Monday , December 18 2017
Home / Australia / एनआरएन र ‘वाक फ्रि फाउन्डेसन’ वीच सम्झौता

एनआरएन र ‘वाक फ्रि फाउन्डेसन’ वीच सम्झौता

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएन) ले मानव बेचबिखन र दासता उन्मुलन कार्यमा अग्रणी बिश्वब्यापी परोपकारी संस्था ‘वाक फ्रि फाउन्डेसन’सँग सम्झौता गरेको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र वाक फ्रि फाउन्डेसनकी कार्यकारी निर्देशक फिओना डेभिडवीच शुक्रबार अष्ट्रेलियाको मेलवर्नमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।nrna-and-walkfree-foundatio

अष्ट्रेलियाका धनाढ्यको सूचीमा सातौं नम्बरमा रहेका एन्ड्रयु फरेष्ट र उनकी पत्नी निकोला फरेष्टले स्थापना गरेको ‘वाक फ्रि’ फाउन्डेसनले बिश्वका १६ मुलुकमा मावनबेचबिखन र आधुनिक दासता उन्मुलनसम्बन्धी अभियान संचालन गर्दै आएको छ । फरेष्ट दम्पतीले आफ्नी छोरीले नेपाल भ्रमणमा रहेका बेला एक अनाथालयमा मानव बेचबिखन र दासताको अबस्था प्रत्यक्ष देखेपछि सन् २०१२ मा यो संस्था स्थापना गरि दासता उन्मुलनको कार्य सुरु गरेका थिए । वाक फ्रि फाउन्डेसनले आफ्नो कार्यक्षेत्रको १६ औं मुलुकका रुपमा नेपाललाई छनौट गरेको छ ।

‘वाक फ्रि फाउन्डेसनजस्तो ठूलो संस्थासँग सम्झौता हुनु गैरआवासीय नेपाली संघको महत्वपूर्ण उपलब्धि हो’ हस्ताक्षर कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष घलेले भन्नुभयो-’खाडी लगायत श्रम गन्तब्यमा बेचिन र दासता सहन बाध्य नेपालीहरुका हितमा काम गर्न हामीले बलियो साझेदार पाएका छौं ।’

बिदेशमा दासता भोग्न बाध्य नेपाली र उनीहरुको नेपालमा रहेको परिवारको उत्थानका लागि वाक फ्रि फाउन्डेसनसँग मिलेर गैरआवासीय नेपाली संघले काम गर्ने उहाँले जानकारी दिनुभयो । ‘नेपालमा काम गर्ने वाक फ्रि फाउन्डेसनको प्रतिबद्धताले नेपालमा दासता उन्मुलनका क्षेत्रमा निकै ठूलो अर्थ राख्नेछ’ उहाँले भन्नुभयो । संस्थाको उदेश्यअनुरुप आधुनिक समाजको दासता उन्मुलनका लागि काम गर्न गैरआवासीय नेपाली संघलाई साझेदार बनाएकोमा उहाँले वाक फ्रि फाउन्डेसनलाइ धन्यवाद दिनुभयो ।

मेलवर्न इन्स्िटच्यूट अफ टेक्नोलोजीको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा स्थानीय संचारकर्मी, एनआरएन बैदेशिक रोजगार राहत कोषकी उपाध्यक्ष दीपा राई, नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्य तथा भिक्टोरिया क्षेत्रमा रहेका नेपाली समुदायका प्रतिनिधिको उपस्थीति थियो ।

वाक फ्रि फाउन्डेसन मुख्य कार्यालय वेष्टर्न अष्ट्रेलियाको पर्थमा रहेको छ जसले बिश्वका १६ मुलुकमा दासता उन्मुलनसम्बन्धी बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

 स्रोत अनलाइन खवर 

Comment