Monday , August 20 2018
Home / Featured News / संबिधान जारि नभएसम्म कुनै पदमा नबस्ने बाबुराम भट्टराईद्वारा घोषणा

संबिधान जारि नभएसम्म कुनै पदमा नबस्ने बाबुराम भट्टराईद्वारा घोषणा

एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधान जारी नभएसम्म कुनै पद नलिने भएका छन्। भट्टराईले आफ्ना सहयोगी विश्वदिप पाण्डेमार्फत शुक्रबार संविधान जारी नभएसम्म पार्टीको संसदीय दल वा अन्य कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन्।

भट्टराईले संसदीय दलको नेता बन्न चाहेको भन्दै सञ्चारमाध्यममा आएका समाचारको प्रतिवाद गरेको दुई दिनपछि भट्टराईले संविधान जारी नभएसम्म कुनै पदमा नबस्ने बताएका हुन्।

पाण्डेका अनुसार भट्टराईले आफ्ना चारवटा प्राथमिकता तय गरेका छन्। एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण, पार्टीभित्र र बाहिर लोकतान्त्रिक विधि बसाल्न पहल, संविधान जारी नभएसम्म संसदीय दल वा अन्य कुनै पनि पदमा नरहने र अग्रगामी तथा लोकतान्त्रिक संविधान जारी गर्न सबै दलका लोकतान्त्रिक शक्तिबीच सहकार्य आफ्नो प्राथमिकतामा रहेको भट्टराईले उल्लेख गरेका छन्।

भट्टराईले तीन दिनअघि व्यक्तिगत रूपमा कुनै पद नमागेको स्पष्टोक्ति दिँदै आफू लोकतान्त्रिक विधि स्थापनाको पक्षमा रहेको जनाएका थिए।

अध्यक्ष पुष्पकमल दाहालसमक्ष आफूलाई संसदीय दलको नेता बनाउन वा दाहालले पनि पद छोडेर अभिभावक बन्न गरेको प्रस्ताव गरेपछि एमाओवादीभित्र बिबाद चुलिएको छ।

अध्यक्ष दाहालले भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठसँग छलफल समेत नगरि समानुपातिक सभासद्को सिफारिस गरेपछि दुबै नेता दाहालसँग क्रुद्ध छन्।

Comment