Friday , December 15 2017
Home / Featured News / युक्रेनमा सरकार र विपक्षीबीच सम्झौता

युक्रेनमा सरकार र विपक्षीबीच सम्झौता

राष्ट्रपति भिक्टोर यानुकोभिच एवं विपक्षी नेताहरूले यो वर्षको अन्त्यसम्म राष्ट्रपति निर्वाचन गराउने सहमतिमा हस्ताक्षर गरेका छन् । त्यहाँ कायम राजनीतिक संकटको अन्त्य गर्नु सम्झौताको एक सर्त हो ।ukraine-protest

त्यसमा ४८ घन्टाभित्र २००४ को संविधानको पुनर्स्थापना, दस दिनभित्र राष्ट्रिय एकताको सरकार, निर्वाचन प्रणालीमा सुधार र राष्ट्रपतिको शक्तिमा कटौती हुने गरी संवैधानिक परिवर्तनका विषय वस्तु पनि सामेल छ । त्यहाँ हालै भएको उग्र हिंसाको छानबिनका लागि सरकार, विपक्षी र युरोपेली परिषद्को संयुक्त अनुगमन संयन्त्र गठन हुने भएको छ । त्यसैगरी, सरकारले संकटकाल लागू नगर्ने, दुवै पक्ष हिंसाबाट जोगिएर बस्ने र अवैध हतियार गृह मन्त्रालयलाई बुझाउने सम्झौतामा उल्लेख  छ ।

युरोपियन युनियनका तीन विदेशमन्त्रीको मध्यस्थतामा घन्टौं लामो वार्तापछि उक्त सम्झौता भएको हो । त्यसमा राष्ट्रपति यानुकोभिच र विपक्षी नेताहरू भिटाली कलितस्चको, आर्सेनी याटसेनयुक र ओलेह त्याहलिबोकले हस्ताक्षर गरेका थिए ।

सहमतिको घोषणअघि जर्मनी र पोल्यान्डका मन्त्रीहरूले राजधानी किभको ‘इन्डिपेन्डेन्स स्क्वायर’ प्रदर्शनकारीहरूलाई भेटेका थिए । पोल्यान्डका विदेशमन्त्री राडोस्लो सिकोर्सकीले यो युक्रेनका लागि राम्रो सहमति भएको र यसले युरोपसम्म सुधारको मार्ग खोल्ने बताएका छन् ।

युक्रेनमा जारी  हिंसामा बिहीबार मात्र कम्तीमा पनि ६० को ज्यान गएको  छ । लामो समयदेखि जारी संघर्ष उत्कर्षमा पुगेको देखिन्छ । जर्मनीका चान्सलर एन्जेला मार्केलले अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उक्त मुलुकको भविष्यलाई लिएर फोनवार्ता गरेकी छन् ।

प्रदर्शनकारीहरूले व्यापक हतियारको प्रयोग गरेको सरकारले जनाएको छ । युरोपेली युनियनले हिंसाका कारण आर्थिक नाकाबन्दी लगाएको छ । उसले वार्ताको बाटो खुलै राखेको जनाएको छ ।

त्यहाँ भयानक रूपमा दुवैतर्फबाट गोलाबारुदसहितका दृश्यहरू टेलिभिजनले प्रसारण गरिरहेका छन् । राष्ट्रपति यानुकोभिचले सरकारपछि नहट्ने र कारबाही गरेरै छोड्ने प्रतिबद्धता सार्वजनिक गरेसँगै उग्र भिडन्तहरू भएका हुन् ।

 

Comment