Monday , December 18 2017
Home / Featured News / यहाँ केवल नेपाली क्रिकेटको विकास गर्न आएको हुँ । नेपालमा आएर धनी हुनु छैन |

यहाँ केवल नेपाली क्रिकेटको विकास गर्न आएको हुँ । नेपालमा आएर धनी हुनु छैन |

दुई वर्षअघि नेपाली क्रिकेट कोच बनेर आएका श्रीलंकाली पूर्वक्रिकेटर पुबुदु दासानायकेले नेपालमा अहिले चौतर्फी वाहवाही कमाइरहेका छन् । नेपाल टी–२० विश्वकपमा पुग्नुको सबैभन्दा ठूलो श्रेय उनैलाई दिने गरिएको छ । यसअघि क्यानाडाको प्रशिक्षक रहेका दासानायके आएपछि नेपाली क्रिकेट नयाँ स्तरमा पुगेको विश्वास गरिन्छ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बिहीबार भेटिएका दासानायकेसित गरिएको संवाद :

टी–२० विश्वकपमा नेपाल छानिएपछि कस्तो अनुभव भइरहेको छ ?
मलाई कुनै आश्चार्य लागेको छैन । नेपाल विश्वकपमा छनोट हुन योग्य थियो । खेलाडी र मैले विश्वास लिएका थियौँ । नेपाल आएको दिनदेखि नै मेरो लक्ष्य यही थियो । यो आज पूरा भएको छ ।

नेपाललाई विश्वकपमा पुर्‍याउने मात्रै तपाईंको लक्ष्य हो त ?

यो मेरो पहिलो पहिलो प्राथमिकता थियो । विश्वकपमा प्रवेश गर्नु नेपाली क्रिकेटको सर्वाधिक ठूलो र ऐतिहासिक सफलताजस्तो लाग्छ । नेपालका लागि यो एकदमै महत्त्वपूर्ण छ । मेरो पहिलो लक्ष्य पूरा भइसकेपछि पक्कै पनि अगाडि सोच्नुपर्छ । अब नेपाललाई एकदिवसीय क्रिकेट विश्वकपमा पनि छनोट गराउने दायित्व छ । कम्तीमा एक दिवसीय टोलीको मान्यता पायो भने नेपालको क्रिकेट अर्कै स्थानमा हुनेछ ।

एकदिवसीय मान्यता पाउँदा नेपाललाई कस्तो फाइदा हुन्छ ? 

एकदिवसीय मान्यता पाउनु भनेको नेपालको क्रिकेट अर्को तहमा पुग्नु हो । त्यतिवेला नेपाली क्रिकेटको स्ट्यान्डर्ड नै अर्को हुनेछ । त्यहाँ हामीले धेरै फाइदा लिन सक्छौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल तथा एसियन क्रिकेट परिषद्ले अहिलेको भन्दा दोब्बर–तेब्बर आर्थिक सहयोग दिन्छन् ।  साथै एकदिवसीय टोलीका रूपमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न अवसर मिल्नेछ । खेलाडीले बढीभन्दा बढी म्याच एक्सपोजर पाउनेछन् र आफूलाई विश्वस्तरमा चिनाउनेछन् । नेपालले फरक–फरक प्रतियोगितामा भाग लिने मौका पाउनेछ । चार दिवसीय, इन्टर कन्टिनेन्टल कप र वल्र्ड क्रिकेट लिगमा खेल्ने अवसर पाइन्छ । १८ महिनामा २८ एकदिवसीय र १४ चारदिवसीय डे म्याच खेल्न पाउनु खेलाडीका लागि ठूलो अवसर हो । मलाई विश्वास छ अर्कोपटकको विश्वकपमा नेपालले छनोट चरणमा प्रतिस्पर्धा गर्नुपर्ने छैन । साथै हामीले रंगशाला, भौतिक पूर्वाधार, घरेलु लिग तथा क्रिकेटरलाई व्यावसायिकतातर्फ लान सक्छौँ । आठ वर्षपछि नेपाल आइसिसीको पूर्ण सदस्य हुन सक्छ ।

युएईमा भएको छनोट प्रतियोगिताबाट नेपाल विश्वकपमा पुग्दाको अनुभवलाई कसरी बयान गर्नुहुन्छ ? 

युएईमा नेपालले खेलेका सबै प्रतियोगिता एकदमै तनावपूर्ण थिए । कुनै पनि खेल सहज थिएनन् । समूह चरणको अन्तिम खेलसम्म नेपाल कुन पोजिसनमा हुने भन्ने अन्योल थियो । त्यसवेला हामीले समूहमा तेस्रो भएर प्लेअफ खेल्ने मौका पायौँ । भाग्यले साथ दिएर थोरै अंकले हामी तेस्रो हँुदा दुईवटा म्याच खेल्ने अवसर थियो । एउटा गुमाए पनि अर्कोमा जित हात पार्दा विश्वकपमा पुग्न पाइन्थ्यो । तर, हामी पहिलो म्याचबाटै आफ्नो स्थान सुरक्षित गर्न चाहन्थ्यौँ । पहिलो प्लेअफमा हङकङ नेपालको प्रतिस्पर्धी थियो । हङकङलाई जित्न सकिन्छ भन्ने आत्मविश्वास खेलाडीहरूले लिएका थिए । तैपनि विश्वकपमा पुर्‍याउने म्याच भनेपछि सबैलाई दबाब महसुुस हुने नै भयो । टस हामीले जितेर हङकङलाई ब्याटिङको निम्तो दियौँ । हङकङले सोचेभन्दा राम्रो ब्याटिङ गर्‍यो ।बलिङमा पनि उनीहरूले निकै संघर्ष गरे । त्यसैले जितका लागि अन्तिम बलसम्म पर्खिनुपर्‍यो । मेरो विचारमा कप्तान पारसले नै नेपाललाई लक्ष्यसम्म पुर्‍याउनसक्थे । तर, दबाब यति थियो कि उनी सामान्य गल्तीले रनआउट भए । पारस रनआउट हुनुले शरदका लागि ‘स्टेज’ बन्यो । उनले अन्तिम ओभरमा १३ रन बटुलेर हामीलाई विश्वकपमा पुर्‍याए । शरदको इनिङको जति तारिफ गरे पनि कम हुन्छ । 

छनोट प्रतियोगितामा शरद भेसवाकर यसरी चम्केलान् भन्ने कुनै अनुमान गर्नुभएको थियो ? 

युएईमा जानुअघि मैले शरदबारे त्यस्तो केही सोचेकै थिइनँ । उनी मध्यक्रमका एक भरपर्दा ब्याट्सम्यान हुन् । पछिल्लो दुई वर्षयता उनले टोलीका लागि राम्रो योगदान दिएका छन् । आवश्यकताअनुसार आफ्नो ब्याटिङ शैली बदल्न सक्छन् । पछिल्लो एक वर्षभित्र उनको ब्याटिङमा धेरै परिवर्तन आइसकेको छ । उनलाई ‘खेल सिध्याउने’ भूमिका दिइएको थियो । युएईमा शरदले आफ्नो भूमिकामा शतप्रतिशत न्याय दिए । यसअघि मलेसियामा भएको डिभिजन ४ मा पनि शरदले केही म्याचमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एसिसीको केही खेलमा पनि उनले राम्रो फिनिसिङ गरेका थिए । शरदमा दबाबको अवस्थामा पनि सम्हालिएर ब्याटिङ गर्ने क्षमता छ । त्योभन्दा ठूलो कुरा आवश्यक परेका वेलामा बललाई बाउन्ड्री कटाउन सक्छन् ।

तपाईं आउनुभन्दा अगाडि नेपालको ब्याटिङ एकदमै सुस्त र कमजोर थियो । तर, तपाईं आएपछि एकाएक ब्याटिङ बलियो देखिएको छ । आखिर के जादू गर्नुभयो ? 
(हाँस्दै) नेपालको ब्याटिङ परिवर्तन भएको होइन । खाली उनीहरूमा आत्मविश्वासको कमी थियो । केही पक्षमाथि मैले ध्यान दिएको छु । ब्याट्सम्यानलाई खुलेर खेल्न अवसर दिइरहको छु । सुरुमा आएपछि उनीहरूको प्रावधिक पक्ष अध्ययन गर्दा निकै राम्रो पाएँ । तर, ब्याट्सम्यानहरू परम्परागत रूपमा ब्याटिङ गरिरहेका हुन्थे । मलाई लाग्छ, क्रिकेटमा धेरै परिवर्तन आइसकेको छ । उदाहरणका लागि टी–२० क्रिकेट खेल्ने शैली नै फरक छ भने एकदिवसीय र टेस्टमा ब्याटिङ गर्ने शैली पनि फेरिएको छ ।
समयअनुसार ब्याटिङ गर्न सक्नुपर्छ । अहिले ब्याट्सम्यानले स्वतन्त्र भएर ब्याटिङ गर्न सक्नुपर्छ । नेपाली ब्याट्सम्यानमा सबै खुबी भएर पनि खुलेर खेल्न डराउँथे । मैले उनीहरूलाई आधुनिकतातर्फ लगेँ । यही परिवर्तन हो पुरानो र नयाँ नेपाली ब्याटिङ शैलीमा ।

खेलाडीहरूको आत्मविश्वास बढाउन के गर्नुभएको छ ? 
उनीहरूलाई विदेशमा बढीभन्दा बढी एक्सपोजर गराउने काम भइराखेको छ । क्यानडा, भारत तथा श्रीलंकाका लिगमा ब्याट्सम्यानहरू निरन्तर खेल्न गइरहेका छन् । शक्ति गौचन भारतको आइपिएल लिग खेल्ने राजस्थानमा ट्रायल दिन गए । पारस र वसन्तले क्यानेडी लिगको अवसर पाए । यस किसिमले उनीहरूको ब्याटिङ कन्फिडेन्स बढिरहेको छ ।

विश्वकप खेल्ने नेपाली टोली कति सन्तुलित छ ? 
यदि नेपालको ओपनिङदेखि सातौँ क्रमसम्मको ब्याटिङ अर्डर हेर्‍यौँ भने यो उत्कृष्ट छ । एसोसिएट राष्ट्रमा यो जतिको बलियो ब्याटिङ लाइन देख्न सक्नुहुन्न । ओपनर सुभाष र सागर, मध्यक्रममा विनोद भण्डारी, ज्ञानेन्द्र, पारस, शरदले ब्याटिङ गरिरहेका छन् । शक्ति गौचनजस्तो ब्याट्सम्यान पनि ८–९ नम्बरमा आएर ब्याटिङ गर्छन् । यो टोली पूरै सन्तुलित छ । टी–२० वा ५० ओभरको खेल किन नहोस् नेपाली टोली सन्तुलित छ ।
एकदेखि छैटौँ क्रमसम्मको ब्याटिङ लाइनअप निश्चितै छ । म यसलाई चलाउन चाहँदिनँ । खाली सात नम्बरमा अलिकति अनिश्चित छ । त्यहाँ सागर, पृथु वा शक्तिमध्ये कसैले ५० ओभरमा ब्याटिङ गर्न पाउनेछन् ।

टी–२० संस्करणभन्दा एकदिवसीय क्रिकेटका लागि टोलीमा केही परिवर्तन हुनसक्छ ?
अवश्य पनि परिवर्तन हुनसक्छ । टी–२० र ५० ओभरको खेल एकदमै फरक हुन्छन् । आइसिसीको नयाँ नियमअनुसार एक दिवसीयमा बाउन्ड्रीमा चारजना मात्र फिल्डर राख्न पाइन्छ । सोही नियमलाई ध्यान दिएर हामी केही दिनमा टोलीमा परिवर्तन गर्ने तयारीमा छौँ । नेपाल र श्रीलंकामा अभ्यास खेलपछि त्यसको निर्णय लिनेछौँ । श्रीलंकामा दश अभ्यास खेल खेल्ने योजना छ । त्यसपछि न्युजिल्यान्ड गएर पनि अभ्यास गर्नेछौँ । त्यो सबै अभ्यास खेलमा फरक ‘कम्बिनेसन’ परीक्षण गर्ने प्रयासमा छु । सकेसम्म उत्कृष्ट टोली बनाउनेछु ।

श्रीलंकामा कस्तो टोलीसँग नेपालको अभ्यास खेल हुनेछ ?
पक्कै पनि उत्कृष्ट टोलीसँगै खेलाउँछु । श्रीलंकाको ‘ए’ श्रेणीविरुद्ध नेपालले खेल्नेछ । श्रीलंकाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू पनि हुनेछन्, जस्तै उपुल थरंगा ।

अहिले नेपालको फास्ट बलिङलाई कमजोर पक्ष मान्न थालिएको छ नि ? फास्ट बलरहरू सबै अनुभवहीन हुनुले टोलीलाई असर गर्दैन ? 
म आएदेखि नै नेपालको फास्ट बलिङले खासै म्याच जिताएको छैन । फास्ट बलरको प्रदर्शन साँच्चिकै सन्तोषजनक हुन सकेको छैन । मभन्दा अघि रोय डायसको समयमा सिमरहरूले नेपाललाई थुप्रै खेल जिताउँथे । त्यसवेला महबुब आलम र विनोद दास स्तरीय फास्ट बलरका रूपमा थिए । अहिले यो पक्ष कमजोरीकै रूपमा पाएको छु । नेपालको फास्ट बलिङ सुधार गर्न मैले तीन युवा प्रतिभावशाली खेलाडी चुनेको छु । मलाई आशा छ उनीहरूले आफूलाई प्रमाणित गर्नेछन् ।

न्युजिल्यान्डमा बलिङ र ब्याटिङ पक्षमा को–को खेलाडीबाट बढी आशा राख्नुभएको छ ? 
पारस र ज्ञानेन्द्रबाट धेरै आशा छ । दुवै खेलाडीले नेपालका लागि धेरै खेल जिताएका छन् । दुवै अति नै मिहिनेती छन् । मैले भनेको कुरालाई गम्भीरतापूर्वक लिने गर्छन् । मध्यक्रममा पारस र ज्ञानेन्द्रलाई अरू ब्याट्सम्यानले पनि सहयोग गर्ने विश्वास छ । बलिङको कुरा गर्दा सधैँ झै वसन्त रेग्मीमाथि विश्वास छ । यसपटक पछिल्लो प्रतियोगितामा भन्दा बलिङ पक्षबाट गतिलो साथ पाउने आशा गरेको छु ।

५० ओभरको विश्वकप छनोटमा आयरल्यान्ड र अफगानिस्तान छैनन्, त्यसबाट नेपालको सम्भावना कत्तिको बढेको देख्नुहुन्छ ? 
अवश्य पनि ५० ओभरको विश्वकपमा आयरल्यान्ड र अफगानिस्तानले छनोट चरणमा प्रतिस्पर्धा गरेका छैनन् । हामीले टी–२० विश्वकप छनोटमा दुवै टोलीभन्दा एक स्थान तल प्रतियोगिता सकाएका थियौँ । त्यसैले यसमा हामी समूह प्रथम हुनसक्ने सम्भावना बलियो छ । तर, स्कटल्यान्ड, नेदरल्यान्डजस्ता टोली पनि कमजोर होइनन् । हामीले अहिलेको स्तरभन्दा एक स्थानमाथि उक्लेर प्रतिस्पर्धा गर्नुपर्छ ।

टी–२० विश्वकपमा नेपाल बंगलादेश र अफगानिस्तानको समूहमा छ, तपाईं नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना कति देख्नुहुन्छ ? 
यदि तपाईंले नेपाली राष्ट्रिय टोलीको पछिल्लो २४ महिनाको प्रदर्शन स्तर हेर्नुभयो भने निरन्तर सुधार भइरहेको छ । बंगलादेश र न्युजिल्यान्डमा पनि राम्रो प्रदर्शनको अपेक्षा छ । हामी बंगलादेशमा बंगलादेशलाई हराउन जाँदै छौँ, हार्नका लागि होइन । साथै अफगानिस्तानलाई । मलाई थाहा छ । बंगलादेश होमकन्ट्री भएकाले हराउन सजिलो छैन । तैपनि हामीसँग आत्मविश्वास छ ।

प्रसंग बदलौँ, तपाईं प्रशिक्षणका लागि नेपाल आउन के कुराले बढी प्रेरित गरेको थियो ? 
सन् २०११ को विश्वकप क्रिकेटपछि म क्यानडाको राष्ट्रिय टोलीबाट पछि हटेँ । सायद ६ महिनाजति बाहिर बसेँ होला । सोही विश्वकपताका थियो, नेपाल क्रिकेट संघ (क्यान)का तत्कालीन अध्यक्ष विनयराज पाण्डेले मसँग कुराकानी गर्नुभयो । उहाँले मलाई नेपाली क्रिकेट टोलीसँग सम्बन्ध गाँस्न चाहनुहुन्छ भन्ने प्रस्ताव राख्नुभयो । त्यसपछि मैले नेपालको क्रिकेटबारे इन्टरनेटमा अध्ययन गरेँ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको स्थान कस्तो छ ? क्रिकेटमा यहाँ कुन किसिमको लगाव छ ? जस्ता कुराहरू बुझ्ने प्रयास गरेँ । साथै नेपाली क्रिकेटसँग सम्बन्ध गाँसेका अन्य व्यक्तिगत पनि छलफल गरेको थिएँ । सबै पक्षबाट आकर्षित तथा प्रभावित भएपछि म नेपाल आएको हुँ ।

यहाँ आउँदा कस्तो परिवेशको आशा गर्नुभएको थियो ?
मैले भनिहालेँ नि, यहाँ आउनुअघि धेरै रिसर्च गरेको थिएँ । यसबीचमा मैले एसिसीका केही व्यक्तिगत पनि कुरा गरे। त्यसवेला नेपाली टोलीका पूर्वप्रशिक्षक रोय लुक डायससँग छलफल भएको थियो । डायसले नेपाली खेलाडी प्रतिबद्ध, मिहिनेती भएको र नेपालमा क्रिकेटको कल्चर राम्रो रहेको भन्दै मैले प्रशिक्षकका रूपमा धेरै काम गर्नसक्ने बताउनुभयो । सबै पक्षबाट नेपालबारे सकारात्मक सुझाब आएपछि मैले विनयराजजीको प्रस्ताव स्विकारेँ ।

तपाईंको डायससँगको व्यक्तिगत सम्बन्ध कस्तो छ ?
मभन्दा डायस धेरै सिनियर क्रिकेटर हुनुहुन्छ । कहिले भन्ने त ठयाक्कै बिर्सिएँ, तर डायस श्रीलंकाली ‘ए’ टोलीको प्रशिक्षक हुनुहुन्थ्यो र म त्यही टोलीबाट खेल्थेँ । श्रीलंकाली क्रिकेट इतिहासमा डायसलाई पनि एक लिजेन्ड क्रिकेटरका रूपमा लिइन्छ । उहाँप्रति मेरो सधँै आदर र सद्भाव रहेको छ ।

व्यासायिकताविना अगाडि बढिरहेको र कुनै भौतिकपूर्वाधार नभएको नेपालमा आउँदा कतिको अफ्ठयारो महसुस गर्नुभयो ? 
हो, सुरुवातमा नेपाल आउँदा यही चुनौतीको सामना गर्नुपर्‍यो । तर, मलाई लाग्दैन कि यो नेपालको मात्र समस्या हो । किन भने टेस्ट तथा एकदिवसीय मान्यता पाउन नसकिरहेका नेपालजस्ता धेरै राष्ट्रमा यही समस्या छ । उनीहरूले पनि राष्ट्रिय खेलाडीलाई केही सुविधा दिन सकिरहेका छैनन् । साथै घरेलु क्रिकेटको संरचना पनि उस्तै छ । नेपालजस्तै अन्य राष्ट्रमा पनि घरेलु क्रिकेटको संरचना अत्यन्तै कमजोर छ । तर, मेरो नजरमा नेपालले स्रोत तथा साधनविना सोचेकोभन्दा गतिलो प्रगति गरेको छ । सुरुका दिनमा अलि असजिलो भएको थियो ।

भौतिक पूर्वाधार अभावले नेपाली क्रिकेटलाई अघि बढ्न रोक्दैन र ? 
अर्को महिना हामी न्युजिल्यान्डमा ५० ओभरको एकदिवसीय विश्वकप छनोट प्रतिस्पर्धा खेल्न जाँदै छाँै । यदि सो प्रतियोगितामा हामी शीर्ष चारभित्र मात्र पर्न सके चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पाउछौँ । त्यो अवस्थामा अहिले नेपालमा उपलब्ध भौतिक पूर्वाधार तथा अन्य तत्त्वहरूले पुग्दैन । एकदिवसीय मान्यतालाई टिकाइराख्नु चुनौतीपूर्ण हुनेछ । त्यसैले घरेलु क्रिकेटको संरचना बलियो बनाउनुपर्छ । साथै खेलाडीलाई आकर्षक सुविधा प्रदान गरिनुपर्छ । यो पक्षमा अहिलेदेखि नै गम्भीर भएर सोच्नुपर्छ ।

क्रिकेट विकासका लागि सरकार र क्यानले तत्कालै गर्नुपर्ने काम के छन् ? 
घरेलु क्रिकेटको संरचनामा ध्यान दिइहाल्नुपर्छ । साथै भौतिकपूर्वाधारको विकास जरुरी छ । क्रिकेट विकासको मुख्य जरो भनेको स्कुल क्रिकेट हो । यसलाई अगाडि बढाउनुपर्छ । क्लब, जिल्ला तथा क्षेत्रीयस्तरको क्रिकेट सञ्चालनमा ल्याउनुपर्छ । युवा क्रिकेटरलाई कसरी राष्ट्रिय टोली आउन सकिन्छ भन्ने कुनै बाटो देखाइएको छैन । त्यो बाटो बनाउनुपर्छ ।

हाम्रा क्रिकेटरले भविष्य सुनिश्चत छैन भनेर गुनासो गर्छन्, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? 
मेरो विचारमा यदि नेपाल न्युजिल्यान्डमा हुने विश्वकप छनोटको शीर्ष चारमा अटाउनसक्यो भने यहाँको क्रिकेट वातावरण नै फरक हुनेछ । आइसिसीले खेलाडीलाई पनि बजेट दिन्छ । सोही समयमा क्यान, परिषद् र सरकारले व्यावसायिकतालाई ध्यान दिनुपर्छ । निजी क्षेत्रले खेलाडीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । केहीले त निजी क्षेत्रमा जागिर पाइसके । जसरी हुन्छ, क्रिकेटलाई व्यावसायीकरण गर्नुको विकल्प छैन ।

जब नेपाल विश्वकपमा छनोट भएर घर फर्किएको थियो, विमानस्थलबाहिर समर्थकको भीड देख्दा कस्तो अनुभव भयो ? 
त्रिभुवन विमानस्थलबाहिर हामीलाई क्रिकेट समर्थकबाट भएको स्वागत अवश्य पनि भव्य थियो । यसभन्दा अगाडि डिभिजन ४ र डिभिजन ३ को विजेता भएर नेपाल फर्कंदा यस्तै स्वागत भएको हुनाले हामीले यसको अपेक्षाचाहिँ गरेका थियौँ । बाहिर सबै समर्थक खुसीले नाचेर बसेका थिए । मौसम जस्तोसुकै चिसो भए पनि क्रिकेटरलाई स्वागत गर्न उनीहरू घन्टाँैदेखि कुरिरहेका थिए । म उनीहरूलाई धन्यवाद दिन चाहन्छु । यो एउटा नेपाली क्रिकेटको महान् पक्ष हो ।

नेपाली समर्थकले तपाईंको नाम लिएर पनि नारा लगाएको थाहा पाउनुभयो ?
मलाई नेपाली त्यति आउँदैन । केही साथीको सहयोगमा समर्थकले मेरो पक्षमा बोलेको थाहा पाएँ । नेपालको क्रिकेट विकास गर्नु नै मेरो लक्ष्य हो । यसै कामका लागि हिँडिरहेको छु । यदि मेरो कामबाट क्रिकेट समर्थक खुसी छन् भने उनीहरूलाई धन्यवाद दिन चाहन्छु ।

नेपाली क्रिकेट समर्थक तपाईंलाई कस्ता लाग्छन् ?
नेपाल पनि एउटा एसियाली मुलुक हो, जहाँ क्रिकेटलाई माया गर्नेहरू धेरै छन् । म सधैँ भन्ने गर्छु, नेपालको क्रिकेट विकासमा यहाँको क्राउडको भूमिका पनि उत्तिकै छ । नेपाललाई यो लाभको कुरा हो । अन्य एसोसिएट राष्ट्रमा यस्तो क्रिकेट क्रेजी समर्थक छैनन्, जुन नेपालसँग छ । अहिले क्रिकेट व्यावसायीक रूपमा अगाडि बढिरहेको छ । यस लाइनमा नेपाल हिँडिरहेको छ । आइसिसीले पनि नेपालको यही पक्ष मनपराएको छ । राष्ट्रिय टिम सही गन्तव्यतर्फ लागिरहेको छ ।

यसअघि क्यानाडामा प्रशिक्षण दिँदा र अहिले नेपालमा काम गर्दा के फरक पाउनुभएको छ ?
क्यानडा सधैँ राम्रो टोली नै हो । तर, त्यहाँ स्थानीय खेलाडीको बाहुल्यता छैन । धेरैजसो खेलाडी माइग्रेटस् भएर आएका मात्र छन् । धेरै कम खेलाडी मात्र स्थानीयस्तरबाट टोलीमा आउनेगर्छन् । आफ्नै खेलाडी नहुनु क्यानडाको नकारात्मक पक्ष हो । नेपालको कुरा गर्दा भने नेपालीसँग सबै स्थानीय खेलाडी छन् । त्यसैले उनीहरूमा राष्ट्रियताको भावना प्रवल छ । यही ठूलो भिन्नता हो ।

तपाईंको नेपाल बसाइ कति लामो होला ?
यो प्रश्नको उत्तर मसित छैन । (मुसुक्क हाँस्दै) खै आउने चार महिनासम्म होला कि ? यहाँ म रमाइरहेको छु । नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाइरहेको छु । तर, मेरो परिवार क्यानाडामा छ । उनीहरूलाई मिस गरिरहेको छु । मेरा बालबच्चा बाबुको प्रतीक्षामा छन् । उनीहरूलाई भेट्ने इच्छा छ ।

परिवारलाई नेपाल ल्याउने योजना छैन ?
योजना छ । तर, क्यान र सरकारले कस्तो सहयोग गर्नेछ, सोहीअनुसार चल्नुपर्छ । क्यानले राम्रो सुविधा दिएको अवस्था मैले आफ्नो परिवारलाई यही बोलाउनसक्छु ।

अहिले क्यानबाट प्राप्त सुविधाबाट खुसी हुनुहुन्छ ?
मैले पहिला पनि भन्ने गरेको थिएँ, नेपालमा कुनै सुविधा खानका लागि आएको हैन । क्यानडामा भन्दा घटेर आएको हुँ । यहाँ केवल नेपाली क्रिकेटको विकास गर्न आएको हँु । नेपालमा आएर धनी हुनु छैन । मलाई थाहा छ नेपालले क्रिकेटमा धेरै लगानी गरेको छैन । नेपाल एकदिवसीय टोली पनि होइन । क्यानडा एकदिवसीय टोली हो । उनीहरूसँग पैसा छ । तर, म खुसी छु । यहाँ बस्नुको भावनात्मक कारण छ ।

सरकारले खेलाडीलाई दश लाख दिने तर प्रशिक्षकलाई पाँच लाख रुपैयाँ मात्र दिने घोषणालाई बाहिर आलोचना भइरहेको छ । यसबाट तपाईंले चित्त दुखाउनुभएको छ कि छैन ? 
यो सरकारको कुरा हो । मेरो हातमा हुने होइन । मेरो लक्ष्य पूरा भइसकेको छ । नेपाललाई यहाँसम्म ल्याउन खेलाडीले कडा मिहिनेत गरेका छन् । उनीहरूले पुरस्कार पाउनुपर्छ । सरकारले मलाई पनि हेरेकोमा धन्यवाद छ । त्योभन्दा पनि खेलाडीलाई हेरेकोमा खुसी छु । धेरै वा थोरै भन्ने कुरामा म जान चाहन्नँ ।

दुई वर्षको नेपाल बसाइका क्रममा दु:खसुखका अनुभव के छन् ?
यो दुई वर्षमा म निकै रमाएँ । प्रशिक्षणमै व्यस्त छु र आनन्द लिइरहेको छु । तर, अरू वातावरण भने खल्लो लाग्छ । मलाइ होटल व्यवस्था राम्रो लागिरहेको छैन । लामो समयसम्म होटलमा राखिनु राम्रो होइन । त्यो असहज भइरहेको छ । व्यक्तिगत कुरा गर्दा म एक बुद्धिष्ट हँु । बुद्धको नियम फलो गर्छु । बुद्ध जन्मेको मुलुकमा आएर काम गर्न पाउँदा धेरै खुसी तथा गर्व गरिरहेको छु ।

- चिरञ्जीवी पौडेल/श्रीलोचन राजोपाध्याय

Comment