Monday , December 18 2017
Home / PaperPublished / नोबेल मेडिकल कलेजमा अख्तियारको छापा – अन्नपूर्ण पोस्ट

नोबेल मेडिकल कलेजमा अख्तियारको छापा – अन्नपूर्ण पोस्ट

विराटनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बुधबार छापा मारेको छ। अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख हरिराज पन्त नेतृत्वको टोलीले कलेजमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

सुनील शर्मा सञ्चालक रहेको मेडिकल कलेजले विद्यार्थीसँग नियमबिपरित भर्नाशुल्क लिएको उजुरीका आधारमा आयोगको केन्द्रीय निर्देशन अनुसार नै कागजपत्र नियन्त्रणमा लिइएको अख्तियार क्षेत्रीय प्रमुख पन्तले बताए।

कलेजको आर्थिक कारोवारविद्यार्थी भर्नाभवन निर्माणसमवन्धन लिँदाका कागजपत्र र राजस्व लगायतका कागजपत्र नियन्त्रणमा लिएर छानविन थालिएको अख्तियारका इन्जिनियर बिष्णु महर्जनले अन्नपूर्णलाई जानकारी दिए।

गएको साउन २२ गते ५० करोड रुपैयाँ बढी राजस्व ठगेको उजुरी परेपछि राजस्व अनुसन्धान इकाईले समेत नोबेल कलेजमा छापा मारेको थियो। नोबेललाई आय विवरण दाखिला गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले फाइल झिकाएर अनुसन्धान थालेको थियो ।

कलेजले आयकर, स्वास्थ्य सेवा कर र टीडीएस कर गरी करिब ३ करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने अनुसन्धानबाट देखाएको थियो।

कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले अख्तियारले काजगपत्र नियन्त्रणमा लिएको स्विकार गरे। ‘अख्तियार टोलीले कागज मागेपछि हामीले दियौं ’, उनले भने।

अख्तियार क्षत्रीय कार्यालयले कलेज सञ्चालक शर्मालाई पुराना कागजपत्र बुझाउन यसअघि नै आग्रह गरेपनि उनले अटेर गरेको अख्तियार स्रोतले जनाएको छ।

काठमाण्डौमा अख्तियारले बयानका लागि बोलाउँदा सञ्चालक शर्माले अख्तियार कर्मचारीलाई नै धम्क्याएपछि उनलाई हिरासतमा पठाइएको थियो।

शर्माले एक अर्वभन्दा बढिको कलेजको चलअचल सम्पति श्रीमती र बाबुको नाममा राखेको बताइन्छ।

Comment