Saturday , December 16 2017
Home / Featured News / पहिरोले थुनिएको सुनकोशीको पानी बग्न थाल्यो

पहिरोले थुनिएको सुनकोशीको पानी बग्न थाल्यो

सिन्धुपाल्चोकको माङ्खा गाउँंमा पहिरोले पहाड नै खसेर शुक्रबार रातिदेखि थुनिएको सुनकोशी नदीमा पानी विस्तारै बग्न थालेको छ । सेनाको विशेष टोली हेलिकोप्टरबाट बम प्रहार गरी विष्फोट गराएपछि पानी बग्न थालेको हो । सेनाले दुईपटक विष्फोट गराइसकेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार नदीको निकास विस्तारै सहज हुने विश्वास गरिएको छ ।

अहिलेसम्म ८ जनाको शव फेला परेको छ। जसमा एक बालक,तीन पुरुष र चार महिला छन्।तीन दर्जनभन्दा बढी घाइते भएको छन्। केही घाइेतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। सत्तरी घर बगाएको अनुमान छ। जुरेस्थित एउटा वस्ती नै पुरिएको र सय जति मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको छ।

रातिदेखि थुनिएको पानीको तह बढेर सुनकोशी नदी तालजस्तै भएको छ।आसपासको बस्ती, सडक तथा अन्य संरचना डुबानमा परेका छन्।मानव सन्त्रास बढिरहेको छ। मानिसहरु ज्यान जोगाउन घरको खाद्यन्न र धनमाल बोकेर पहाडतर्फ उक्लिरहेका छन्।घर छोड्न वाध्य हजारौं स्थानीय बासिन्दाको विचल्ली भएको छ। एघार जिल्लाका पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ।

सरकारले यसले भयानक विनाश निम्त्याउन सक्ने अनुमान गर्दै सुनकोशी क्षेत्रमा संकटकालको घोषणा गरेको छ। नदी आसपासका क्षेत्रमा बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ। सुनकोशी संकट गम्भीर हुँदै गएपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संकटकाल घोषणा गर्दै सहयोगका लागि भारत र नेपाललाई अपिल गरेको छ। दुवै मुलुकबाट आवश्यक सहयोग प्राप्त हुने सन्देश प्राप्त भइसकेको उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले दिएका छन्।

सुनकोशी संकटबारे बालुवाटारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम लगायतका मन्त्रीहरुले थुनिएको सुनकोशीको निकासका उपाय र त्यो फुट्दा हुने क्षतिको न्यूनीकरणका उपायबारेमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेका छन्। बैठकमा सुरक्षा निकायका अधिकारीले नदीको तह धेरै माथि आइसकेकोले नदी खोल्ने काम निकै कठिन रहेको ब्रिफिङ गरेको स्रोतले बतायो।

बालुवाटारको बैठकपछि गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले नदी खुलाउन र आसपासका बासिन्दाको सुरक्षाका लागि सरकारले हरसंभव उपाय अपनाइरहेको बताए। उनले नदी खोल्ने काम कठिन हुँदै गएको जानकारी दिए। सरकारले सुनकोशी आसपासको क्षेत्रमा संकटकाल घोषणा गरेको छ। सरकारले कोशीको बाँध खुलाउन पनि भारतीय पक्षलाई आग्रह गरेको छ।

दुई किलोमिटरसम्मको क्षेत्रमा पानी जमेको छ। सानिमा हाइड्रोको बाँधसम्म क्षेत्र डुबिसकेको छ। अब थुनिएको नदी बाह्रबिसेतर्फ बगिरहेको छ। बाह्रबिसे डुब्ने खतरा रहेको स्थानीयबासीले बताएका छन् । थुनिएको सुनकोशी फुट्दा आउने बाढीले सप्तकोशी क्षेत्रमा ठूलो विनाश ल्याउने खतरा छ। सप्तकोशी क्षेत्रबाट बस्ती हटाउनका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ। कोशी ब्यारेज आसपासको क्षेत्रमा पनि ठूलो सन्त्रास फैलिएको छ। केन्द्रीय दैवीप्रकोप व्यवस्थापन तथा उद्धार समितिको शनिबार बिहान बसेको बैठकले आसपासको क्षेत्रलाई संकट घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ सुरक्षित ठाउँमा जानका लागि मानिसलाई माइकिङ गरेर सचेत गराइएको छ। बाँध फुटेमा आधा दर्जन जति गाउँ बगाउने खतरा छ।प्रधानमन्त्री सुशील कोइरालाले सुरक्षा अंग तथा सबै सरोकारवाला निकायबीच समन्वय गरेर सावधानीपूर्वक सुरक्षित रुपमा निकास खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन्।

Comment