Tuesday , December 12 2017
Home / Featured News / प्रधानमन्त्री कोइरालाद्वारा भारतीय प्रधानमन्त्री सिंहसँग भेट

प्रधानमन्त्री कोइरालाद्वारा भारतीय प्रधानमन्त्री सिंहसँग भेट

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जलविद्युत परियोजना विस्तार गर्न आग्रह गरेका छन्। म्यानमारको राजधानी नेप्यितमा सोमबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्दै सिंहले जलविद्युत परियोजना विस्तारबाट मात्र नेपालले दु्रत आर्थिक विकास गर्न सक्ने जनाएका हुन्।BhzV9DrCAAA8knG

प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच त्यही भेटवार्ता भएको हो ।  भेटमा दुई देशबीचको आपसी हितबारे कुराकानी भएको थियो ।

भेटपछि भारतीय प्रधानमन्त्री सिंहको कार्यालयले आफ्नो ट्वीटर ह्यान्डिलबाट भेटवार्ताको तस्बिर सार्वजनिक गरेको छ । ट्वीटमा लेखिएको छ ‘चुनावमा विजयी भएकोमा बधाइ छ । म तपाईको सफलताको कामना गर्दछु ।’

उनले जलविद्युत परियोजना विस्तारमा सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन म्यानमार पुगेका कोइराला र सिंहबीच २० मिनेट भेटवार्ता भएको थियो। उक्त भेटवार्ता जलविद्युत परियोजना विस्तारमै केन्द्रित भएको घिमिरेले जानकारी दिए।

‘भारतले सहयोग गर्ने इच्छा देखाए पनि खास योजनामा केन्द्रित भएर छलफल भएन,’ उनले भने, ‘परियोजना विस्तार र सहयोगबारे कूटनीतिक च्यानलमार्फत कुराकानी अघि बढाउन नेताहरू सहमत भएका छन्।’

मंगलबार हुने बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सोमबार नेप्यित पुगेका हुन्। सोमबारै कोइराला र सिंहबीच बिमस्टेक सम्मेलनको ‘साइडलाइन’ मा द्विपक्षीय वार्ता भएको थियो। राजदूत घिमिरेका अनुसार भेटवार्ताको सुरुवातमै भारतीय प्रधानमन्त्रीले कोइरालालाई प्रधानमन्त्री निर्वाचित भएकामा बधाई दिएका थिए।

‘प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई छ। मलाई असाध्यै खुसी लागेको छ। तपाईंले लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व प्रदान गर्नुभएको थियो, अब नेपाल प्रगतिको बाटोतर्फ अघि बढ्छ भन्ने विश्वास लिएको छु,’ भेटवार्तामा भारतीय प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै राजदूत घिमिरेले भने।

भेटवार्तामा प्रधानमन्त्री कोइरालाले भारतसँग हुँदै आएको ‘व्यापार घाटा’ को विषय उठाएका थिए। उनले नेपालले व्यहोर्दै आएको व्यापार घाटा कम गर्दै लानुपर्ने प्रस्ताव राखेका थिए। जवाफमा भारतीय प्रधानमन्त्रीले ‘हुन्छ’ भनेको राजदूत घिमिरेले बताए।

‘भारतीय प्रधानमन्त्रीले भारतीय सहयोगमा काठमाडौंमा बनेको ट्रमा सेन्टर छिट्टै नेपाललाई हस्तान्तरण गर्ने तयारीमा आफूहरू रहेको बताउनुभयो,’ भेटवार्ताबारे राजदूत घिमिरेले भने, ‘प्रधानमन्त्रीज्यूले पनि आफूहरू जिम्मेवारी लिन तयार रहेको बताउनुभयो।’

भेटवार्तामा दुवै पक्षले नेपाल–भारत सहयोग तथा सहकार्यमा हुँदै आएका विकास निर्माणलाई निरन्तरता दिनुपर्नेमा सहमति जनाएका थिए। तराईमा निर्माणाधीन हुलाकी सडकलगायत विकास निर्माण अघि बढाउनुपर्ने भारतीय पक्षको भनाइ थियो। ‘जे–जेमा काम भएको छ, सबै अघि बढाउनुपर्छ भन्ने सहमति भयो,’ उनले भने।

भेटवार्ताकै क्रममा प्रधानमन्त्री कोइरालाले लामो समयदेखि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको स्मरण गराउँदै सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। सिंहले भने नेपाल आउने/नआउने बारे स्पष्ट जवाफ दिएनन्।

‘निर्वाचन नजिक आउँदैछ, म आउन मिल्ला–नमिल्ला, बरु तपाईं (कोइराला) भारत भ्रमणमा आउनुभए राम्रो हुन्थ्यो,’ सिंहले जवाफ दिए। कोइरालाले भने ‘त्यसो नगरौं’ भन्दै भारतीय समकक्षीलाई नै नेपालको भ्रमण गर्न आग्रह गरेका थिए।

कोइरालाले सोमबारै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि भेटवार्ता गरेका थिए। कोइरालाले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउने कुरा उठाए पनि भुटानी समकक्षी भने मौन बसे।

भुटानी प्रधानमन्त्रीले पनि कोइरालालाई बधाई दिँदै नेपालबाट आफूहरूले सिक्नुपर्ने धेरै कुरा रहेको बताएका थिए। नेपाल–भुटानबीच धेरै समान कुरा रहेको जनाउँदै भुटानी प्रधानमन्त्रीले तिनै कुराको अधिकतम उपयोग गर्दै दुई देश अघि बढ्नुपर्ने बताएका थिए। प्रधानमन्त्री कोइराला सोमबारै म्यानमारका राष्ट्रपतिले आयोजना गरेको रात्रि भोजमा समेत सहभागी भए।

प्रधानमन्त्री कोइरालाले मंगलबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि उनले म्यानमारका राष्ट्रपति थियन सेन, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

 

Comment