Monday , December 18 2017
Home / Featured News / स्वराज राजनीतिक भेटघाटमा ब्यस्त

स्वराज राजनीतिक भेटघाटमा ब्यस्त

नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज शनिबार दिनभर नै भेटघाटमा व्यस्त भइन् । शुक्रबार साँझ काठमाडौं आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणासँग भेट गरेकी स्वराजले शनिबार बिहानदेखि थप भेटघाटमा व्यस्त भएकी छन् । उनले राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा, प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा, सभामुख सुवास नेम्वाङ र प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बानेश्वरस्थित संविधानसभा भवनमा भेट गरेकी छन् ।3088_33a3a397a36957be1f4b5bbe1a232201_m

राष्ट्रपतिसँग भएको भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको थियो।

दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीले विचार आदानप्रदान भएको राष्ट्रपतिको कार्यालयका सचिव शारदाप्रसाद त्रितालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको भेटमा स्वराजले शान्ति प्रक्रियाका बाँकी काम र संविधान निर्माणमा भारतले सहयोग गर्ने बताइन् । ‘नेपालमा समयमै संविधान जारी होस्,’ स्वराजको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले संवाददाताहरुसित भने, ‘भारत सरकारले आवश्यक सहयोग गर्नेछ ।’

भारतीय विदेशमन्त्री स्वराजले नरेन्द्र मोदी सरकार गठन भएको दुई महिना पुगेको उपलक्ष्यमा प्रधानमन्त्री कोइरालासँग भेट भएकोमा खुशी व्यक्त गरिन् । उनले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको भट्टराईले बताए ।

प्रधानमन्त्री कोइरालाले माघभित्रै संविधान जारी हुने दाबी गर्दै त्यसपछि नेपाल आर्थिक क्रान्तितर्फ अघि बढ्ने बताए । उनले आर्थिक विकासका लागि भारतको सहयोग अपेक्षा गरे ।

त्यस अघि उनले बिहन मधेस केन्द्रित नेताहरुसँग सामूहिक भेट गरेकी छन् । स्वराजले आफू बसेको होटल द्वारिकामा मधेसी दलका अध्यक्षहरुका साथै कांग्रेस, एमाले र एमाओवादीमा सक्रिय केही मधेसी नेताहरुसँग सामूहिक भेट गरेकी हुन् ।

भेटमा मधेसी दलका नेताहरु महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादव, भरत विमल यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतका सहभागी थिए ।  त्यस्तै, कांग्रेसबाट अमरेशकुमार सिंह, एमालेबाट शत्रुघ्न महतो र एमाओवादीबाट प्रभु साह पनि उक्त सामूहक भेटमा उपस्थित थिए । बिहान ९ बजेबाट एक घण्टा उक्त भेटघाट चलेको हो ।
rambaran_20140726081330

भेटघाटमा मधेसी नेताहरुले भारतले मधेसको राजनीतिक समस्याप्रति सहानुभूति राख्दै समृद्ध र शान्त नेपालका लागि सघाओस भन्ने विचार राखेका थिए । बैठकमा सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भारतले मधेसमा सञ्चालन गरिरहेको हुलाकी राजमार्ग लगायतका परियोजहरु द्रुत गतिमा सम्पन्न गर्नुपर्ने धारणा आफूहरुले राखेका बताए ।

‘मधेसको समस्यालाई भारतले विशेष नजरले हेरोस,मधेसको समस्याप्रति सहानुभूति  राखोस,’ मधेसी नेताहरुले स्वराजसँगको छलफलमा भने । हुलाकी राजमार्ग, पूर्व पश्चिम रेल, चुरे संरक्षण र नदी नियन्त्रणमा भारतको सहयोगको अपेक्षा गरिएको रायले ईकान्तिपुरलाई बताए ।

प्रत्युत्तरमा स्वराजले सरकार बनेको दुई महिनामा आफू नेपाल आएकोले पनि नेपाललाई विशेष महत्व दिएको बताएकी थिइन् । उनले मधेसी नेताहरुसँगको छलफलमा भनिन्, ‘हामी बिल्कुलै नयाँ ढँगले आएका छौं ।’ स्वराजले भारतद्वारा सञ्चालित परियाजनाहरु द्रुत गतिमा सम्पन्न गर्ने गरी आफूले पहल थाल्ने सकारात्मक प्रतिवद्धता जनाएको फोरम गणतान्त्रिकका नेता रायले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रावणको महिना भएकाले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने गरी आउन चाहेको र उनले लुम्बिनी तथा जनकपुरको भ्रमणपनि गर्ने स्वाराजले उक्त भेटमा जानकारी दिइन् ।

यसैबीच होटल याक एन्ड यतिमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा विदेशमन्त्री स्वराज सहभागी भइन् ।

Comment