Thursday , December 14 2017
Home / Featured News / विश्वकप ट्रफी छुने राष्ट्रपति यादव पहिलो नेपाली – अन्नपुर्ण पोष्ट

विश्वकप ट्रफी छुने राष्ट्रपति यादव पहिलो नेपाली – अन्नपुर्ण पोष्ट

विश्वकप ट्रफीलाई प्रत्यक्ष र औपचारिक छुन पाउने पहिलो नेपाली बन्ने सौभाग्य देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पाएका छन्। दशरथ रंगशालामा शनिबार विशेष सुरक्षाबीच भुटान हुँदै नेपाल ल्याइएको फिफा विश्वकप ट्रफीको राष्ट्रपति यादवले प्रदर्शनी गरेका थिए।

भुटानबाट नेपाल ल्याउने क्रममा ट्रफी बोकेको विमानलाई सर्वोच्च शिखर सगरमाथा नजिक पुर्‍याएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो। नेपालमा विश्वकप ट्रफी ल्याइएको यो पहिलोपटक हो।

विश्व फुटबल महासंघ (फिफा) र कोकाकोलाको सहकार्यमा सन् २०१४ मा ब्राजिलमा आयोजना हुने विश्वकप फुटबलको ट्रफी विश्वकप हुनुपूर्व ९० देशमा लगिनेछ। ९० देशको भ्रणममा ट्रफीले कुल एक लाख ५० हजार किलोमिटर दूरी यात्रा गर्नेछ। ट्रफीले नेपाल आइपुग्दा ५१ देशको भ्रमण गरिसकेको छ।

१८ क्यारेट सुनबाट बनेको ६.१ केजी तौल ट्रफीको उउचाइ ३६.८ सेन्टीमिटर छ। सन् २०१० को विश्वकपअघि ट्रफीलाई ८४ देश घुमाइएको थियो।

दशरथ रंगशालामा ट्रफीको प्रदर्शनी गर्दै राष्ट्रपति यादवले विश्वकप ट्रफी यात्रा नेपालका लागि ऐतिहासिक क्षण भएको बताए। ‘ट्रफीलाई प्रत्यक्ष देख्न पाएकोमा नेपाली जनता धेरै खुसी छन्। चार वर्षमा आयोजना हुने विश्वकप ट्रफी टुरको बाटो आगामी दिनमा पनि नेपाल परोस्’, नेपाललाई नयाँ इतिहास रच्न सहयोग पुर्‍याउने फिफा र कोकाकोलालाई धन्यवाद दिँदै राष्ट्रपतिले भने।

कोकाकोलाका साउथ वेस्ट एसिया रिजनका उपाध्यक्ष निरज गर्गले फिफासँगको सहकार्यमा नेपालमा ट्रफी टुर गराउन पाउनु खुसीको कुरा भएको बताए। फिफाका प्रतिनिधि जअ सेटर्सले विश्वकपमा सहभागी राष्ट्रमात्र नभएर फिफामा आबद्ध दुई सय सात राष्ट्रका जनताका लागि गर्वको विषय भएको बताए।

‘ट्रफीलाई सगरमाथाको देशमा ल्याउन पाउँदा फिफा थप उत्साहित भएको छ’, सेटर्सले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले टेलिभिजनमा मात्र विश्वकप ट्रफी देखेका नेपाली जनताले प्रत्यक्ष ट्रफी देख्दा धेरै खुसी भएको बताए।

विश्वकपमा पुग्नु नेपालीका लागि सपनाजस्तै भएको भन्दै थापाले फुटबलको भौतिक संरचना निर्माणमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिसमक्ष अनुरोध गरेका थिए। ‘नेपालको एउटा मात्र दशरथ रंगशाला अन्तर्राष्ट्रिय मान्यताको छैन। यही पनि जीर्ण छ। नेपाली खेलाडीमा विश्वकप खेल्ने क्षमता प्रशस्त छ, तर राज्यले उचित लगानी गर्नुपर्छ’, थापाले भने।

कोकाकोलाका जनसम्पर्क अधिकृत दीपक जोलीले नेपालमा फुटबलको मोह चुलिँदो अवस्थामा रहेकाले ट्रफी टुरले नेपाली युवा पिँढीलाई फुटबलमा लाग्न प्रेरणा मिल्ने बताए। दिउँसो दुई बजे दशरथ रंगशाला ल्याइएको ट्रफी साँझ सात बजेसम्म दशरथ रंगशालामा राखिएको थियो।

ट्रफी हेर्न तीन हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए। ट्रफीलाई नजिकबाट नियाल्न युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलाडी, सुरक्षानिकायका प्रतिनिधिलगायतको उपस्थिति थियो। ट्रफी आइतबार नेपाल हुँदै भारत लगिनेछ। भारत भ्रमणपछि विश्वकप ट्रफीले थाइल्यान्ड यात्रा गर्नेछ। विश्वकप आगामी जुनमा ब्राजिलमा आयोजना हुनेछ।

Comment