Friday , December 15 2017
Home / Blog / हराएका सहिद – लघुकथा

हराएका सहिद – लघुकथा

“धर्मराज हाम्रा आदरणीय चार सहिदहरु हजुर समक्ष एउटा निवेदन लिएर आउनु भाको छ उहाहरुको समस्या निकै गम्भीर छ कृपया हजुरले विचार गर्दिनु पर्यो | समस्याको सम्बोधन बेलैमा नगरिए उहाहरु यस स्वर्गलोक त्याग्ने सोचमा हुनुहुन्छ |” चित्रगुप्तले धर्मराजलाई बिन्ति चढाए | धर्मराज स्वर्गलोक नै त्याग्ने कुरो सुनेर छक्क परे |

“अहिले हाम्रो स्वर्गलोकमा नेपालबाट नया सहिदहरुको आगमन व्हात्तै बढेको छ | धेरै किसिमका सहिदहरु दिनहु थपिदै छन् | यी पुराना सहिदलाई नयाले सारै हेपे |” चित्रगुप्तले थपे | हुन पनि राति जांडको तालमा हिंड्दा गाडीले किचेका भुस्याहा देखि भ्रष्टाचारी घुस्याहा सम्म, किन सहिद भए भन्ने पत्तो नभएका गुमनाम देखि नेताका हनुमान सम्म, देशको लागि सिन्को नभाच्ने प्रख्यात माननीयजान देखि कुख्यात माफिया डनसम्म सहिदको कोटामा स्वर्ग आउनथालेपछी सहिद सेक्सन नै भरिन लागेको थियो | विभिन्न सहिद समुहबिच हुने बादबिवादले चित्रगुप्त पनि आजित भैसकेका थिए |

“भन्नुस सहिद्ज्यु तपाईहरुलाई त्यस्तो के समस्या पर्यो र स्वर्गलोक नै छोडेर जाने कुरा गर्दै हुनुहुन्छ ? “ धर्मराजले सोधे | “हे धर्मराज कि त हामीले पाएको सहिद सम्मान फिर्ता लिनपर्यो कि त सहिद शब्दको अर्थ नै परिवर्तन गर्न पर्यो | हामी अब सहिद बनेर चिनिनु भन्दा साधारण नागरिक नै हुन चाहन्छौं | “ बुढा शुक्रराजले भने |

सधै शान्त रहने यी चार सहिदहरुको कुरो सुनेर धर्मराज निकै गम्भीर भएर भने “तपाइहरु आफ्नो देशको मात्र हैन स्वर्गलोकको पनि गौरव हुनुहुन्छ | यस्तो निष्ठावान, निस्वार्थ भावनाका साथ राष्ट्रप्रति समर्पित र जनतालाई निरंकुसताबाट मुक्ति दिलाउनको लागि आफ्नो ज्यानकै आहुति दिने तपाइहरुजस्तो महामानवले गर्दा देशको मात्रै हैन यो स्वरर्गलोकको पनि गरिमा बढेको छ | राणा शासनको बिरुद्ध जनताका लागि लड्ने तपाइहरु जस्तो अमर सहिदले किन यस्तो कुरो गर्नु भएको हो ? बा यहाहरुको सम्मानमा ठेस पुर्याउने केही काम हामी बाट भयो कि? तपाइहरु जस्ता अमर व्यक्तिलाई हामीले दिने विशेष आदर छाडी स्वर्गलोक नै त्यागेर किन साधारण नागरिक हुन खोज्नु भएको हो ? फेरि सहिद जस्तो सम्मानित शब्द अर्थ किन फेर्न पर्यो?”

चारै सहिदले पालैपालो धर्मराज समक्ष गुनासो पोखे | “हामी पनि अरु सहिदलाई उत्तिकै सम्मान गर्छौं | राष्ट्रको लागि आफ्नो प्राण बलिदान गर्ने मान्छे कहिले पनि तुच्छ हुँदैन | तर बिडम्बना अहिले यहाँ कोहि देश र जनताको लागि आफ्नो ज्यानको बलिदान गरेर आएका छैनन् | कोहि पार्टी बिशेष त कोहि जाति बिशेष कोहि के त कोहि के | हामि त हाम्रो देश प्रति समर्पित स्वतन्त्र योद्धा हौँ कुनै समुहमा सामेल हुन चाहन्नौ तर स्वतन्त्र भएर मात्रै हुन्न रे | कि त लोकतान्त्रिक स्वतन्त्र, कि गणतान्त्रिक स्वतन्त्र, कि त क्रान्तिकारी स्वतन्त्र हुन पर्यो रे | के हामि देशको सहिद होइन र ? के हामि कुनै पार्टीको वा कुनै जात बिशेषको वा कुनै क्षेत्रको वा कुनै समुहको नै हुन पर्ने ? यी नया सहिदहरुले गर्दा हाम्रो पहिचान नै हराइसक्यो | अब त सहिद शब्दको महत्व पनि घटीसक्यो | सहिद शब्द निकै सस्तो भयो धर्मराज |”

त्यति नभन्दै नया सहिदहरुको भीडबाट एउटा घ्याम्पे भुडीवाल कुर्लियो “हामि दस लाख भ्यालु भाकालाई को हो सस्तो भन्ने ? जसको फुट्या कौडी मोल छैन उसकै उल्टो फुर्ती ?”

“ओई बुढाहरु तिमीहरु बढ्ता हल्ला नगर्, अलि अलि बाँकी भाको सालिकहरु पनि केटाहरुलाई भनेर अहिले को अहिले तोडदिउँ ? तीन दिन नेपाल बन्द, चार दिन बाटो ठप्प अनि पांच दिन संसद अवरुद्ध पारेको यिनीहरुलाई थाहा छैन जस्तो छ |” डन सहिद ले थर्कायो | सुकुम्बासी सहिदले पनि थप्यो “१० लाख नपाएर रिसले मुर्मुरिएका होलान नि यिनीहरु |”

“चुप लाग्नुस” धर्मराजको गर्जनपछि सभा एकाएक शान्त भयो | धर्मराज नया सहिदहरुको चर्तिकला देखेर सार्है  चिन्तीत भएर भने | “धर्तिलोकबाट सहिद सम्मान पाएर आइसकेपछि हामीले पनि उच्च सम्मान दिन करै लाग्छ तर यो बेथितिको अन्त्य त गर्ने पर्छ | सारा लोकले मानेको अनि आफ्नो देश र जनताको लागि सहादत प्राप्त गरेकालाई मात्र सहिद घोषणा गर्न म नेपालको प्रधानमन्त्रीलाई भेटेर स्वयम सम्झाउने छु | तपाईहरुको पहिचान म हराउन दिन्न | तपाइहरु निश्चिन्त रहनुस | स्वर्गलोक बाट जाने कुरो नगर्नुस् |” धर्मराजले चार सहिदहरुलाई आश्वाशन दिए | यति भनेपछि धर्मराज त्यहाबाट अन्तरध्यान भएर सिधै नेपालको प्रधानमन्त्रीको कार्यकक्षमा पुगे |

प्रधानमन्त्रीले धर्मराजलाई के कति कामले पाल्नुभयो भनेर जिज्ञासा राख्दा धर्मराजले नया सहिदको बेथिति र चारै सहिदको समस्या प्रधानमन्त्री समक्ष राखे | वास्तविक सहिदहरुको पहिचान हराएको गुनासो गरे | प्रधानमन्त्रीले ति चार सहिदको बारेमा धेरै सम्झिने प्रयास गरे तर उनले स्मरण गर्न नसकेपछि एकजना कर्मचारीलाई बोलाएर ती सहिदहरुको बारेमा बुझ्न अर्हाए | ती कर्मचारीले पनि थुप्रै ढडडा पल्टाएर हेरे | निकै बेर खोजिसके पनि कर्मचारीले पत्ता लाउन नसकेपछी भने “ प्रधान्मंत्रिज्यु  ती त सहिद नै होइनन, खोइ यहाँ त नाम नै छैन |” प्रधानमन्त्रीले धर्मराजलाई भने “ धर्मराज ती त नक्कली सहिद जस्ता छन् | सहिदको भेषमा भिजिलान्तेहरु स्वर्गलोकमा छिरेर यत्रो वर्ष तपाईलाई झुक्याईरहेका रैछन | ती घुसपैठियाहरुलाई घोक्रेठ्याक लाएर स्वर्गलोकबाट तत्काल निकल्दिहाल्नुस |”  धर्मराज प्रधानमन्त्रीको कुरो सुनेर जिल्ल परे अनि केहि नबोली त्यहाँ बाट अन्तर्ध्यान भए |

रचित नेपाल 

(नेपलिपत्रमा पुर्वप्रकाशित )

Comment