Thursday , December 14 2017
Home / Featured News / नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पान्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पान्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पान्डे निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका अर्का प्रत्याशी भास्करराज राजकर्णिकारलाई पराजित गरेका हुन्। अरु पदहरुमा राजकर्णिकार र पान्डेका मिश्रित उम्मेदवार विजयी भएका छन्। एसोसिएट उपाध्यक्षमा राजकर्णिकार प्यानलका शेखर गोल्छा निर्वाचित भए भने बाँकी दुई उपाध्यक्ष पान्डे प्यानलका। उद्योग वाणिज्य समूहका उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भए। त्यसैगरी वस्तुगत समूहका उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भए।

जिल्ला/नगरमा राजकर्णिकार र पाण्डे पक्षका सात-सात उम्मेदवार विजयी भएका छन्। त्यसैगरी अञ्चल प्रतिनिधिमा राजकर्णिकार पक्षका एकमात्र उम्मेदवार विजयी भए भने पाण्डे पक्षका १३ जना विजयी भए। वस्तुगतमा पाण्डेको पक्षमा ६ जना, राजकर्णिकारको पक्षमा पाँच जना र एक जना साझा उम्मेदवार विजयी भए। images-cms-image-000004610

अञ्चल प्रतिनिधिमा मेचीबाट प्रकाश प्रसाईं, कोशीबाट रोहितप्रसाद प्रसाईं, सगरमाथाबाट अशोककुमार अग्रवाल, जनकपुरबाट रामकपुर साह (निर्विरोध), बागमती मनिषलाल प्रधान, नारायणी धर्मनाथप्रसाद जैसवाल (निर्विरोध),गण्डकी दीपक लम्साल (निर्विरोध),लुम्बनी कृष्णप्रसाद श्रेष्ठ, धवलागिरी निर्माणकुमार श्रेष्ठ (निर्विरोध), राप्ति हरिहर बुढाथोकी, भेरी भवानी राणा (निर्विरोध), कर्णाली नरविर रावत, सेती गोपाल हमाल (निर्विरोध), महाकाली मंगलसिंह ठगुन्ना (निर्विरोध) निर्वाचित भए।

जिल्ला नगर तर्फका सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका गुणनीधि तिवारी, मेची उद्योग वाणिज्य संघका केशवराज पाण्डे, धुलिखेल उद्योग वाणिज्य संघका दिलसुन्दर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका शंकर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका नरेन्द्रकुमार खड्का, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका युवक राजभण्डारी, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका महेन्द्रकुमार श्रेष्ठ, कृष्णनगर उद्योग वाणिज्य संघका ओमप्रकाश बंशल, सुर्खेत उद्योग वाणिज्य संघका निरक केसी, वालिंग उद्योग वाणिज्य संघका चोपनारायण श्रेष्ठ, वीरगञ्ज उद्योग वाणिज्य संघका विजयकुमार सरावगी र डडेलधुरा उद्योग वाणिज्य संघका प्रकाशबहादुर साउद विजयी भए।

त्यसैगरी वस्तुगतका १२ मध्ये पाण्डे समूहका सात र राजकर्णिकार समूहका पाँच सदस्य निर्वाचित भए। वस्तुगतबाट निर्वाचित हुनेमा अनुपबहादुर मल्ल, अशोक शर्मा, उमेशलाल श्रेष्ठ, कमला श्रेष्ठ, राजकुमार भट्टराई, राजन शर्मा, शुकुन्तलाल हिराचन, शंकर प्रसाद पाण्डे, सौरभ ज्योति, संजय गिरी, संजीव राजभण्डारी र संदिपकुमार अग्रवाल छन्।

यस्तो रह्यो चुनाउ

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि भएको निर्वाचन विगतमा भन्दा यसपटक केही भिन्न रह्यो। यसअघिको निर्वाचनमा मतदान भइरहँदा व्यवसायीको दुई प्यानलबीच हात हालाहालसम्मको स्थिति देखा परे पनि यो पटक त्यस्तो दृश्य देखिएन। महासंघमा अध्यक्षबाट बाहिरिँदै गरेका सुरज वैद्यले अध्यक्षका दुई प्रत्याशीलाई आफ्नो गाडीमा राखेर मतदानस्थल प्रज्ञा प्रतिष्ठानमा छाडेको दृश्यले व्यवसायीमाझ चर्चा पायो।

मतदान हुनुअघि केही विवाद उत्पन्न भएपछि अध्यक्ष वैद्यले विवाद मिलाएका थिए। मतदान प्रक्रियाको विषयमा भएको विवादका कारण निर्धारित समयभन्दा एक घन्टा ढिलो मतदान सुरु भएको थियो। महासंघको नयाँ नेतृत्वको चयनको लागि सुरुमा अध्यक्षका दुई प्रत्याशी प्रदीपजंग पाण्डे र भाष्करराज राजकर्णिकारले मतदान गरेका थिए।

विगतमा जस्तो हात हालाहालको अवस्था नदेखिए पनि व्यवसायीबीच प्रचारको शैली भने क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको भन्दा पनि बढी आक्रामक र सनसनीपूर्ण थियो। व्यवसायीको साझा संगठन महासंघको निर्वाचनको तयारी गतिलो थिएन। मतदातालाई लाइनमा व्यवस्थित तरिकाले समेत राख्न नसकेको देख्न्थ्यिो। मतदाताले समेत व्यवस्थापन पक्ष फितलो भएको गुनासो गरेका थिए। दुवै पक्षले चुनाउ कसरी जित्ने भन्नेतर्फमात्र ध्यान केन्द्रित गरेकाले चुनाउ व्यवस्थापन पक्ष फितलो भएको हो।

प्रोपोगान्डामा उत्रिए उम्मेदवार

मतदान प्रक्रिया सुरु हुनुभन्दा अघि अध्यक्ष प्रत्याशीका समर्थक प्रोपोगान्डा शैलीमा प्रचारमा उत्रेका थिए। उम्मेदवारलाई व्यक्तिगत लान्छना लाउनेसम्मका गतिविधि यसपटक पनि दोहोरिए। विभिन्न लान्छना लगाइएका विज्ञप्ति महाधिवेशन स्थलमा छरिएका थिए। ‘उम्मेदवारविरुद्ध उजुरी गर्नुपर्ने भए निर्वाचनको तालिकाअनुसार गर्नुपर्ने थियो’, एक व्यवसायीले भने, ‘तर विरोधको जुन शैली देखियो, त्यो ठीक भएन।’

महासंघको निर्वाचनमा अर्को रमाइलो पक्ष एसोसिएटका उम्मेदवारमा पनि देखियो। अध्यक्षका प्रत्याशी प्रदीपजंग पाण्डेको प्यानलमा शुक्रबारसम्म प्रतिबद्ध भएर लागेका अनील केडिया र अशोककुमार तोडीले निर्वाचनको दिन शनिवार प्यानल परिवर्तन गरेर अर्का प्रत्याशी भाष्करराज कर्णिकारको प्यानलबाट एसोसिएटमा उम्मेदवारीको घोषणा गरे। केडिया र तोडीले अन्तिम समयमा धोका दिएको आरोप पाण्डे पक्षले लगायो। यस विषयमा केडिया र तोडीले निर्वाचन स्थलमा भने केही प्रतिक्रिया दिएनन्।

पाँचतारेमा भएन रमझम

यसपटकका प्रत्याशी दुवैजनाले अघिल्लो पटकजस्तो जिल्लाबाट आउने मतदातालाई पाँचतारे होटेलमा भोजभतेर दिएनन्। आर्थिक मितव्ययिता अपनाउन तारे होटेलमा मतदाता नराखेको दुवै पक्षको दाबी छ। अध्यक्षका दुवै प्रत्याशीले अन्नपूर्ण अर्थतन्त्रले आयोजना गरेको बहस कार्यक्रममा निर्वाचनमा सकेसम्म कम खर्च गरिने बताएका थिए। दुवै पक्षले जिल्लाका मतदातालाई सुन्धारा, बागबजार, त्रिपुरेश्वर, दरबारमार्गलगायतका स्थानका रेस्टुराँमा राखेका छन्।

यसपटकको निर्वाचनमा पाँचतारे होटेलमा उम्मेदवारका गतिविधि कम भए पनि निर्वाचनका क्रममा दुवै पक्षबाट भएको खर्च करिब १५ करोड रुपैयाँ हाराहारीमा रहेको अनुमान व्यवसायीले गरेका छन्। समूहगत रूपमा जिल्लाबाट आएका व्यवसायीसँगको भेटघाट तथा कार्यक्रममा जाँदा यति धेरै रकम खर्च भएको दाबी गरिएको छ। आधिकारिक जानकारी पाउन नसकिए पनि केही हदसम्म मतदाता आफूतिर तान्न रकमको समेत चलखेल भएको व्यवसायीले बताए।

पाण्डेले मतदान गर्न पाएनन्

महासंघको निर्वाचनमा राजकर्णिकारको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका उदयराज पाण्डेले भने मतदान गर्न पाएनन्। बिरामी भएकाले पाण्डे उपचारका लागि भारतको नयाँदिल्लीमा छन्। महासंघको निर्वाचनमा जिल्ला तथा नगरतर्फ ९३, वस्तुगततर्फ ८८ र एसोसिएटतर्फ पाँच सय ६८ मत खसेको थियो भने द्विराष्ट्रियतर्फ १२ मत खसेको महासंघको निर्वाचन समितिले जनाएको छ। बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म मतदान भएको थियो। सकिएपछि साँझ पाँच बजेदेखि मतदान सुरु भएको हो।

कुन क्षेत्रबाट कति चुनिने

एसोसिएटबाट : १६ जना

वस्तुगतबाट : १२

जिल्ला तथा नगरबाट : २८

द्विराष्ट्रियबाट : १

Comment