Wednesday , December 13 2017
Home / Featured News / श्रीलंकालाई ट्वान्टी२० विश्वकपको उपाधि

श्रीलंकालाई ट्वान्टी२० विश्वकपको उपाधि

श्रीलंकाले ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। बंगलादेशको मिरपुरस्थित शेरे बंगला नेसनल स्टेडियमको पानीले भिजेको मैदानमा ४० मिनेट ढिलो सुरु भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हरायो ।
 fd1429255a665b9fec069acea588380b_L
श्रीलंकाको जितमा अन्तिम ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलिरहेका कुमार संगाकाराको अर्धशतकीय इनिङ्स महत्त्वपूर्ण रह्यो। जसको मद्दतले भारतले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले १३ बल बाँकी छँदै पूरा गर्‍यो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सकेको थियो। दोस्रो ओभरमै मात्र ३ रनमा ओपनर अजिन्का रहाने आउट भएपछि भारतीय इनिङ्स जम्न सकेन। उत्कृष्ट फर्ममा रहेका विराट कोहलीले ५८ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ७७ रन बनाए पनि अन्तिम चार ओभरमा उनले ८ बल मात्र सामना गर्न पाए। युवराज सिंहले २१ बल खेलेर ११ रन मात्र बनाउन सके भने कप्तान महेन्द्रसिंह धोनीले पनि सात बलमा चार रन मात्र जोडे।
श्रीलंकाका लागि संगाकाराले अविजित ५२ रन बनाए। उनी म्यान अफ द म्याचसमेत भए। त्यस्तै माहेला जयबर्द्धनेले २४ र थिसारा परेराले अविजित २३ रन जोडे।
यो जितसँगै श्रीलंकाको ठूला प्रतियोगिताको फाइनलमा पराजित हुने क्रम टुटेको छ। श्रीलंका सन् २००७ र २०११ को विश्वकप र सन् २००९ र २०१२ को ट्वान्टी२० विश्वकपको फाइनलमा पराजित भएको थियो।
प्रतियोगिताको ६ खेलमा १ सय ६ को औसतले तीन सय १९ रन जोडेका भारतका विराट कोहली म्यान अफ द टुर्नामेन्ट भए।

Comment