Saturday , December 16 2017
Home / PaperPublished / राप्रपा नेपालका असन्तुष्ट कार्यकर्ताले आफ्नै कार्यालय जलाए – अन्नपूर्ण पोस्ट

राप्रपा नेपालका असन्तुष्ट कार्यकर्ताले आफ्नै कार्यालय जलाए – अन्नपूर्ण पोस्ट

राप्रपा नेपालका कार्यकर्ताहरुले संविधान सभाको हालै सम्पन्न चुनाउमा समानुपातिकतर्फ आफ्नो जिल्लाका नेतालाई सिफारिस नगरेको भन्दै हेटौंडा ५ मा रहेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। उनीहरुले कार्यालयमा रहेका महत्वपूर्ण कागजात र टेबल, कुर्सी, सूचना बोर्ड जलाएका छन्।

पार्टीमा योगदान गर्नेहरुलाई बेवास्ता गर्दै नातागोता च्यापेको आरोप उनीहरुले अध्यक्ष कमल थापामाथि लगाएका छन्। सहअध्यक्ष पद्मसुन्दर लावतीकी  बुहारी बबिना मोक्तान लावती, वरिष्ठ नेता केशरबहादुर विष्टका छोरा विराज विष्ट, सहायक कोषाध्यक्ष तारानाथ लुइँटेलकी पत्नी सीता लुइँटेललाई समानुपातिकमा सिफारिश गरिएको छ।

सोमबार अपराह्न राप्रपा नेपालका कार्यकर्ताले केन्द्रीय निर्णय नमान्ने भन्दै नाराबाजी गर्दै केन्द्रीय समितिका नेतृत्वको विरोध गरेका थिए।

कार्यकर्ताले मकवानपुरबाट समानुपातिकमा कम्तिमा एकजना जिल्लास्तरीय नेतालाई सभासद् बनाउनुपर्ने अडान राखेका छन्। आइतबारबाट सुरु भएको विरोध कार्यक्रमअर्न्तगत पहिलो दिन कार्यकर्ताले पार्टी कार्यालय अगाडि दुई घण्टा धर्ना दिएका थिए।

समानुपातिकमा मकवानपुरबाट पार्टी अध्यक्ष कमल थापाको नाम मात्रै सिफारिस भएकाले जिल्लाबाट समावेशी हुने गरी संविधानसभा सदस्य बनाउनु पर्ने उनीहरुको माग रहेको राप्रपा मकवानपुरका अध्यक्ष नबराज विष्टले अन्नपूर्ण पोष्टलाई बताए।

युवा मोर्चाका जिल्ला उपाध्यक्ष सनितलाल श्रेष्ठको नेतृत्वमा भएको कार्यक्रममा सल्लाहकार दीपक लामा, नगर अध्यक्ष दिनेश लामा साइला, नगर सचिव विमला खड्गी, विद्यार्थी संगठनका प्रकाश चौलागाई लगायतको सहभागिता थियो।

Comment