Thursday , December 14 2017
Home / Featured News / म राष्ट्रपतिका लागि योग्य छैन : नेपाल

म राष्ट्रपतिका लागि योग्य छैन : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू राष्ट्रपतिका लागि योग्य नभएको बताएका छन्। आफू कुन कारणले राष्ट्रपतिका लागि योग्य नभएको भन्ने विषयमा उनले केहीपनि खुलाएनन्। विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले राष्ट्रपति आफूलाई चाहिन्छ भन्ने पक्षमा एमाले नरहेको समेत स्पष्ट पारे।

‘एमाले जनताले दिएको म्यान्डेड अनुसार अघि बढ्नु पर्छ भन्ने पक्षमा छ,’ नेता नेपालले भने, ‘ जनताले दिएको म्यान्डेडलाई आधार बनाएर अघि बढ्न हामी प्रतिवद्ध छौं, जनभावनलाई कुठाराघात गर्ने काम कहिल्यै गर्दैनौं।’

जनभावनाको कदर गर्दै राष्ट्रपतिले तत्काल राजिनामा दिनु पर्ने एमालेको मुख्य माग रहेको नेता नेपालले दोहोर्याए। पहिलो संविधानसभाले संविधान दिन नसकेका कारण त्यही संविधानसभाबाट बनेका राष्ट्रपतिले राजिनामा दिनु अपरिहार्य छ,’ उनले भने। अहिलेसम्म एमालेले कानुन सम्मत कुरा उठाएकाले राष्ट्रपतिले कुनैपनि हिचकिचाहट नगरिकन राजिनामा दिनु उत्तम हुने उनको तर्क छ।

नेता नेपालले नेपाली काँग्रेसलाई सरकार गठनका लागि ठोस धारणा ल्याउन आग्रह समेत गरेका छन्। संविधानसभा निर्वाचन सम्पन्न भएको लामो समय भइसकेपनि काँग्रेसकै कारण सरकार गठन हुन नसकेको उनको भनाइ थियो। ‘काँग्रेस ठोस निर्णय ल्याएर सरकार बनाउने पक्षमानै छैन,’ उनले भने, ‘त्यही भएर संविधान निर्माणका सबै प्रक्रिया ओझेलमा परिरहेका छन्। ‘

नेपालले एमालेको नवौं महाधिवेशनबाट पार्टीमा भएका सबै विवाद अन्त्य हुने दाबी समेत गरे। आफू अध्यक्षको प्रत्यासी रहेका कारण त्यहाँबाट पछि हट्न नसकिने उनको भनाइ छ। जनभावना अनुरुप पार्टीको महाधिवेशन सम्पन्न हुने बताउँदै उनले एमाले कुर्सीका लागि मरिहत्तै गर्ने पार्टी नभएको बताए ।

नवौं महाधिवेशन पार्टीको भविष्यसँग जोडिएको विषय भएकाले पार्टीलाई साख जोगाउन पनि एमालेको अध्यक्ष आफू नै हुनु पर्ने उनको दाबी छ। अबको महाधिवेशनबाट एमाले थप सशक्त अघि बढ्ने नेता नेपालको भनाइ छ।

Comment