Monday , December 18 2017
Home / PaperPublished / सयभन्दा कम मतले जित्ने सात सभासद- कान्तिपुर दैनिक

सयभन्दा कम मतले जित्ने सात सभासद- कान्तिपुर दैनिक

nepal-elections2013दिपेन्द्र विष्ट
काठमाडौं, मंसिर १० – संविधानसभा निर्वाचनमा सात जना उम्मेदवार एक सयभन्दा कम मत अन्तरमा विजयी भएका छन् । सय मतको अन्तरले चुनाव जित्नेमा कांग्रेस, एमाले र एमाओवादीलगायत उम्मेदवार छन् । मोरङ ४ मा एमाओवादीका शिवकुमार मण्डलले कांग्रेसका गयानन्द मण्डल गन्गाईलाई सबभन्दा कम ८ मत अन्तरले पराजित गरेका छन् । ९ हजार ३ सय ५२ मत ल्याएका कांग्रेसका गयानन्दलाई एमाओवादीका शिवकुमारले ९ हजार ३ सय ६० मत प्राप्त गरी जितेका हुन् ।
मुस्ताङका कांग्रेस उम्मेदवार रोमी गौचन थकालीेले र कांग्रेसकै बागी उम्मेदवार ओमप्रसाद तुलाचनलाई २२ मत अन्तरले पराजित गरे । गौचनले १४ हजार २४ मत ल्याए भने तुलाचनले १४ हजार २ मत प्राप्त गरे । उदयपुर २ की एमाले उम्मेदवार मन्जु चौधरीले कांगे्रसकी प्रमिला राईलाई २३ मतको अन्तरले हराइन् । एमालेकी चौधरीले ७ हजार ५ सय ३४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी राईले ७ हजार ५ सय ११ मत ।
पर्वत २ मा एमाले उम्मेदवार विकास लम्सालले कांग्रेसका नवराज गुरुङलाई २८ मत अन्तरले पराजित गरे । लम्सालले ११ हजार १ सय ४१ र गुरुङले ११ हजार १ सय १३ मत ल्याए । पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डेले कांग्रेसका वीरबहादुर रानालाई ९५ मत अन्तरले पराजित गरे । पाण्डेले १३ हजार १ सय ९३ र रानाले १३ हजार ९८ मत प्राप्त गरे ।
सिन्धुपाल्चोक १ मा कांग्रेसका मोहन बस्नेतले ३२ को मत अन्तरले एमालेका अरुण नेपाललाई पराजित गरे। बस्नेतले १५ हजार २१ मत ल्याई १४ हजार ४ सय ८९ भोट पाएका नेपाललाई जितेका हुन् ।
रूपन्देही ३ मा कांग्रेस नेता बालकृष्ण खाँडले एमाले नेता घनश्याम भुसाललाई ८६ मत अन्तरले पराजित गरे । खाँडले १८ हजार ४ सय ८१ मत पाए भने भुसालले १८ हजार ३ सय ९५ मत ल्याए ।

Comment