Thursday , December 14 2017
Home / Featured News / बैशाखमा स्थानीय निर्वाचन र संबिधान जारिपछि राष्ट्रपति निर्वाचन गर्ने कांग्रेस एमालेबीच भद्र सहमति

बैशाखमा स्थानीय निर्वाचन र संबिधान जारिपछि राष्ट्रपति निर्वाचन गर्ने कांग्रेस एमालेबीच भद्र सहमति

प्रमुख दुई दल कांग्रेस र एमालेबीच कांग्रेस नेतृत्वमा सरकार गठन गरी एक वर्षभित्रै संविधान जारी गर्ने र वैशाखमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ। कांग्रेस र एमालेका शीर्ष नेताको सोमबार संविधानसभा भवन नयाँबानेश्वरमा भएको बैठकमा कांग्रेस सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने र नभए बहुमतीय सरकार गठन गर्ने सहमति भएको हो।

राष्ट्रपति रामवरण यादवले एक साताभित्र सहमतीय सरकार गठन गर्न आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरेका थिए।

एमाले नेता भरतमोहन अधिकारीका अनुसार यसका लागि एमालेले कांग्रेससँग समर्थनको आग्रह गर्दै औपचारिक पत्र पनि मागेको छ। कांग्रेस नेता मीनेन्द्र रिजालले सोमबार नै एमालेलाई औपचारिक पत्र पठाइसकिएको जानकारी दिए। बैठकमा सहभागी अधिकारीले अन्नपूर्णसँग भने, ‘राष्ट्रपतिले आह्वान गरेझैं संविधानको धारा ३८ (१) बमोजिम कांग्रेस सभापति कोइरालाको नेतृत्वमा सहमतिको सरकार गठन गर्न दुवै दलले आवश्यक भूमिका निर्वाह गर्ने सहमति भएको छ।’

बैठकको सुरुमै कांग्रेस सभापति कोइरालाले संविधानसभा निर्वाचनमा प्राप्त परिणामअनुसार आफूलाई सहमतीय सरकारको नेतृत्वका लागि समर्थन गर्न प्रस्ताव गरेको अधिकारीले बताए। त्यसको समर्थन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीको स्थायी समिति बैठक मंगलबार बस्ने भएकाले त्यसअघि नै आधिकारिक पत्र पठाउन कांग्रेस नेतालाई सुझाउ दिएका थिए।

बैठकपछि कोइरालाले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न एमाले सहमत भएको जानकारी दिए। उनले भने, ‘केही दिनभित्रै सहमतिको सरकार गठन गर्न कांग्रेसले अन्य दलसँग पनि वार्ता प्रक्रियालाई निरन्तरता दिनेछ।’ एमालेले यसअघि माग गर्दै आएको प्याकेज प्रस्तावबारे जिज्ञासा राख्दा कोइरालाले भने, ‘जनादेशअनुसार दुई पार्टीको पहलमा सरकार गठनभन्दा अरू के खाका चाहियो र?’

एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले स्थायी समितिको मंगलबार बस्ने बैठकले कांग्रेसको आग्रहअनुसार कोइरालाको नेतृत्वमा सरकार गठनका लागि सहमति जनाउने जानकारी दिए। उनले एमालेको मागअनुसार कांग्रेसले सहमतिका लागि खासै अजेन्डा नल्याए पनि केही प्रस्ताव भने ल्याएको बताए। उनका अनुसार ती प्रस्तावमा एक वर्षभित्र संविधान, कांग्रेस नेतृत्वमा सरकार र वैशाखमा स्थानीय चुनाउ हुन्।

उनले मंगलबार स्थायी समितिको बैठकबाट एमाले संसदीय दलको नेता सर्वसम्मत चयन हुने दाबी गरे। सर्वसम्मत नभए आफूले पनि उम्मेदवारी दिने उनले बताए।

राष्ट्रपति चुनाउबारे ‘भद्र सहमति’

एमालेले बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने अडान कायमै राखेको थियो। कांग्रेस नेताले एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति चुनाउ गर्न आफ्नो दल तयार भएको तर संविधान संशोधन गरेर अहिले नै गर्न भने कुनै हालतमा तयार नहुने बताएका थिए।

बैठकमा यसबारे दुवै दलले आआफ्ना अडान राखेको एमाले उपाध्यक्ष गौतमले बताए। ‘यो सार्वभौम संसद् हो। त्यसैले यसका सभासद्ले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सक्छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे हामी उपयुक्त बाटो निकाल्छौं’, गौतमले भने, ‘उपयुक्त बाटो के हुनसक्छ भन्ने संसद्मै देखिनेछ।’

कांग्रेस नेता रिजालले राष्ट्रपति निर्वाचनको विषयले खासै समस्या नल्याउने बताउँदै कांग्रेस र एमालेबीच सबै विषयमा मिलेरै अगाडि बढ्ने समझदारी भएको जानकारी दिए।

कांग्रेस सभासद् अमरेशकुमार सिंहले एमाले अडानको निकासका लागि संविधान जारी भएपछि वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिले राजीनामा गर्नुपर्ने विषयमा ‘भद्र सहमति’ हुनसक्ने बताए।

राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा एमालेले कांग्रेसबाट लिखित प्रतिबद्धता मागिरहेको संकेत आफूले पाएको पनि उनले बताए। सिंहका अनुसार एमाले नेताले सरकारको नेतृत्व कांग्रेसले गरेपछि आफ्नो दललाई गृह र अर्थ मन्त्रालय दिनुपर्ने अडान राखेका छन्। उनले संविधानसभा अध्यक्ष एमालेका तर्फबाट हुने पनि बताए।

Comment