्रत्येक सहभागीबाट रु १०० उठाइएको थियो ।सोही अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मानव सागर सहभागी झण्डा निर्माणले नेपालीहरु बीचको एकता र राष्ट्रियतालाई दर्शाउने बताए ।

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी र वुद्धिजीवीको समेत सहभागिता थियो । अध्यक्ष खनालले आफूहरुले निर्माण गरेको चन्द्र र सूर्य अङ्कित मानव सागर नेपाली झण्डा विश्व कीर्तिमान दर्ता हुने विश्वास व्यक्त गरे ।

रासस

 

Comment