Tuesday , December 12 2017
Home / Featured News / पार्टीलाई सुधार्नुपर्ने बेला आएको छ : नेता भट्टराई

पार्टीलाई सुधार्नुपर्ने बेला आएको छ : नेता भट्टराई

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले चुनावमा नागरिकले थप्पड हानेकाले पार्टीलाई सुधार्नुपर्ने बेला आएको बताउनुभएको छ ।

‘जनताले हामीसँग धेरै अपेक्षा गरेका थिए, तर अपेक्षा पूरा नभएपछि रिसाएका हुन्’ घ्याल्चोकको नेत्रज्योति प्राविको रजत जयन्ती समारोहमा भट्टराईले भन्नुभयो ‘तर यो थप्पडले हामीलाई सच्चिएर अघि बढ्नका लागि प्रेरित गरेको छ ।’

पार्टीभित्रको बहस पद र प्रतिष्ठाका लागि नभई नयाँ ढंगले अघि बढ्ने विषयमा केन्द्रित भएको भट्टराईको दावी छ । केही दिनपछि बस्ने केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

पार्टीभित्र चलेको बहसले नेतृत्वलाई सुधार्ने भट्टराईले बताउनुभयो । कम्युनिष्टहरु आफ्ना विचारहरु लुकाउँदैनन् भन्दै उहाँले अहिलेको बहस नीजि स्वार्थका लागि नभई पार्टी हितकै लागि केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

अहिलेको बहसले पार्टीमा विभाजन नआउने पनि उहाँको दावी छ । ‘जनताको रगत र पसिनाले बनेको पार्टी यति सजिलै फुट्दैन’ अध्यक्ष प्रचण्डतर्फ केन्द्रित गर्दै उहाँले भन्नुभयो ‘कतिपयले बहसलाई ‘विषयान्तर गर्नका लागि पार्टी फुट्ने हल्ला चलाएर कार्यकर्तालाई निराश बनाउन खोजेका छन् ।’

चुनावमा भएको पराजयलाई उहाँले आमाको थप्पडसँग तुलना गर्नुभयो । ‘आमाले हामीलाई आसाध्यै माया गर्नुहुन्छ, जस्तो दुख कष्टका बेलामा पनि खुवाउनुहुन्छ, हुर्काउनु हुन्छ’ भट्टराईले भन्नुभयो ‘तर कहिलेकाहीँ गल्ती भयो भने थप्पड पनि हान्नुहुन्छ ।’

भट्टराईले संविधानसभाको बैठक कसले बोलाउने भन्ने झिनामसिना विषयमा अलमलिन नहुने बताउनुभयो । कतिपय दलहरुमा सरकार बनाउने र गिराउने खालको पुरानो रोग देखिन थालेको भन्दै उहाँले आफ्नो पार्टी त्यस्तो फोहोरी खेलमा नलाग्ने पनि स्पष्ट पार्नुभयो ।

Comment