Thursday , December 14 2017
Home / Australia / महानायकले सिड्नीमा जन्म दिन मनाए

महानायकले सिड्नीमा जन्म दिन मनाए

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले सिड्नीका दर्शकहरुमाझ आफ्नो ५० औँ जन्मदिन मनाएका छन् । ८ जुन शनिबार सिड्नीको दक्षिण हर्सभिलमा रहेको माराना अडिटोरियममा भएको कार्यक्रममा हमालले केक काटेर जन्मदिनको खुशी साटेका हुन् । कार्यक्रममा हलमा उपस्थित सयौँ दर्शकले ताली बजाएर हमाललाई जन्म दिनको शुभकामना दिएका थिए । उक्त क्षणमा गायक राजेश पायल राईले जन्मदिनको गीत गाउँदा दर्शकहरु सबैले उठेर साथ दिएका थिए । Rajesh hamal cake  cutting

कार्यक्रममा हमालले आफ्नो अभिनय यात्राको बारेमा बोल्दै नेपाली राष्ट्रिय भावनाको कविता सुनाएका थिए । नृत्यका साथै आफूले अभिनय गरेको केही चलचित्रका सम्वाद पनि अभिनय गरेर सुनाएका थिए । कार्यक्रममा बोल्दै हमालले अस्ट्रेलियामा नेपाली समुदायको प्रगति देखेर आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका थिए ।
नेपाली टच अस्ट्रेलियाले महानायक राजेश हमालको ५० औँ जन्म उत्सव र नेपाली चलचित्रमा अभिनय यात्राको २५ औँ वार्षिक उत्सव मनाउन यो कार्यक्रमको आयोजना गरेको हो । यो कार्यक्रमलाई गायक राजेश पायल राई र गायिका अञ्जु पन्तले पनि साथ दिएका छन् । दुवै गायकगायिकाले एक दर्जन भन्दा बढी एकल तथा युगल गीत उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । आयोजकहरुले महानायकको सिड्नीमा भव्य स्वागत गरेका थिए । हमाल र अन्य कलाकारहरुलाई सिड्नी विमानस्थलबाट लिम्बोजिन कारमा राखेर ओपेरा र हार्वर ब्रिज घुमाइएको थियो ।

नेपाली टचका दिपेश पुनका अनुसार, राजेश हमालको अस्ट्रेलिया यात्रा दक्षिण अस्ट्रेलियाको एडिलेटबाट शुरु भएको हो । यही जुन १ आइतबार एडिलेडको कार्यक्रम सकेर उनीहरु ७ जुनमा तास्मानियाको लनचेष्टनमा गएका थिए । सिड्नीको कार्यक्रमपछि जुन ९ का दिन मेलबर्नमा कार्यक्रम भएको थियो भने जुनको १४ मा ब्रिसबेन र १५ मा पर्थमा कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् । यस्ता कार्यक्रमले नेपाली चलचित्र जगतलाई टेवा पुग्ने त छँदैछ र कलाकारहरुको पनि सम्मान हुने पुनको भनाइ रहेको थियो । भर्खरै विवाह बन्धनमा बाँधिएका राजेश हमाल एक्लै अस्ट्रेलिया यात्रामा आएका हुन् । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु ईश्वर पोखरेल र मञ्जु पौडेलको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा ‘नाई नभन्नु ल २’ का निर्माता दिनेश पोखरेललाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने नायक हमाललाई २५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको थियो । यस्तै रेडियोकर्मी टीका कार्कीलाई सम्मन गरिएको थियो ।

 

Comment