Wednesday , September 19 2018
Home / Featured News / फ्रेन्च नागरिकको नेपालमा खेती

फ्रेन्च नागरिकको नेपालमा खेती

franswaपहिलोपटक नेपाल आउँदा फ्रान्सेली तन्नेरी फ्रान्स्वा डाइहार्ट, ३१, ले केही दिन घुमौँला र पुरानै काममा फर्कौंला भन्ने मात्र सोचेका थिए। तर, उनको मन काठमाडौँले अचम्मसँग खिच्यो। त्यत्तिकै कसरी बस्ने ? त्यसको उत्तर फेला पारे उनले, गाई पाल्ने, चिज बनाउने, बेच्ने र धेरथोर कमाउने।

विजनेस विक र मियामी हेराल्डजस्ता पत्रिकाका आर्थिक संवाददाता थिए उनी। विकासशील मुलुकहरूमा लगानीका सम्भावना विषयमा विभिन्न रिपोर्टहरू तयार पारेरै उनले एक दशक बिताए। चिज एकदमै रूचाउँथे उनी। तर, जागिरे व्यस्तताले गर्दा चिज बनाउने सिप सिक्ने पर्याप्त समय पाएनन् उनले। एकदिन त्यो व्यस्तता छाडेर निस्किए। भन्छन्, “सहरमा बस्ने, बिहान अफिस धाउने र साँझ र्फकने काम मलाई कत्ति मन परेन।”

फ्रान्स्वाले हिमालयन फ्रेन्च चिज नामक कम्पनी स्थापना गरेका छन्, काठमाडुंको टोखामा। जग्गा भाडामा लिएपछि सन् २००७ मा टोमी डी सेभई नामको हल्का कडा चिज बनाउने परम्परागत सिप सिक्न उनले फ्रान्सका पहाड घुमे।

सुरुमा उनले गाउँलेहरूबाट दूध किनेर चिज बनाएका थिए। तर, दूध राम्रो नभएपछि टोखामा ६ हेक्टर जग्गा भाडामा लिए। बाँसको खपटाले गोठ बनाए, त्यहाँ २० वटा गाईका साथै ६ वटा बाख्रा, २० वटा लोकल हाँस, भेडा, खरायो र बंगुर पाले।

टोखाको चिसो हावा र गाउँले वातावरणका कारण सुरुका दिनमा उनी हौसिएका थिए। तीन वर्ष गाई पालेपछि भने उनी विरक्तिए। अहिले उनको गोठमा गाई छैनन् तर चिज उत्पादन भने जारी छ।

उनी टोखावरपरका स्थानीयबाट दैनिक औसत दुई सय लिटरसम्म दूध किन्छन् र चिज बनाउँछन्। दिनहुँ २० किलोजति चिज उत्पादन भइरहेको छ। उनले आफ्नो फार्ममा ६ जनालाई रोजगारी दिएका छन्। हिमालयन चिज काठमाडौँकै स्थानीय बजारमा खपत हुन्छ। भारतका तारे होटलबाट समेत चिजको माग हुन थालेको उनी सुनाउँछन्।

परम्परागत फ्रान्सेली विधिबाट बनाइएको चिजको स्वाद असली हुने उनको भनाइ छ। भन्छन्, “नेपालीहरू भात मात्रै खान्छन्, फ्रान्सेलीहरू भने पाउरोटी र चिज खाएर हुर्कन्छन्।” फ्रान्स्वालाई धेरैले सोध्छन्, किन त्यस्तो धनी र सम्पन्न देश छाडेर नेपाल आएको ? किन यस्तो दुःख गर्नुपरेको ? उनीसँग तिनका लागि दिने तयारी जवाफ छ, “काम गरेर खान आएको।” उनको उत्तर सुनेर मान्छे छक्क पर्छन्। उनी हाँस्दै भन्छन्, “खासमा नेपालमा म आनन्द खोज्न आएको हुँ।”

http://www.youtube.com/watch?v=wekOcSO4-sw[/embed

One comment

  1. May we learn from this guy.

Comment