Monday , December 18 2017
Home / Featured News / पूर्वराजालाई सेरेमोनियल किंग नभए जनमत संग्रह : कमल थापा – अन्नपूर्ण पोष्ट

पूर्वराजालाई सेरेमोनियल किंग नभए जनमत संग्रह : कमल थापा – अन्नपूर्ण पोष्ट

Kamal Thapaराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजालाई राष्ट्रमा स्थान नदिए सदन र सडकमा कडा आन्दोलन छेड्ने बताएका छन्। समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा पार्टीमा चुनिएकालाई बधाइ तथा मतदातालाई धन्यवाद दिन राप्रपा काभ्रेद्वारा शुक्रबार बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पूर्वराजालाई ‘सेरेमोनियल किङ्ग’ को रूपमा भएपनि स्थान दिनुपर्ने बताएका हुन्।

‘संवैधानिक राजसंस्था सहितको प्रजातन्त्रका लागि पूर्वराजालाई सेरेमोनियल किङ्गका रुपमा राख्नैपर्छ,’ उनले भने, ‘राप्रपाको मूल एजेण्डा यही हो, अन्य पार्टीले नमाने यसका लागि सदन र सडकमा आन्दोलन छेड्न तयार हुन्छौँ।’

मूल एजेण्डा स्थापित गर्न आन्दोलनले पार नलागे अन्तिम हतियारका रुपमा जनमत संग्रहमा जाने अध्यक्ष थापाले बताए। उनले भने, ‘यो एजेण्डाप्रति जबरजस्ती गर्न खोजे जनमत संग्रहको अन्तिम हतियार प्रयोग गर्छौँ।’ सनातन हिन्दू राष्ट्र स्थापना गर्न र जातीय राज्यको विपक्षमा सदनमा पार्टीको महत्वपूर्ण भूमिका रहने उनको जीकिर थियो। उनले थपे, ‘मूल एजेण्डा प्राप्तिका लागि पार्टीको निति अबलम्बन गरी केही लचकता अपनाउन पनि सकिन्छ।’

राप्रपालाई कसरी राष्ट्रको पहिलो शक्ति बनाउने भन्ने प्रमुख चुनौति रहेको बताउँदै अध्यक्ष थापाले स्वागत र सम्मान खान नहिँडी त्यसतर्फ लाग्न सभासद्सँग आग्रह गरे। उनले भने, ‘पार्टीको कमजोर पक्ष, संगठन कमजोर हो, पार्टीलाई अबको चुनावमा राष्ट्रको पहिलो शक्ति बनाउनेतर्फ तपाईको ध्यान आजैबाट जानुपर्छ।’ सदनमा सिमित दलको एजेण्डा लाद्न खोजे पुनः राष्ट्र द्वन्दतर्फ धकेलिने बताउँदै संविधानसभा बहिष्कार गर्ने दललाई समेत समेट्ने गरी संविधान बनाउनुपर्ने उनको तर्क थियो।

Comment