Wednesday , December 13 2017
Home / Article / युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

डा सावित्रा काफ्ले

Sabitra Kafle  photo

डा सावित्रा काफ्ले

भर्खरै नेपाललाई माया गर्ने र बिदेशमा हामी बस्नु हुँदैन भन्ने मेरा एकजना मित्रको सोचाईमा यसपटकको नेपाल भ्रमणले एक्कासी परीवर्तन ल्याईदियो । आउँदा आउँदै वहाँले भन्नुभयो, अब म तपाईलाई पढाई सकाएर नेपाल फर्कनुस भन्दिन । बरु यतै काम खोज्नुस, मैले अब नेपाल फर्कनुको औचित्य देखीन । मित्रको आवाजमा नैराश्यता थियो र देश दुखेको पिडा पनि थियो । उता सधै कुराकानीमा पढाई सकेर नेपालमै आउ भन्नुहुने मेरी आमा आजकल, भो अब त नेपालमै आऊ भन्न छोड्नुभएको छ । तिमीहरुलाई जता राम्रो हुन्छ त्यतै बस भन्न थाल्नु भएको छ ।
हामी बिदेशमा रहेका युवावर्गहरु जे काम र उद्देश्यका लागि मातृभुमी छाडेका छौ, त्यसका आफ्नै कथा होलान् । तर अहिलेको अबस्थामा नेपाल फर्कन चाहने बौद्धिक वर्गपनि बिदेशीन बाध्य छन् । यसो भन्दैमा बिदेशमा युवाहरु सजिलो जीवन बाँचेका छन् भन्ने पनि हैन् । यहाँको दैनिकीका पनि आफ्नै कथा, ब्यथाहरु छन् । जती खटेर हामी बिदेशमा काम गर्छौ, त्यतिनै मात्रामा स्वदेशमा काम गर्न सकीयो भने पक्कै पनि देशले काँचुली फेर्नेछ । तर अहिले यो सम्भाबना, मात्र सपना बन्न पनि सकीरहेको छैन् ।
नेपालमा बिद्यमान राजनैतिक अस्थीरता सम्पूर्ण नेपाली जनताको नैराश्यताको प्रमुख कारण बनेको छ भन्नुमा अतियुक्ति नहोला । वर्षेनी फेरीने सरकार, कहिल्यै नबन्ने संविधान, जनताको पसिना खान बानी परेका उच्च पदस्थ पदाधिकारीहरु, पटक पटक जनतालाई झुक्याउन खेलीने सरकारी नाटक, दिन प्रतीदिन बढ्दै गएको महङ्गी, दैनीक जीवनका लागी आबश्यक सुबिधा र सामाग्रीको अभाब, र बढ्दै गएको असुरक्षित बाताबरण थप नैराश्यताका कारणहरु हुन् । यस लगायत आफ्नो आनुभव र दक्षताको आधारमा रोजगारिको लागी छनोट नहुनु र दक्षताको प्रयोग गर्ने बाताबरण नहँनुले युवाबर्गलाई बैकल्पिक बाटोको खोजी गर्न बाध्य बनाएको छ । र बिकल्पमा बिदेशीएका छन् लाखौ युवाहरु । यसप्रति कुनै सम्बेदनशीलता देखिएको छैन सरकारमा नत कुनै प्रभाबकारी नीति नियम नै बन्न सकेका छन् ।
हजारौं नेपाली युवाहरु हरेक वर्ष उच्च शिक्षाको खोजीमा विदेशीदै आएको सन्र्दर्भ आज बौद्धिक जगतको चासो र चिन्ताको विषय बनेको भएपनि सरकारको चासोमा नपरेको हामी सबैलाई विधितै छ । यस किसिमको बाहृयगमनबाट पक्कैपनि देशबाट गुणस्तरीय जनशक्तिको पलायन भएको छ र यसरी शिक्षाका लागि भनी विदेशीने युवाहरुको पलायनबाट देशका लागि अपुरणीय क्षति भएको छ । एकातीर तिब्र गतीमा बढ्दै गएको भूमण्डलीकरणले संसारलाई बिभिन्न देशहरुबीचको दुरीलाई न्यूनीकरण गर्दै लगेको छ भने अर्को तिर हामी नेपाली युवाहरुलाई आफ्नो देशबाट टाढिन पनि बाध्य बनाएको छ । विदेशमा दक्षता हासील गरेका नेपाली युवाहरुको सीप र शिक्षालाई देशबाट क्षति हुन दिनुभन्दा पनि यस्तो शिक्षा, सीप, अनुभव र ज्ञानलाई देशको उपयोगमा कसरी ल्याउन सकिन्छ भन्ने चिन्तनको आबश्यकता नीजी र सरकारी दुवै क्षेत्रले अवलम्बन गर्नु अपरिहार्य छ । युवाबर्गलाई देशमा फर्केर काम गर्ने बाताबरणको सृजना हुनु अत्याबश्यक देखीन्छ । विदेशी भूमीमा रहेका धेरै नेपालीहरु लगायत हामी युवाबर्गहरु भावानात्मक रुपले सदैव नेपालसँगै गाँसिएका हुन्छौ । र आफुले प्राप्त गरेको सीप र ज्ञानलाई देशका लागि उपयोगमा ल्याउने अवसरहरु खोजिरहेका छौ । जब त्यो अवसरको सम्भाबनाहरु मेटीदै गएका छन्, त्यसले हामी बिदेशमा रहेका युवाबर्गलाई सदैब निराश र चिन्तित बनाएको छन् ।
बर्तमान परिबेशमा विदेशबाट फकिर्एका नेपालीसँगै प्राप्त हुने सीप, अनुभव र दक्षताको उत्पादनशील उपयोगबाट बिकास क्षेत्रमा ल्याउन सकीने सकारातमक परिवर्तनको लागी सबैपक्षको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । नेपाल भौगोलिक, प्राकृतिक र सांस्कृतिक हिसावले संसारका धेरै कम भाग्यमानी राष्ट्रहरुमध्येको एक हो । देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई दक्ष र इमान्दार जनशक्ति मार्फत अधिकतम उपयोगमा ल्याउन सकियो भने देशको विकास प्रकृयाले गुणत्तर फड्को मार्न सक्छ । हाल नेपालको बाताबरणले बिदेशमा अध्यनको लागी आएका युवाबर्गहरुले आफ्नो दक्षतालाई प्रभाबकारी रुपमा प्रयोगमा ल्याउन पाएका छैनन्। लाखौ नेपाली रकम लगानी गरेर पढेका युवाहरु जीवन गुजाराको लागी अरु नै काम गर्न बाध्य छन बिदेशमा । समान अबसरको निती भएपनि आफ्नो योग्यता, सीप र अनुभबको आधारमा कामगर्ने अबसर पाउने भाग्यमानी नेपालीहरु कमैछन् बिदेशी भुमीमा । त्यसैले त्यो वर्षौको मानसीक, आर्थीक र शरीरिक लगानीलाई बिर्सेर रातदिन काममा खटिनु पक्कैपनि रहरको विषय होईन् । तर स्वदेश फर्कदापनि भविष्यको कुनै सम्भावना नदेख्दा मनको ईच्छालाई मनमै मारेर बस्नु बाध्यता बनेको छ ।
बिदेशमा रहेका युवाहरुको आत्महत्याको समाचारपनि आजकल अखबारमा आउने गरेका छन् । समाचारको पृष्ट भरिनु बाहेक ती आत्महात्याका घटनाहरु थप अध्ययनका विषय बन्न सकेका छैनन् । त्यसरीनै खाडी मुलुकमा रहेका महिलाहरुमाथीको शोषण र यातनाका खबरहरुले दैनिकी बनाईसकेका छन् । यी सबै हुँदाहुँदै पनि बिदेशीने क्रममा कुनै न्युनता आएको छैन । आफ्नै घरमा रहँदा रातोदिनको असुरक्षित बाताबरणले बौद्धिक बर्गलाई मुलुक बाहीर धकेलिरहेको छ साथै दैनीक जिबीकोपार्जनको लागी लाखौ मजदुरहरुलाई खाडी मुलुकको कष्टकर जीवन बाँच्न बाध्य बानाएको छ । हुनत, केही बौद्धीक बर्गले बिदेशमा रहेरपनि नेपालको नामलाई उदाहरणीय बनाउन सफल भएका छन् तर पनि अधिकाँश युवाहरु समझदारी गरीरहेछन आफ्नै योग्यता र दक्षतासँग ।
यो स्थितीको सृजनाको जिम्मेवारी कस्ले लिने भन्ने अर्को प्रश्न हो । अहिलेको स्थितीलाई आकलन गर्दा कुनैपनि बर्ग जिम्मेवारी लिन तत्पर देखिदैन । मेरो बिचारमा यसको जिम्मेवारी राज्यको नै हो भन्ने लाग्छ । नेपालको राजनैतिक अवस्थामा सुधार आउन सक्यो भने पक्कैपनि यसले हामी युवाबर्गमा केहि आशा पलाउने छ । उपयुक्त राजनैतीक वातावरणको अभावका कारण काम गर्ने उर्जामा समय समयमा ठेस लाग्ने गरेका तितो अनुभवले बिदेशीएका युवापिढिमा बितृष्णा सृजना गरेको छ । हामी बिदेशमा रहेका युवा बर्गहरु नेपाल बर्साईलाई सन्तुष्ट बनाउन इमान्दार नेतृत्वको साथमा राजनीतिक स्थायित्व, सामाजिक सुरक्षा र विधिको शासन जस्ता आधारभुत अवस्थाको श्रृजना हुनु आबश्यक देखेका छौ । यदि राज्यले यसलाई सुनिश्चीत गर्न सक्यो भने नेपाली युवाहरु विदेशी अनुभव र शिक्षा लिएर देश फर्कने वातावरण बन्न सक्थ्यो की ? देशमा लामो समय देखि विद्यमान राजनीतिक अस्थिरता लाई चिर्न सकेमा बिदेशिन बाध्य भएका नेपाली युवाहरु उत्साहका साथ स्वदेशमा अवसर खोज्न र अवसरहरु श्रृजना गर्न प्रोत्साहित हुनसक्ने सम्भाबना प्रबल देखीन्छ । यसले बिदेशमा रहेका युबाहरुमा पनि सकेसम्म राम्रो प्रतीफल लिएर स्वदेश फर्कन हौसला मिल्नेछ र शायद राज्यले आफ्नो दक्ष जनशक्तीलाई गुमाईरहेको प्रबृतीको अन्त्य हुनेछ । -मेलवर्न [email protected]

Comment