Tuesday , December 12 2017
Home / Featured News / बाबुराम भट्टराईले के भने कलेज पढ्ने विद्यार्थीलाई

बाबुराम भट्टराईले के भने कलेज पढ्ने विद्यार्थीलाई

‘अन्वेषक बन, रोजगारी खोज्नभन्दा सिर्जना गरी अरूलाई रोजगारी देऊ’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार काठमाडौं विश्वविद्यालयका व्यवस्थापन संकायका विद्यार्थीलाई पढाउँदै थिए, ‘हाम्रो पुस्ता राजनीतिक संघर्षमा केन्द्रित रह्यो, तपाईंहरूको पुस्ता आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित होस्।’

व्यवस्थापन संकायका विद्यार्थीलाई पढाउँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

 युवा विद्यार्थीलाई भविष्यप्रति आशावादी बनाउने गरी उत्साह जगाउने प्रयास गरेका भट्टराईले कक्षामा नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको व्यावसायिक नेतृत्वदायी भूमिका शीर्षक पढाएका थिए। भट्टराईले समस्याको प्रकृति र वर्तमान अवस्था, नेपालका लागि विकास नीति, व्यावसायिक युवा नेतृत्वबारे व्याख्या गरेका थिए।

एक वर्षभित्र विश्वमा २५ वर्षमुनिका युवाको संख्या तीन अर्ब पुग्नेछ। विश्वका ८७ प्रतिशत युवा विकासोन्मुख मुलुकमा बस्छन्। नेपालमा १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानिएको छ। नेपालमा नकुल जनसंख्याको ३९ प्रतिशत युवा छन्। ५० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा छन्। उनीहरूबाट नेपालमा वार्षिक पाँच सय अर्ब विप्रेषण भित्रिन्छ। वार्षिक पाँच लाख युवा बर्सेनि बिदेसिन्छन्।

‘ब्रेन ड्रेन’ को समस्याप्रति भट्टराई निकै गम्भीर देखिए। उले विदेशी पुँजी भित्र्याउन आफूले भारतसँग गरेको विप्पा विवादित बनेको पनि विद्यार्थीलाई स्मरण गराए। ‘तपाईं नेपालमा बस्नुपर्छ, स्वरोजगार बन्नुपर्छ। जागिरे मानसिकता त्याग्नुस्। आफैं व्यवसायी बन्नुस्’, भट्टराईले भने, ‘दुई अंकको आर्थिक वृद्धि हासिल गर्न हामीलाई सात खर्ब रुपैयाँ चाहिन्छ। त्यसका लागि विदेशी पुँजी र प्रविधि नभित्र्याएसम्म विकास हुँदैन। आगामी दिनमा सरकारलाई म त्यस्तो नीति अवलम्बन गर्न सिफारिस गर्छु।’

बेलायती पूर्वप्रधानमन्त्रीद्वय गोर्डन ब्राउन र टोनी ब्लेयर, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानसहित विश्वका चर्चित नेताले ‘भिजिटिङ् प्रोफेसर’ का रूपमा विश्वविद्यालयमा विद्यार्थीसँग अनुभव साट्ने प्रचलन पछ्याउँदै भट्टराईले नेपालमा यस्तो अभ्यास थालेका हुन्।

भट्टराईले पुँजीवादी अर्थतन्त्रको विकास गरेको भारत र समाजवादी अर्थतन्त्र अवलम्बन गरेको चीनबीचमा रहेको नेपालमा पुँजीवाद र समाजवादका गुणबाट लाभ लिन गतिशील पुल बन्नुपर्नेमा विद्यार्थीलाई सुझाउ दिए। ‘थोरै व्यक्ति धनी हुने प्रणाली दिगो हुँदैन। सामाजिक सुरक्षालाई पनि ध्यान दिनुपर्छ। पुँजीवादमा समाजवादका गुण समावेश गर्नुपर्छ’, भट्टराईले भने, ‘पुँजीवाद र समाजवादी प्रणाली अवलम्बन गरेका हाम्रा छिमेकीबाट हामीले लाभ लिन सक्नुपर्छ।’

करिब एक सय विद्यार्थीलाई पढाएर संविधानसभा बैठकमा जान हतारिएका भट्टराईलाई विद्यार्थीका जिज्ञासा शान्त पार्न १५ मिनेट छुट्याउन करै लाग्यो। ‘नेता बन्न कुनै परीक्षा पास गर्नुपर्छ कि पर्दैन?’, एकजना विद्यार्थीले विगतमा बुर्जुवा शिक्षा बहिष्कार गर्न लगाएर युवा विद्यार्थीलाई बन्दुक बोक्न उत्प्रेरित गराएका भट्टराईलाई प्रश्न सोधे।

हाँसोको फोहोराका बीच भट्टराईले जबाफ फर्काए, ‘एकपटक नेता भएपछि सधैं भइरहने सामन्ती प्रवृत्ति हो। त्यसैले म तपाईंहरूको बीचमा आएर परीक्षा दिइरहेको छु।’ उनले १२ जनाभन्दा बढी विद्यार्थीको जिज्ञासा शान्त पारेका थिए।

पढाएर बाहिर निस्कने क्रममा भट्टराईलाई पत्रकारले पनि प्रश्न तेस्र्याए। राजनीतिक नेता भएर पनि किन क्याम्पसमा पढाउन आउनुभएको? ‘समय निकालेर विश्वविद्यालयका विभिन्न फ्याक ल्टीमा गएर विद्यार्थीसँग अन्तरक्रिया गर्ने मैले योजना बनाएको हुँ’, भट्टराईले जबाफ दिए, ‘पढाउन होइन। म पढ्न र सिक्न आएको हुँ। नवयुवासँग विचार आदानप्रदान र अन्तरक्रिया गर्नाले ज्ञान अभिवृद्धि गर्न मद्दत पुग्छ।’ यसअघि उनले यस्तै दुईवटा कक्षामा पढाइसकेका छन्। उनले यसलाई निरन्तरता दिइने पनि बताए।

Comment