Sunday , November 19 2017
Home / Article / स्व. मदन भण्डारीको नीति र नवौँ महाधिवेशन

स्व. मदन भण्डारीको नीति र नवौँ महाधिवेशन

ramesh pandey-रमेश पाण्डे
२२ वर्ष अगाडिको दुःखद् घटना । वि.सं २०५० साल जेठ ३ गते नेपालको इतिहासमा एक चर्चित नेता तथा नेपालको बामपन्थी आन्दोलनका नवीन विचारक जननेता मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रतिको रहस्यमय तरिकाले दुर्घटना भएको दिन । दुवै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पाठक समक्ष सम्झनाका केही हरफहरु कोर्ने अनुमति माग्न चाहान्छु ।

मदन भण्डारीको संक्षिप्त जीवनी
मदन भण्डारीको जन्म वि.सं २००९ आसर १ मा ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाविसको ठेट्ने गाउँमा भएको थियो । पिता देवी प्रसाद भण्डारी र माता चन्द्रकला भण्डारीका ६ छोरा र पाँच छोरी मध्येमा मदन भण्डारी माहिला छोरा थिए । उनको न्वारनको नाम मोतीराज भण्डारी थियो । ठूलो परिवारलाई पहाडको उब्जनीले पाल्न गाह्रो परेपछि भण्डारी परिवार २०२६ मा मोरङ्गको दुलारी भन्ने ठाउँमा बसाई सरेका थिए ।
मदन भण्डारी सानैदेखि बहुमुखी प्रतिभाका धनी थिए । बनारसको वाराणासी विश्वविद्यालयबाट प्रथम तहमा शास्त्री तहको परीक्षा उत्तीर्ण गर्नुका साथै साधुवेला विद्याश्रममा रही आचार्य स्तरको अध्ययन समेत गरेका थिए । अंग्रेजी भाषाको समेत जानकार भण्डारी गम्भीर अध्येता थिए । जननेता स्व. मदन भण्डारीले ४० वर्ष १० महिना २० दिनको अल्पायुमा नै अत्यन्त अस्वभाविक, असामयिक एवं अप्रत्यासित रुपमा यस धर्तीबाट बिदा भए ।
स्व. मदन भण्डारी किताबी अध्ययनमा मात्र सीमित थिएनन् । खेलकुद, संगीत, साहित्य, राजनीति लगायतका विषयसँग उनको घनिष्ठ सम्बन्ध थियो । खेलमा भलिबलका निकै राम्रो खेलाडी थिए उनी । साथै विभिन्न साहित्यिक गोष्ठीमा भएका कविता वाचनमा पहिलो पुरस्कार हात पारेका थिए ।
दुई छोरी उषा किरण र निशा कुसुमका पिता स्व. भण्डारीको विवाह २०३९ सालमा विद्या भण्डारीसँग भएको थियो । वनारसमा पढ्दादेखि नै वामपन्थी आन्दोलनमा उनी लागिसकेका थिए । २०२९ सालमा नै नेकपाको सदस्यता लिएका भण्डारी मुक्ति मोर्चा नेकपा (माले) हुँदै ३८ वर्षको उमेरमा नै नेकपा एमालेको महासचिव र जनताको बहुदलीय जनवाद (जवज) सिद्धान्तका सिद्धान्तकार तथा विचारकको रुपमा स्थापित भएका थिए ।

सिद्धान्तमा दृढ र विचारमा स्पष्टता
संसारभर साम्यवादी आन्दोलनले धक्का र प्रतिरक्षाको सामना गरिरहनुपरेको बेला एक दलीय अधिनायकवाददेखि तानाशाहीको आरोप लागिरहेको ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्ने उग्र वामपन्थी विचारले आन्दोलनलाई ग्रस्त बनाइरहेको, क्रान्ति, राज्यसत्ता अधिनायकत्व जस्ता सवालमा जडसूत्रवादी र पुरातन मान्यता नै कायम भइरहेको बेला माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं भन्ने नाराका साथ जडसूत्रवाद र विर्सजनवादबाट नेपालको साम्यवादी आन्दोलनलाई जोगाउँदै जनताको बहुदलीय जनवादलाई अघि सार्ने कामको अगुवाई स्व. भण्डारीले गरे । यस क्रममा उनले आˆनै पार्टीभित्र रहेका कट्टरपन्थीसँग निकै संघर्ष गनुपर्‍यो । जनताको बहुदलीय जनवाद (जवज) पुराना र असफल मान्यताहरु माथिको जबरजस्त हस्तक्षेप थियो । ‘सिद्धान्तका लागि बलिदान’ भन्ने कम्युनिस्ट ‘बाइबल’लाई बदलेर ‘जीवनका लागि सिद्धान्त’ भन्ने वस्तुवादी धारणालाई स्थापित गरेर स्व. भण्डारीले आˆनो वैचारिक धारमा ठूलो जमातलाई लिएर हिँड्न सफल भए ।
शान्तिपूर्ण जनसंघर्षद्वारा पछि राजनैतिक, आर्थिक, सामाजिक रुपान्तरण सम्भव छ भन्ने कुरा स्व. मदन भण्डारीले अघि नसारेको भए माओवादीको उग्रवामपन्थ र हतियारलाई निर्णयक ठान्ने प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष भुत्ते हुन्थ्यो । जनताको बहुदलीय जनवाद त्यस्तो राजनीतिक राजमार्ग बन्यो, जहाँ जंगलको बाटो लुक्दैछिप्दै जनयुद्धका हत्या हिंसा मच्चाइरहेका माओवादी आज लुरुलुरु हिँड्न बाध्य बनेको छ । जवज आज, यस्तो सिद्धान्त बनेकेा छ, जसलाई चाहेर वा नचाहेर पनि यो स्वीकार्न नेपालका सबै कम्युनिस्टहरु बाध्य छन् ।

जननेता भण्डारीको राजनीतिक दूरदर्शिर्ता
वि.सं २०४७ साल कार्तिक २३ मा ‘नेपालको संविधान २०४७’ जारी भयो । संविधान नारायाणहिटी राजदबारमा तत्कालीन राजा वीरेन्द्रद्वारा जारी गरिएको थियो । एमालेमा उग्रवामपन्थी धङ्गधङ्गी प्रशस्तै मात्रामा थियो । त्यतिबेला पार्टीभित्रै र वाम बुद्धिजीवीले समेत मदन भण्डारीलाई तथानाम गाली गर्ने, दक्षिणपन्थी सुधारवादी तथा राजावादी भएको समेत आरोप लगाएका थिए । त्यही मौकामा केही उदण्ड व्यक्ति, समूहहरुले एमालेको कार्यालयमा ढुङ्गामुढा पनि गरेका थिए । एमालेको बागबजारस्थित कार्यालयमा ठूलो भिड थियो । मदन भण्डारीले कार्यालयको बार्दलीबाट नै संविधानका बारेमा आˆनो पार्टीको धारणा कार्तिक २५ खुल्लामञ्चको आमसभामा राख्ने भएकाले त्यहीँ सुन्न आउनू भनेर सबैलाई बिदा दिए । उनले कार्तिक २५ गते खुल्ला मञ्चमा २६ असहमतका बुँदासहित संविधाननको सबल र दुर्लभ पक्षका बारेमा बोल्न थाले । आन्दोलन र बलिदानको उपलब्धिको रुपमा त्यसको रक्षा गर्ने र थप उपलब्धिका लागि आन्दोलन जारी राख्ने र संविधानलाई आलोचनात्मक समर्थन गर्ने पार्टीको नीतिको घोषणा गरे । २३ गते ढुङ्गा हान्न आउनेहरु समर्थनमा सिठी फुक्न अनि टोपी र ज्याकेट फाल्न थाले । यसरी उनले एउटै भाषणबाट लाखौंको मनमा उठेको सवालको चित्तबुझ्दो जवाफ दिए । त्यसदिन उनले आफूलाई जननेताको शिखरमा आफूलाई उकाले । जननेता भिडबाट लतारिदैन बरु भिडलाई आˆनो कुरामा सहमत गराई भिडलाई पछि लगाउन सक्छ भन्ने दृष्टान्त उनले त्यहाँ प्रस्तुत गरे । आज हरेक पार्टीका नेताले त्यहाँबाट सिक्ने हो भने जातीयता, साम्प्रदायिकता, क्षेत्रीयताको नाममा देश बलेर खरानी भइरहेको रमिता हेरेर बस्नुपर्ने अवस्था आउने थिएन । जातीयता र क्षेत्रीयताको मुद्दालाई आधार बनाई जनताबाट निर्वाचित संविधानसभा भङ्ग भई फेरि अर्को संविधानसभा निर्माण गर्नुपर्ने अवस्था आउने थिएन । यहाँ एमाले पार्टीका नेता र कार्यकर्ताले बुझ्नुपर्ने कुरा के हो भने, थप उपलब्धिको लागि आन्दोलन जारी राख्ने भनेर जुन २७ बुँदे असहमति राखेका थिए । मदन भण्डारीको हत्यापछि एमाले नेतृत्वले न त्यो आन्दोलन नै जारी राख्यो, न त संविधान सच्याउन नै सक्यो । धर्म निरपेक्षता, समावेशीकरण, विकेन्द्रीकरण, क्रान्तिकारी भूमिसुधार लगायतका विषयमा लोकतन्त्रको आजीवन ठेक्का पाको ठान्ने संस्थाहरुमा मदन भण्डारीको विचारलाई विचार नठान्ने पूर्वाग्रही प्रवृत्ति अहिलेको भद्रगोलको कारक हो । अब सबैले विगतलाई बिर्सेर सबैखाले शक्तिहरु एक जुट भएर अहिलेको स्थितिबाट देश र जनतालाई माथि उठाई आर्थिक विकास सहितको समुन्नत नेपालको निर्माण गर्न प्रेरणा मिलोस् भन्दै जननेता स्व. मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन ।

निःस्वार्थी जननेता भण्डारी
असल, सक्षम, निःस्वार्थी र प्रभावशाली नेता यस्तो केन्द्र हो, जसले निरन्तर राष्ट्रलाई शक्ति, प्रभाव र गति दिइरहन्छ । नेता असल, इमान्दार र दूरदर्शी भए उसको काँधले सिङ्गै राष्ट्रलाई बोकेर अघि बढ्न सक्दछ । तर नेता इमान्दार, दूरदर्शी नभए ऊ स्वयं नै समाजका लागि बोझ बन्न पुग्छ । एउटा कुरा अहिले पनि म सम्झन्छु । टनकपुर सम्झौता विरोधी आन्दोलनमा अनेरास्ववियुका कार्यकर्ताले बागबजारमा रहेकेा नेपाली कांग्रेसको कार्यालयमा ढुङ्गामुढा गर्दा झ्यालका सिसाहरु फुटेका थिए । पछि कांग्रेसले एमालेको कार्यालयमा गएर औपचिरिक रुपमा उजुरी गर्‍यो । त्यतिबेला मदन भण्डारीले उनीहरुकै अगाडि अखिलका कार्यकर्तालाई गालीको भाषामा सम्झाएका थिए । उनको गालीले लज्जित हुनेको भिडमा म आफैं पनि थिए । आज सम्झेर ल्याउँदा त्यतिबेला झ्यालका सिसा फोर्ने अखिल कार्यकर्ता गलत र उनी सही थिए भन्ने मलाई लाग्छ । कार्यकर्तालाई गलत कुरा गरेर उत्तेजित पार्ने अनि मासमा गएर अनेकथोक बोल्ने आजको प्रचण्ड प्रवृत्तिले जननेता हुनका लागि सिक्नुपर्ने यो अर्को महत्वपूर्ण पक्ष हो ।
मदन भण्डारीलाई निःस्वार्थ त्यागी नेताको रुपमा पनि लिने गरिन्छ । विशेषतः २०४८ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता चुन्ने बेलामा स्व. भण्डारीले निःस्वार्थ र दूरदर्शिताको उदाहरण प्रस्तुत गरेका थिए । तत्कालीन अवस्थामा काठमाडौंको २ ठाउँबाट निर्वाचन जितेको त्यसमा पनि लोकपि्रय अन्तरिम प्रधानमन्त्री तथा कांग्रेसका पुराना नेता कृष्णप्रसाद भट्टराईलाई समेत हराएका मदन भण्डारीको बारेमा अमेरिकाबाट निस्कने पत्रिकाको आवरण पृष्ठमा ‘कार्ल माक्र्स लिभ इन नेपाल’ भनेर छापेको थियो । यस्ता नेता संसदीय दलको नेता बनिदिए हुन्थ्यो भन्ने सबै एमाले नेता तथा कार्यकताको मनमा थियो । र, उनका विरुद्ध कसैले उम्मेदवारी दिन आँट गर्न सक्ने अवस्था नै थिएन । तर उनी आफैँले आदर र सम्मानपूर्वक मनमोहन अधिकारीलाई संसदीय दलको नेताको रुपमा प्रस्तुत गरे । जहाँ जतिबेला आˆनो पद आउँछ, त्यसलाई ग्रहण गर्दै हिँड्नेहरुका लागि यो घटना पि्रय नलाग्न सक्छ । तैपनि राजनीतिलाई त्याग र समर्पणका रुपमा बुझ्नेहरुका लागि भने त्यो ऐतिहासिक क्षण थियो । जसको अगुवा मदन भण्डारी थिए ।
त्यसैगरी, २०४९ सालमा एमालेको चर्चित पाँचौं महाधिवेशन भएको थियो । मदन भण्डारीद्वारा प्रस्तुत जनताको बहुदलीय जनवाद अत्याधिक मतबाट पारित भएको थियो । नेतृत्व चयनका लागि भण्डारीले आफैंले उम्मेद्वारी दिएनन् । त्यसको मूल कारण जवजका विपक्षमा उभिएका सिपी मैनाली, झलनाथ खनाल लगायतका नेताहरुले उम्मेदवारी नदिनु । विभाजनको डिलमा पुगेको पार्टीलाई भण्डारीकै आग्रहमा सयभन्दा बढी उम्मेदवारी फिर्ता गर्न लगाएर एक सर्वसम्मत समिति निर्माण गरिएको थियो । त्यतिबेला भण्डारीले एक कुशल नेताको भूमिका निर्वाह गरेर पार्टीलाई फुट्नबाट जोगाएका थिए ।

नेकपा (एमाले) टुट, फुट र एकता हुँदै यतिबेला नवौँ महाधिवेशनका लागि विचार निर्माण र नेतृत्व परिवर्तनको प्रक्रियामा छ । महाधिवेशनको संघारमा एउटा नेकपा (एमाले) जस्तो गतिशील पार्टीमा विचार, सिद्धान्त र कार्यनीति तथा कार्यक्रममाथि घनिभूत छलफल हुनु, विश्लेषण हुनु धेरै सकारात्मक पक्ष हो, जुन नेकपा एमालेमा मात्र हुन्छ । बहस चलिरहँदा केही मुद्दाहरु छन्, जसका बारेमा भ्रमहरु पनि देखिएका छन् । जनताको बहुदलीय जनवादलाई कमा र फुलस्टप पनि बदल्नु हुँदैन भन्ने कमजोर बुद्धि र मानसिकता भएका मानिसहरु एमालेमा छन् जस्तो लाग्दैन । एमालेले जनताको बहुदलीय जनवादलाई उउटा वैज्ञानिक विचार मान्छ र गतिमा नै यसको जीवन हुन्छ भन्ने विश्वास राख्दछ भन्ने आम कार्यकर्तामा छ । त्यो भनेको परिवर्तित सन्दर्भमा जवज अद्यावधिक हुँदै जानुपर्छ, समृद्ध बन्दै जानुपर्छ भन्ने हो । समृद्ध विचारले मात्रै परिवर्तित सन्दर्भमा जटिलतम बन्दै गएको हाम्रो जीवनलाई बाटो देखाउन सक्छ । तर केहीकोही जबजलाई पुनरावलोकन गर्नुपर्छ भनिरहेका छन् । यो चाहिँ गलत सोच र विचार हो । जबज पुनरावलोकन होइन, जबजको आधारमा एमालेले गरेको अभ्यासलाई फर्केर हेर्नु आवश्यक देखिन्छ । एमालेले विगतमा जबजलाई सही तरिकाले प्रयोग गर्‍ये कि गरेन भन्ने बारेमा नवौँ महाधिवेशनमा प्रतिनिधिबीच छलफल हुनुपर्नेदेखिन्छ । जबजको अभ्यास गर्दा समीक्षा सही ढङ्गले गर्दा जननेता मदनप्रति सही अर्थको श्रद्धा हुनेछ । एमालेले जबज सिद्धान्तको आधारमा पार्टी निर्माण सही ढङ्गले गर्‍यो कि गरेन ? सरकार ठीक ढङ्गले चलायो कि चलाएन ? एमालेले प्रगतिशील परिवर्तनका मुद्दाहरुलाई ठीक ढङ्गले अघि बढायो कि बढाएन ? वा अघि बढाउने प्रयत्न गर्‍यो कि गरेन ? पार्टीभित्र योग्यता र क्षमताको आधारमा श्रेष्ठता कायम गर्ने कुरालाई ठीकसित स्थापित गर्‍यो कि गरेन ? आगामी महाधिवेशनमा यी विषयमा सही समीक्षा निक्र्योल हुन जरुरी छ । अनि मात्र जननेता भण्डारीप्रति सही न्याय हुनेछ । अहिले एमालेका कार्यकर्ताहरुको टाउको दुखेको छ तर पेट दुखेको औषधि खाइरहेको अनुभूति भइरहेको छ । अर्थात्, विचार निर्माणमा श्रेष्ठता हासिल गर्नु कता हो कता को आगामी पार्टी अध्यक्ष हुने, कुन गुटको नेता को, आदि इत्यादिमा समय खेर फालेको देखिन्छ । हुनु पर्ने के थियो भने पार्टी अध्यक्ष को बन्ने भन्ने कुरा ठूलो नभई एमालेलाई राष्ट्र र जनताको पार्टी कसरी बनाउने भन्ने कुरामा नवौँ महाधिवेशन केन्दि्रत हुनुपर्ने थियो र हुनु जरुरी देखिन्छ ।
जननेता मदनले भनेजस्तै जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यक्रमको आलोकमा प्रतिस्पर्धा, पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्दै जनवादी व्यवस्थाको सुदृढीकरणको बाटो हुँदै शान्तिपूर्ण बाटोबाट नेपाल राष्ट्रलाई समाजवादतर्फ रुपान्तरण हुने राजनीतिक कार्यदिशालाई आगामी नवौँ महाधिवेशनले अख्तियार फेरि पनि गरोस् भन्दै जननेता स्व. भण्डारीप्रति हार्दिक श्रद्धासुमन ।
(लेखक अस्ट्रेलियामा सक्रिय मानव अधिकारकर्मी तथा वर्तमान एनआरएनए आसीसीका सदस्य हुन् ।)

-

One comment

  1. मधु पन्थी

    रमेशजी लेख राम्रो लाग्यो यस मानेमाकी तपाईले सरल भाषामा मदनलाई िकन सम्झने भनेर सबैले वुझ्ने शैलीमा बताई िदनु भएको छ । अति ऊत्तम । साथै मेरो सुझाव तपाई जस्तो िजम्मेवार पार्टी नेताले आफ्नो गुटगत धारणा यस लेखमा ऊल्लेख नगरेको भए अति उत्तम र वुध्दिमानी हुने िथयो कि ? मेरो सुझाव मात्र हो अन्यथा नलिनु ।

    तर केहीकोही जबजलाई पुनरावलोकन गर्नुपर्छ भनिरहेका छन् । यो चाहिँ गलत सोच र विचार हो । जबज पुनरावलोकन होइन, जबजको आधारमा एमालेले गरेको अभ्यासलाई फर्केर हेर्नु आवश्यक देखिन्छ ।

    मेरो िबचारमा माथीका वाक्यहरूले नकरात्मक सन्देश प्रवाह गर्छ । एउटा पार्टीको िजम्मेवार नेताले यस्तो व्यक्तिगत धारणा लेखमा नराखेको भए यो लेख पार्टीको साझा सम्पती वन्न सक्थ्यो । तपाईको व्यक्तिगत धारणाको म सम्मान गर्छु तर त्यस्तो धारणा यस्तो लेखमा प्रकट नभएको भए हुन्थ्यो भन्ने मेरो अपेक्षा मात्र हो ।

Comment