Thursday , December 14 2017
Home / Featured News / नेपाल वायु सेवा निगमको विमान अर्घाखाचीमा सम्पर्क विहीन (यात्रुको नामावलीसहित)

नेपाल वायु सेवा निगमको विमान अर्घाखाचीमा सम्पर्क विहीन (यात्रुको नामावलीसहित)

काठमाडौंबाट पोखरा हुँदै जुम्ला उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज आइतबार दिउँसो सवा एक बजेदेखि सम्पर्कविहीन छ।

अर्घाखाँची र पाल्पाको सिमानाका विभिन्न क्षेत्रमा स्थानीयले दिएको जानकारी अनुसार खोजी कार्य गरिए पनि दुर्घटनास्थल अहिलेसम्म यकिन हुन सकेको छैन।

काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडान भरेको नाईन एन एबिबी विमान दिउँसो १२ बजेर ४० मिनेटमा पोखरा विमानस्थलबाट जुम्लाका लागि उडेको थियो ।

२ बजे जुम्ला अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म विमान सम्पर्कमा नरहेको पोखरा विमानस्थलका प्रशासन अधिकृत काशिनाथ पौडेलले जानकारी दिनुभयो । विमानमा ३ जना चालक दलका सदस्य, एकजना बालक र अरु १४ जना यात्रुसहित १८ जना सवार थिए ।

ईन्धन भर्नका लागि पोखरा विमानस्थलमा अवतरण गरेको विमानले पोखराबाट थप यात्रु भने बोकेको थिएन । त्रिभुवन विमानस्थलमा रहेको नेपाल वायु निगमको कार्यालयले सम्पर्क विहिन भएको विमानको खोजीका लागि टोली खटिएको बताएको छ ।

खोजीका लागि पोखराबाट उडेका हेलिकप्टर पनि खराब मौसमका कारण संभावित स्थलतिर जान सकेनन् । खोजीका लागि पाल्पा, अर्घाखाँचीका ठाउँमा स्थल मार्ग हुँदै नेपाली सेनाका जवानहरु खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

विमानका यात्रुमा कांग्रेस जुम्लाका सभापतिपनि

१९ सिटको जहाजमा चालक दलका तीन सदस्यसहित सहित १५ यात्रु सवार थिए। १५ मध्ये एक जना डेनमार्कका र एक नाबालक थिए। हराएको विमानका लागि कर्णाली ट्राभलबाट टिकट काटेको पाइएको छ । ट्राभलका अनुसार नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर कठायत, नन्द महतारा, डी महतरा, वर्षा हमाल, उमा तामाङ डाक्टर विकल्प पोखरेल डीपी उपाध्याय र एक जना डेनिस नागरिक छन् ।

यस्तै राजेन्द्र प्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ र कृष्णनाथ अधिकारी रहेको खुलेको छ । दुई जनाको भने नाम खुलेको छैन् । विमानको चालक शंकर श्रेष्ठ, सहचालक रवीन्द्र बञ्जारा र एयर होस्टेस मुना महर्जन हुनुहुन्थ्यो ।  सबैको अवस्था अझै थाहा हुन सकेको छैन् ।

Comment