Saturday , December 16 2017
Home / Featured News / सगरमाथा आरोहीलाई आकर्षण गर्न रोयल्टिमा आधा छुट

सगरमाथा आरोहीलाई आकर्षण गर्न रोयल्टिमा आधा छुट

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको छ। लामो समयदेखि पर्वतारोहीहरूले सगरमाथा आरोहण रोयल्टी ‘महँगो’ भएको गुनासो गरिरहेका बेला सरकारले बुधबार रोयल्टी आधाभन्दा बढीले घटाउने निर्णय गरेको हो। सरकारको निर्णय नेपाली र विदेशी पर्वतारोहीका लागि छुट्टाछुट्टै मितिमा लागू हुनेछ। mt everest

‘बढीभन्दा बढी पर्वतारोहीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा आकर्षित गर्न रोयल्टी घटाउने निर्णय भएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बुधबार नागरिकसँग भने, ‘यसबाट संसारभरका पर्वतारोहीमा सकारात्मक सन्देश जाने विश्वास छ।’
पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी रोयल्टी घटाउने निर्णय गरिएको उनले बताए। यसअघि नेपाली र विदेशी आरोहीलाई सगरमाथा चढ्न एउटै रोयल्टी तिर्नुपर्थ्यो भने अब फरक भएको उनले जानकारी दिए।
‘नेपाली आरोहीले घटेको रोयल्टीमा फागुन १ (बिहीबार) बाट सगरमाथा आरोहण गर्न पाउँछन्,’ पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुखसमेत रहेका बुर्लाकोटीले भने, ‘विदेशी आरोहीका हकमा भने २०१७ पुस १७ बाटमात्र घटेको रोयल्टी लागू हुनेछ।’
उनका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। हाल यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) रहेको छ। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। हाल यो १५ हजार डलर (१५ लाख रुपैयाँ) रहेको छ।
नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न लगभग सतप्रतिशत छुट पाएका छन्। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि अब त्यसमा ९७ प्रतिशत (२४ लाख ३५ हजार रुपैयाँ) छुट भएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले अब ६० हजार रुपैयाँ तिरे पुग्छ भने यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।
पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित पर्वतारोहण रोयल्टी सुधार सुझाव समितिले सिफारिस गरेपछि सरकारले रोयल्टी घटाएको हो। सरकारले ६ हजार ५ सय मिटरभन्दा कम उचाइदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथासम्मका लागि नयाँ रोयल्टी सार्वजनिक गरेको हो।
अब नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलर तिर्नुपर्ने छ। हाल १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर रहेको छ। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्ने छ। हाल २० हजार र १० हजार डलर छ।
सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, छलाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ। नेपालका १ हजार ७ सय ९२ हिमालमध्ये हालसम्म ३ सय २६ हिमाल मात्र आरोहणका लागि खुला छ। खुला गरिएकामध्ये ३३ हिमाल नेपाल पर्वतारोहण संघ अन्तर्गत छन्।

Comment