Wednesday , December 13 2017
Home / Featured News / नेपाल युएईसँग १०२ रनले पराजित

नेपाल युएईसँग १०२ रनले पराजित

एकदिवसीय विश्वकप क्रिकेट छनाटको आफ्नो पहिलो खेलमा नेपाल युएईसँग १ सय २ रनले पराजित भएको छ । २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ११ बल बाँकी छँदा १ सय ९५ रनमा समेटियो ।

नेपालका शरद भेषावकरले सर्वाधिक ५४ रन बनाए । त्यस्तै शक्ति गौचन र विनोद भण्डारीले समान ३७ र सागर पुनले २५ रन बनाउनुबाहेक अरुको प्रदर्शन सम्झनलायक रहेन । कप्तान पारस खड्काले १२, महेश क्षेत्रीले ९ वसन्त रेग्मीले ५ र ज्ञानेन्द्र मल्लले ४ रन बनाए । अनिल मण्डल, सोमपाल कामी र जितेन्द्र मुखिया डक आउट भए ।

सुरुवातदेखि नै धर्मराएको नेपाली इनिङ भेषावकर र गौचनले केही सम्हाले पनि टीमलाई जिताउन भने सकेनन् । भेषावकरले ८६ बलको सामना गर्दै ५४ रन बनाए । विनोद भण्डारीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

अपेक्षा गरे अनुसार बलिङ नचलेको नेपालले ब्याटिङमा पनि निरासाजनक प्रदर्शन गर्‍यो । न्युजिल्याण्डमा यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९७ रनको गतिलो योगफल तयार पारेको हो ।

सुरुवातमा युएईलाई दबाबमा राखेपनि नेपाली बलरले आज उत्कृष्ट प्रदर्शन भने गर्न सकेनन् । बसन्त रेग्मीले ३ जितेन्द्र मुखियाले २ तथा शक्ति गौचन र सागर पुनले १ विकेट लिए । १० ओभर बलिङ गरेका बशन्तले ४३ रन दिँदै ३ विकेट लिएका हुन् भने तथा शक्तिले ४२ रन दिएर १ विकेट लिए । निकै आशा गरिएका सोमपाल कामीले भने विकेट लिन सकेनन् । पहिलो ओभरमै विकेट लिंदै नेपालले युएइलाई दबाबमा राखेको थियो ।

त्यसपछि नेपालले ४२ रनमा दोश्रो र ८१ रनमा तेश्रो विकेट लिएको थियो । तर चौथो विकेटका लागि युएइका सइमान अनवर र स्वप्निल पटेलले १ सय ४५ रनको साझेदारी गर्दै टिमलाई ठुलो योगफल तर्फ डोहोर्‍याए ।

अनवरले ९६ बलमा १ सय ९ रन बनाए भने पटेलले ७४ रनको योगदान दिए । समूह ए मा रहेको नेपालले माघ २ गते स्कटल्याण्ड, ५ गते हङकङ र ७ गते क्यानडासँग खेल्नेछ । यसैबीच नेपाल रहेको समुहमा आज हङकङले स्कटल्याण्डलाई १७ रनले हराएको छ ।

२ सय ६४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २ सय ४६ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीले केन्यालाई ८ विकेटले हरायो भने नेदरल्याण्डले युगाण्डालाई ७ विकेटले हराएको छ ।

समूह ए मा रहेको नेपालले माघ २ गते स्कटल्याण्ड, ५ गते हङकङ र ७ गते क्यानडासँग खेल्नेछ । प्रतियोगिताका २ समूहबाट उत्कृष्ट ६ टोली सुपर सिक्समा पुग्नेछन् । फाइनल पुग्ने २ वटा टोली अर्कोवर्ष हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् । शिर्ष ४ मा पर्नसकेपनि नेपालले ४ बर्षका लागि एकदिवसीय मान्यता पाउनेछ ।

Comment