Tuesday , December 12 2017
Home / Sports / हङकङलाई दियो नेपालले १ सय ५१ रनको लक्ष्य

हङकङलाई दियो नेपालले १ सय ५१ रनको लक्ष्य

एकदिवसीय विश्वकप क्रिकेटको छनौटको तेस्रो खेलमा नेपालले हङकङलाई १ सय ५१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभरमा तीन बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो ।

न्यूजिल्याण्डको रंगीओरा मैदानमा नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ४५ रन बनाए । यस्तै पारस खड्काले २९ र सोमपाल कामीले २६ रन बनाए ।

994430_336524436485737_1369719630_n

अतिरिक्त २१ रन पाएको नेपालका लागि अरु ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालका शक्ति गौचन र विनोद भण्डारीले समान ८ रन बनाए ।

यसअघि भएका दुवै खेलमा नेपाल युएई र स्कटल्याण्डसँग पराजित भएको थियो । हङकङले भने यसअघि खेलेका दुवै खेल जितेको छ । एसीसी ट्रफीको पछिल्लो ४ खेलमा नेपालले हङकङमाथि लगातार जित निकालेको छ ।

 

नेपाली खेलाडी बिरामी

अघिल्ला दुबै खेलमा चोटका कारण कप्तान पारस र ज्वरोका कारण सुभाष अनुपस्थित रहे।

दुबैको स्वास्थ्य स्थिति शनिबारसम्म सुधार आएको छैन। हङकङसँगको खेलका लागि क्विन्सटाउनबाट क्रिस्टचर्च फर्किएको नेपाली टिमले शनिबार हल्का अभ्यास गर्‍यो । कप्तान पारसले पनि १० मिनेटजति ब्याटिङ गरे। उनको ढाडको चोटमा सुधार त आएको छ, तर खेलका लागि पर्याप्त छैन। हङकङ विरुद्ध उनी मैदानमा उत्रिएपनि ब्याटिङ मात्र गर्ने र बलिङ नगर्ने सम्भावना छ। ‘सुधार भएको अनुभव त भएको छ, तर भोलि बिहानसम्म थाहा हुन्छ’, पारसले बताए।

प्रशिक्षक पुबुदु दासानायकेले पनि पारसको लागि आफू अझै चिन्तित रहेको प्रतिक्रिया दिए। ‘ म खतरा मोलेर उनको करिअर खत्तम गर्न चाहन्न,’ पुबुदुको प्रतिक्रिया थियो। टिमका फिजियो विरास्वामी सुब्रमन्हिमले पारसले खेले पनि बलिङ गर्न नसक्ने बताएका छन्।

ज्वरोले कमजोर भएका सुवासले पनि शनिबार केहीबेर नेटमा ब्याटिङ गरे। सुवासले आफूलाई तिघ्रा र पाखुरामा कमजोर महसुस भएको बताएका छन्। उनले खेले पनि विकेट किपिङ गर्ने छैनन्। महेश क्षेत्री वा विनोद भण्डारीले किपिङ सम्हाल्नेछन्। लगातार हार भोगेपनि नेपाली टिमलाई हौसला दिन समर्थक ओइरिने क्रम रोकिएको छैन।

आइतबारको खेलका लागि नेपाली समर्थक क्रिस्टचर्च पुग्ने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ। गत बिहिबार नेपाल स्कटल्यान्डसँग भिड्दा पनि करिब २० नेपाली मात्र बसोबास गर्ने क्विन्स्टाउनमा एकसय ५० दर्शक पुगेका थिए।

Comment