Thursday , December 14 2017
Home / Featured News / श्रीलंकासँगको अभ्यास खेलमा नेपाल बिजयी

श्रीलंकासँगको अभ्यास खेलमा नेपाल बिजयी

आइसीसी एकदिवसीय विश्वकप छनोट चरणको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा सफलता हात पारेको छ।

नेपालले श्रीलंकाको फस्ट क्लास क्रिकेट टिम कोल्ट्स क्रिकेट क्लबलाई चार विकेटले हरायो। कोल्ट्सको घरेलु मैदानमा बिहिबार भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको कोल्टस क्रिकेट क्लबले निर्धारित ५० मध्ये ४९.३ ओभरमा सबै विकेट गुमाएर दुईसय २८ रन जोडेको थियो।

जवाफमा नेपालले ४७ ओभरमा ६ विकेट गुमाएर दुईसय ३२ रन बनायो। नेपालको पालिमा उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याट्स्म्यान सुभाष खकुरेलले अर्धशतकीय पालि खेले।

ज्ञानेन्द्रले सर्वाधिक ५८ रन जोडे। सुभाषले ५६ रन बनाए। प्रदिप ऐरिले अविजित २७ रन, विनोद भण्डारीले २१ तथा शरद भेषावकरले १७ रन जोडे।

अनिल मण्डलले १३ तथा कप्तान पारस खड्काले १२ रनको योगदान दिए। सागर पुनले अविजित ६ रन बनाएका थिए। कोल्ट्सका नुवान कुरुनारथ्ने र अलि खानले दुईदुई विकेट लिए।

कोल्ट्सको पालिमा सेहान फर्नान्डोले सर्वाधिक ५१ रन बनाए। कप्तान एम. पुस्पकुमार र अकिला धनन्जय दुई श्रीलंकाली अन्तराष्ट्रिय क्रिकेटरलाई कोल्ट्सले मैदानमा उतारेको थियो।

ओपनिङ ब्याट्स्‍म्यान पुस्पकुमारले श्रीलंकाका लागि तिन एकदिवसीय तथा एक टिट्वान्टी खेलिसकेका छन्। नेपाल विरुद्ध उनले ३७ रन जोडे।

२० बर्षिय अकिललाले श्रीलंकाका लागि एक एकदिवसीय र पाँच टीट्वान्टी क्रिकेट खेलिसकेका छन्। अकिलाले २४ रन जोडे।

पछिल्लो क्रममा अरुण धर्मसेनाले अविजित ३४ रन जोडेका थिए। नेपालका लागि अभिनाश कर्ण र कप्तान पारसले तीनतीन विकेट लिए। सागर पुन र वसन्त रेग्मिले दुईदुई विकेट लिएका थिए। नेपालले शुक्रबार दोस्रो अभ्यास खेल फस्ट क्लास टिम मुर्स स्पोर्टस क्लबसँग खेल्नेछ।

Comment