Thursday , December 14 2017
Home / Featured News / स्पेनी नरेश हुवाँ कार्लोसद्वारा राजगद्दी त्याग

स्पेनी नरेश हुवाँ कार्लोसद्वारा राजगद्दी त्याग

स्पेन, (एजेन्सी) झन्डै चालीस वर्षसम्म स्पेनको राजगद्दी सम्हालेका नरेश हुवाँ कार्लोसले सोमबार गद्दी त्याग्ने घोषणा गरेका छन्। टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै ७६ वर्षीय कार्लोसले नयाँ जोश र जाँगर भएको नयाँ पिँढीलाई अग्रमोर्चामा ल्याइनुपर्ने बताएका छन्। उनका ४५ वर्षीय पुत्र युवराज फेलिपे स्पेनको नयाँ नरेश बन्ने भएका छन्। आफ्नो शासनकालको अधिकांश समय विश्वका अत्यन्तै चर्चित राजा मध्ये एक बन्न सफल हुवाँ कार्लोस प्रति पछिल्ला समयमा अधिकांस स्पेनीको आस्था घटेको पाइएको छ।
उनका छोरी र ज्वाइँको व्यापारमा लामो समयदेखि चलेको भ्रष्टाचारसम्बन्धी अनुसन्धानको कारण पनि उनी अलोकप्रिय हुन पुगेका हुन्। केही वर्षयता उनमा स्वास्थसम्बन्धी समस्याहरू पनि देखिएका छन्। स्पेन आर्थिक संकटबाट गुज्रिरहेका बेला सन् २०१२ को अप्रिलमा उनी शानदार हात्ती शिकारमा गएपछि उनी थप अलोकप्रिय हुन थालेका थिए।
उनको गद्दी त्यागसम्बन्धी सूचना सबैभन्दा पहिले स्पेनका प्रधानमन्त्री मारियानो राजोयले सार्वजनिक गरेका थिए। पत्रकार सम्मेलनमा राजोयले भने– ‘नरेश हुवाँ कार्लोसले मलाई अचनक आफूले गद्दी त्याग्न चाहेको जनकारी दिँदै त्यसका लागि आवश्यक कारबाही थाल्न अनुरोध गरेका थिए। पछि नरेशले टेलिभिजनमार्फत नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरिनुपर्ने तथा सुधार कार्यहरूको जरुरत रहेको बताएका थिए। साथै उनले आफ्नो पुत्र फिलिपे परिपक्व भइसकेको र उनी राजा बन्ने तयारीमा रहेको बताएका थिए। अधिकांश स्पेनी जनताले यस घटनालाई आश्चर्यको रूपमा लिए पनि यसप्रति दुःख व्यक्त भने गरेका छैनन्।
यसै वर्षको शुरूमा कार्लोसकी कान्छी पुत्रीलाई एउटा ठूलै भ्रष्टाचार अनुसन्धानको सिलसिलामा अदालतमा उपस्थित गराइएपछि स्पेनी सञ्चार माध्यमले उनको अनिश्चित भविष्यप्रति संकेत गरेका थिए। तर शाही अधिकारीहरूले मत सर्भेक्षणमा उनको लोकप्रियतामा विस्तारै सुधार आइरहेको तथा पटक पटकको नितम्बको शल्यक्रियापछि उनको हिँडाइ पनि राम्रो हुँदै गइरहेको बताएका छन्।
ती अधिकारीहरूले यो कार्लोसको निजी निर्णय भएको पनि बताएका छन्। स्पेनमा राजगद्दी त्याग र शाही उत्तराधिकारी छनोटसम्बन्धी स्पष्ट कानुनी व्याख्या नरहेकाले युवराज फिलिपेलाई राजा बनाउने विषयमा मन्त्रिपरिषद्को विशेष बैठक बस्ने कार्यक्रम रहेको छ। ४४ वर्षअघि जनरल फ्रान्कोको निधनपछि कार्लोस स्पेनको पहिलो मुकुटधारी राष्ट्राध्यक्ष बनेका थिए।

 

Comment