Friday , December 15 2017
Home / Nepal / राष्ट्रपतिको सक्रियता बारे एमालेको आपत्ति

राष्ट्रपतिको सक्रियता बारे एमालेको आपत्ति

 नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले संविधानसभाको बैठक कसले बोलाउने भन्ने अदालतमा विचाराधीन विषयमा राष्ट्रपति रामवरण यादवले विभिन्न दलका नेताहरुलाई भेट्दै गरेको लविङ अशोभनीय भएको बताएका छन।dr ram saran mahat

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले राष्ट्रपतिको सक्रियतालाई ‘ओभर’ भएको भन्दै त्यो राष्ट्रपति जस्तो गरिमामय पदको लागि सोभनीय नभएको टिप्पणी गरे।

ज्ञवालीले भने–देशकै गरिमामय पदमा बस्नेले आकाक्षा र दुराकांक्षा राख्नु हुँदैन। राष्ट्रपतिले दलहरु मिलुन, एक वर्षभित्र संविधान बनाउन भनेर सहमतिको प्रयास गर्नु ठिकै हुन्छ। तर बैठक बोलाउने विषयमा लविङ गर्नु सोभनीय हुँदैन।

उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि राष्ट्रप्रमुखले संविधानसभाको पहिलो बैठक बोलाउनु उपयुक्त हुने भए पनि मुख्य कुरा छिटो संविधानसभाको बैठक बोलाउने कुरा महत्वपूर्ण भएकोले दलहरुवीचको सहमति वा सर्वोच्च अदालतको फैसला अनुसार नै हुनु पर्नेमा जोड दिए।

ज्ञवालीले भने– बिरालो सेतो छ, कि कालो छ भन्ने कुराको अर्थ छैन। मुख्य कुरा बिरालोले मुसा मार्नु पर्छ भन्ने कुरा हो। प्रधानमन्त्रीले बोलाए पनि राष्ट्रपतिको टाउको दुख्नु हुँदैन।

ज्ञवालीले राष्ट्रपति निर्वाचनको विषय सत्ता बाँडफाँटको बार्गेनिङ नभएको स्पष्ट पार्दै संविधानसभाको बैठकको बहुमतले अहिले कै राष्ट्रपति र उपराष्ट्र ठिक छ भनेर प्रस्ताव पारित भए आफूहरुलाई मान्य हुने बताए।

बाचुञ्जेल राष्ट्रपति हुन सक्दैनः ‌एमाओवादी

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले कार्यकारी भन्दा बढी राष्ट्रपतिले चासो र चिन्ता लिनु राम्रो नभएको भन्दै राष्ट्रपति रामवरण यादवले यसअघि पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अध्यादेश पारित नगरेर राजनीति गरेको आरोप लगाए।

उनले संविधानसभाको बैठक बोलाउने विषयमा राष्ट्रपतिले चलखेल र सक्रियता बढाउनु आवश्यक नभएको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताए।

उनले नयाँ जनादेश आईसकेको अवस्थामा अहिलेकै राष्ट्रपतिले निरन्तरता खोज्नु उचित नभएको तर्क गर्दै भने–जनादेश नयाँ राष्ट्रपति पुरानै हुनै सक्दैन। सरकार नयाँ , संविधानसभा नयाँ, राष्ट्रपति चाँही पुरानो हुन सक्दैन। कोही बाचुञ्जेललाई राष्ट्रपति हुन सक्दैन।

उनले काग्रेसलाई बाहिर राखेर एमालेसँग मिलेर सरकार बनाउने विषयमा आफूहरुले नसोचेको स्पष्ट पार्दै आफ्नो पार्टी तेस्रो दल भएकोले सरकार भन्दा पनि संविधान निर्माणमा लाग्ने र काग्रेस र एमालेले नै सरकारको नेतृत्व लिनु पर्ने बताए। उनले भने–सरकार निर्माणमा हामी पहल गर्दैनौ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नेपाली काग्रेस सरकारको नेतृत्व गर्न नपाए प्रतिपक्षमा बस्ने स्पष्ट पारे। उनले आफ्नै नेतृत्वमा चुनावबाट पहिलो दल बनाएका सभापति सुशिल कोइरालाले सरकारको नेतृत्व गर्नु स्वभाविक भएको भन्दै कम्तिमा पनि एमाले र काग्रेस मिलेर सरकार र संविधान निर्माणमा अघि बढ्नु पर्न बताए।

प्रधानमन्त्रीले बोलाए राष्ट्रपति पद नै खारेज

खडकाले प्रधानमन्त्रीले संविधानसभाको बैठक आह्वान गरे नेपालबाट राष्ट्रपति पद नै खारेज गरिदिनु पर्ने तर्क गर्दै कुनै पनि दलले घोषणा पत्रमा राष्ट्रपतिको नयाँ निर्वाचनको कुरा उल्लेख नगरेकोले जनताले अनुमोदन नगरेको राष्ट्रपतिको निर्वाचन हुन नसक्ने तर्क गरे। उनले भने–घोषणापत्रमा उल्लेख नगरेको राष्ट्रपतिको निर्वाचन जनमतको ब्याख्याबाट हुँदैन।

Comment