Monday , December 18 2017
Home / PaperPublished / हामी पनि नेपाली हौं। कि मर्छौं कि मार्छौं – अन्नपूर्ण पोष्ट

हामी पनि नेपाली हौं। कि मर्छौं कि मार्छौं – अन्नपूर्ण पोष्ट

गोली छल्न सफल भएँ : प्रहरी जवान मिश्र

जितपुर (बारा) : यातायात व्यवसायी अफताफ अन्सारीलाई गोली हानेर भाग्ने दुई भारतीयलाई पक्राउ गर्न बाराको जितपुरस्थित अस्थायी ट्राफिक पोस्टका प्रहरी जवान गोविन्द मिश्रले देखाएको बहादुरीको जितपुरवासीले प्रशंसा गरेका छन्। सिठ्ठी फुक्दै सडकमा ड्युटी गरिरहेका मिश्रले चलचित्र शैलीमा अपराधीलाई पछ्याएका थिए।
घटनास्थलभन्दा करिब ३० मिटरको दूरीमा ड्युटी गरिरहेका मिश्रले गोली चलाएर भाग्दै गरेका अपराधीलाई देखेपछि मोटरसाइकल हाँकेर पछ्याएका थिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीव्र गतिमा भागिरहेका ती अपराधीले गढीमाई नजिक पुगेपछि आफूमाथि गोली चलाएको तर छल्न सफल भएको बताए।

‘उनीहरू चढेको मोटरसाइकल बिग्रिएपछि दौडन थाले। मचाहिँ उनीहरूलाई पछ्याउदै गएँ’, मिश्रले भने, ‘त्यतिबेलै एक अपराधीले मतिर गोली चलाए तर म छल्न सफल भएँ। त्यसपछि केही समय पछाडि हटें।’

मिश्रलाई लक्षित गरेर गोली चलाएपछि अपराधीले वीरगन्जतर्फबाट आउँदै गरेको स्प्लेन्डर मोटरसाइकललाई पेस्तोल देखाएर नियन्त्रणमा लिई त्यसैमा चढेर भागेका थिए। ‘म पछ्याउँदै गएँ। त्यतिबेलै मैले प्रहरी जवान सन्तोष गिरीको साथ पाएँ’, मिश्रले भने।

‘इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी जवान गिरीलाई मोटरसाइकलको पछाडि सिटमा राखेर अपराधीलाई पछ्याउने र प्रहरी कार्यालयमा उनीहरू भागिरहेको क्षेत्रबारेमा जानकारी गराइरहें। कार्यालयमा सूचना दिँदै अपराधीको पछिपछि मोटरसाइकल कुदाइरहयौं’, गिरिले भने, ‘जसका कारण अपराधी उम्कन पाएनन्, पूर्वसूचना पाएर तैनाथ बसेका प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भयौं।’

अपराधी पक्राउ गर्ने क्रममा उनीहरूले चलाएको गोली लागेर इनर्वासिरा प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेख अबजान घाइते भएका थिए। गोली लागेर घाइते भए पनि आफ्नो ज्यानको समेत परवाह नगरी उनीहरूले अपराधी रवि पाण्डे र विपीन यादवलाई उखुबारीमा लुकेको अवस्थामा पक्राउ गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिलजंग शाहले अपराधीलाई पक्राउ गर्न ट्राफिक प्रहरी जवान मिश्रले आफ्नो दायित्व निर्वाह गरेको बताए। मिश्रको सहयोगमा नै अपराधीलाई पक्राउ गर्न सफलता मिलेको शाहको भनाइ छ। जितपुरका स्थानीय हरेन्द्र साहले ट्राफिक प्रहरीको बहादुरीको कदर गर्नुपर्ने बताए।

मृत्युको मुखमा पुगेर समात्यौं : मातृका ठाकुर, प्रसनि

‘हामी इलाका प्रहरी कार्यालय इनर्वासिरामा बसिरहेका थियौं। एक्कासि सेटमा यातायात व्यवसायी अफताफ अन्सारीमाथि गोली प्रहार गरेर दुई व्यक्ति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भागेको सूचना बज्यो। हत्तपत्त मोटरसाइकल लिएर भाग्नसक्ने सम्भावित क्षेत्रमा कुद्यौं। सुरुमा मैले (असई ठाकुर) मोटरसाइकल हाँकेको थिएँ। पछि जवान अबजानले हाँके। इनरुवा गाउँमा पसेपछि गाउँमा मानिसहरूको भीडका कारण एकछिन त कता पसे कताजस्तो भयो।

पुन: प्रहरी सेटमा ना १९ प ७१०५ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भागेको सूचना आयो। त्यो मोटरसाइकल हाम्रै अगाडिबाट दौडियो। उनीहरूले मोटरसाइकल धेरै तीव्र गतिमा हाँकेका थिए। उखुबारी आयो। इनर्वासिराको पिपरियामा रहेको उखुबारीमा मोटरसाइकल लुकाएर एकजनाले दुईवटा पेस्तोलले हामीमाथि गोली हान्न थाल्यो।

जवान अबजान भुइँमा ढलिहाले। मलाई पनि गोली हाने। म पनि भुइँमा ढलें। ‘हामी भारतका सार्पसुटर हौं। तिमीहरूलाई मारिदिन्छौं। ज्यान बचाउनुछ भने भागिहाल’ भनेर धम्कीसमेत दिए।

मैले राइफल बोकेको थिएँ। ‘हामी पनि नेपाली हौं। कि मर्छौं कि मार्छौं’ भन्यौं। मेरा दुईवटै हात र कम्मरमा गोली लागिसकेको थियो। जवान अबजानको बायाँ हातमा गोली लागेको थियो। भुइँमा ढलेको जसरी एकछिन नाटक गरें। उनीहरू भाग्न लाग्दा राइफलको बिँडले एउटाको टाउकोमा प्रहार गरें। अबजानले पनि राइफलको बिँडले प्रहार गरे।

दुवैजना भुइँमा ढलेपछि दुवैका हात पछाडिबाट बाँधेर लडायौं। त्यसपछि स्थानीय बासिन्दा र थप सुरक्षाकर्मी आइपुगे। हाम्रो प्रहरीचौकी र अपराधी नियन्त्रणमा लिएको स्थानको दूरी करिब १४ किलोमिटर थियो। शरीरमा गोली छिरेपछि त अब मर्छौंजस्तो लागेको थियो। तर जसरी पनि नियन्त्रणमा लिने दृढता एकाएक जाग्यो। पक्राउ गर्न सफल भयौं। उनीहरूले हामीमाथि अन्धाधुन्ध १४ राउन्ड गोली फायर गरे।

(दिवाकर भण्डारी, प्रहरी अस्पताल महाराजगन्जमा उपचार गराइरहेका असई ठाकुर र जवान अबजानसँग सुवास गोतामेले गरेको कुराकानीमा आधारित)

Comment