Tuesday , December 12 2017
Home / PaperPublished / भट्टराई र श्रेष्ठमाथि दोष थोपर्दै दाहाल: अन्नपूर्ण पोष्ट

भट्टराई र श्रेष्ठमाथि दोष थोपर्दै दाहाल: अन्नपूर्ण पोष्ट

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनमै नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन्। ‘पार्टीमा नोकरशाही केन्द्रीयता, आम अराजकता र आर्थिक प्रदुषण’ देखिएको भन्दै दाहालले आत्मसमीक्षा थालेका हुन्।

भट्टराईले निर्वाचनका बेला उपाध्यक्ष पदबाट त्यागपत्र दिएको घोषणा गरी पार्टीलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको आरोप दाहालको छ। श्रेष्ठको नाम उल्लेख नगरी तर सबै नेताले बुझ्ने भाषामा ‘पार्टी निर्णयविपरित सार्वजनिक अभिव्यक्तिले पार्टीलाई कमजोर बनाएको’ दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन्। श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अध्यक्षको प्रतिवेदनमा मेरो आलोचना गरिएको छैन।’

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको पूर्वपोलिटब्युरोका सदस्यहरूको बैठकमा ‘संविधानसभा निर्वाचनको समीक्षा र पार्टी पुनर्निर्माणको ऐतिहासिक आवश्यकतासम्बन्धी राजनीतिक र संगठनात्मक प्रस्ताव’ शीर्षकको प्रतिवेदन पेश गर्दै दाहालले ‘अध्यक्षले मात्रै आत्मालोचना गरेर पुग्दैन, सबैले गर्नुपर्छ, म मेरो हिस्सामा पर्ने जिम्मेवारी लिएर आत्मआलोचित हुन तयार छु’ भनेका थिए।

उनले भट्टराई र श्रेष्ठले यसअघि नेतृत्व क्षमतामाथि प्रश्न उठाउने क्रममा व्यक्त सैद्धान्तिक विषयलाई प्रतिवेदनमा समेटेर फरक मतका लागि बाटो छेक्ने प्रयास गरेका छन्। भट्टराईले उठाउँदै आएको लोकतन्त्रको अभ्यास गर्नु पर्ने बिषयलाई सम्बोधन गरिएको छ भने राष्ट्रियता प्रति चनाखो हुनु पर्ने प्रस्ताव गर्दै दाहालले श्रेष्ठको धारणा समेटेका छन्।

‘मैले उठाउँदै आएका बिषय र विचार अध्यक्षको प्रतिवेदनमा समावेश गरेको पाएँ। केही विषय परिमार्जन गर्न म आफनो धारणा राख्नेछु। परिमार्जन हुने मलाई विश्वास पनि छ, त्यसैले मैले छुट्टै प्रतिवेदन लेख्नु परेन,’ श्रेष्ठले भने।

दाहाले निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक र बाहय गरी २२ कारण पहिचान गरेका छन्। ‘आन्तरिक कमजोरी माथि टेकेर बाहय षडयन्त्र भयो। बाहय षडयन्त्र माफ गर्ने खालको छैन, गम्भीर प्रकृतिको छ, सच्चा कम्युनिस्टले निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने खालको अवस्था देखियो’, प्रतिवेदनमा उल्लेख छ।

आफूलाई संविधानसभाको बाहक शक्ति दाबी गर्दै दाहालले ‘संविधानसभा असफल पार्ने प्रतिगामी षडयन्त्रका संकेत देखिएका’ उल्लेख गरेका छन्। उनले संविधान निर्माणमा सक्रियतापूर्वक सहभागी हुने प्रस्ताव गरेका छन्।

बहुमतीय सरकार बन्दा आफूहरु प्रतिपक्षमा बस्ने र सहमतीय सरकार बन्दा लचिलो बन्ने प्रस्ताव दाहालले ल्याएका छन्। ‘सरकारमा जानु हुँदैन तर संविधान निर्माण र राष्ट्रिय सहमतिको बाधक पनि हुनुहुँदैन’, प्रस्तावमा उल्लेख छ, ‘सबै दलको सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति नयाँ निर्वाचित हुनुपर्छ।’

पार्टीलाई रुपान्तरण र सुदृढ बनाउन एमाओवादीको केन्द्रीय समितिमा रहेका एक सय ६८ जना घटुवामा पर्ने भएका छन्। दाहालको प्रस्तावमा ९९ सदस्यीय केन्द्रीय समिति, ५१ सदस्यीय जिल्ला कमिटी, २५ सदस्यीय गाउँ र नगर कमिटी बनाउने उल्लेख छ। राज्य समिति र निर्वाचन क्षेत्रस्तरीय कमिटीलाई समन्वय समितिको रुपमा राखिने प्रस्ताव दाहालले ल्याएका छन्।

प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रस्तावमा कार्यकर्ताको परिभाषा, कार्यविभाजन, पार्टी एकता र पार्टी पुननिर्माणको प्रक्रियालाई नयाँ ढंगले गर्ने उल्लेख छ।

रेवती सापकोटा

Comment