Wednesday , December 13 2017
Home / Featured News / स्कटल्यान्डसँग नेपाल ९० रनले पराजित

स्कटल्यान्डसँग नेपाल ९० रनले पराजित

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत  समूह चरणको दोस्रो खेलमा स्कटल्यान्डसँग नेपाल ९० रनले पराजित भएको छ । नेपालको ब्याटिङ प्रदर्शन निराशाजनक भएपछि नेपालले स्कटल्यान्डले दिएको २ सय ५० रनको लक्ष्य पछ्याउन सकेन् ।

बिहीबार टस जितेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदैं २ सय ४९ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.१ ओभरमा सबै विकेट गुमाएर १५९ रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ३४ रन जोडे । यसैगरी शरद भेषावकरले ३०, पृथु बाँस्कोटाले २१ रन जोडे । प्रदीप ऐरी १५ तथा विनोद भण्डारी १२ रनमा आउट भए । बसन्त रेग्मीले अविजित २० रन जोडे । अनिल मण्डल १० रनमा आउट भए । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेटने क्रममा स्कटल्यान्डका रब टैलर, मजिद हक, आयन वार्डलले २/२ विकेट लिए । साफयान सरिफ र कैले कोयटजरको नाममा एक/एक विकेट रहृयो ।
यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डका लागि फेरेड्डी कोलोम्यानले अविजित ६४ रन बनाए भने कालुम म्याकलोयड ४६ रन  जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । यसैगरी सागर पुनका नाममा दुई विकेट रहृयो भने बसन्त रेग्मी तथा शक्ति गौचनले १/१ विकेट लिए । दोस्रो हारसँगै नेपालको अघिल्लो चरणमा प्रवेशको सम्भावना पनि क्षीण बनेको छ । नेपाल पहिलो खेलमा युएईसँग १ सय २ रनले पराजित भएको थियो ।
नेपाल आज कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियो । ज्वरोका कारण यसअघिको खेल गुमाएका नियमित ओपनर सुवास खकुरेलले पनि आज खेलेका थिएनन्् । नेपाली टिमको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए ।

 

 

Comment