Tuesday , December 12 2017
Home / Featured News / समानुपातिकको नाम पठाउन समय पुनः थप

समानुपातिकको नाम पठाउन समय पुनः थप

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको नामावली पेस गर्ने समयावधि दोस्रोपटक पुनः एक साताका लागि थपेको छ। नामावली बुझाउन यसअघि दिएको समयसीमा मंगलबार सकिन लाग्दा उच्च स्तरीय राजनीतिक समितिको आग्रहमा सोमबार बसेको आयोग पदाधिकारी बैठकले पुस १० गतेसम्मका लागि समय थपेको हो।Election_Commission_Bulding
 ‘उच्च स्तरीय राजनीतिक समितिको आग्रह अनुसार समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेश गर्ने समयावधि दोस्रोपटक एकसाताका लागि थपिएको छ,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘१० गतेसम्म दलले आफूले पाएको सिटका आधारमा उम्मेद्धारको नामावली आयोगलाई बुझाउनेछन्।’
यसअघि सोमबार बिहान बसेको समितिको बैठकले नामावली बुझाउन आयोगलाई एकसाताको समय माग्ने निर्णय गरेको थियो। त्यसपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता रघुजी पन्त, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला, एनेकपा माओवादीका पोष्टबहादुर बोगटी र मधेसी जनाधिकार फोरमका विजयकुमार गच्छदारलगायतका नेताहरु म्याद थपको अनुरोधसहित निर्वाचन आयोग पुगेका थिए। आयोग पुगेर उनीहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेका थिए।
समितिको बैठकपछि नेताहरुद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा ‘दलहरुबीचमा सहमतिका लागि वार्ता र संवादको कार्य जारी रहेकाले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समयावधि एकहप्ता थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने’ भनिएको छ।
एमाओवादी सहितका केही दलले निर्वाचनमा धाँदली भएको भन्दै निष्पक्ष छानविन आयोग गठनको माग गर्दै आएका छन्। कांग्रेस एमालेले पनि आन्तरिक विवादका कारण अझै विजयी उम्मेद्धारको सुचि बुझाउन सकेका छैनन्।
नामावली बुझाउने म्याद एकसाता थपिएलगत्तै उम्मेद्धारको अन्तिम नामावली घोषणा हुने दिन अझै पछि धकेलिएको छ। स्रोतका अनुसार सवै दलहरुले नामावली बुझाएपछि पनि विजयी उम्मेद्धार घोषणा गर्न थप एक साता लाग्नेछ।
आयोग स्रोतका अनुसार एकसाताभित्र दलहरुले आफुले पाएको सिट संख्याका आधारमा उम्मेद्धारको नामावली बुझाएपछि आयोगले ति उम्मेद्धारको सूची प्रकाशन गर्नेछ। अनि दावी विरोध र सच्याउनका लागि तीन दिन समय तोकेको छ। त्यसपछि आयोगले विजयी उम्मेद्धारको अन्तिम नामावली घोषणा गर्नेछ। नामावली घोषणा भैसकेपछि उम्मेद्धारको नामावली राष्ट्रपतिलाई बुझाउने एक आयुक्तले बताए।
समानुपातिकतर्फ सिट पाएका ३० दल मध्ये ११ साना दलले भने समानुपातिकको सूची बुझाइसकेको आयोगले जनाएको छ। यसअघि आयोगले मंसिर १८ गते समानुपातिक निर्वाचनमा भाग लिएका १ सय २२ दलले प्राप्त गरेको मतको आधारमा ३० दललाई सिट विभाजन गरेको थियो।

puf

Comment