Saturday , December 16 2017
Home / Featured News / नेपाली खाना दक्षिण एशियामै उत्कृष्ठ

नेपाली खाना दक्षिण एशियामै उत्कृष्ठ

एक अन्तर्राष्ट्रिय संस्थाद्वारा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालीहरुको खानपान स्वस्थ्यकर देखिएको छ । नेपालीको खानपान भारत, पाकिस्तान, बंगलादेशको भन्दा गुणस्तरीय रहेको प्रतिवेदनमा उल्लेख छ ।

अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले  गरेको सर्वेक्षणमा यो तथ्य फेला परेको हो ।  विश्वका १ सय २५ मुलुकमा गरिएको स्वस्थ्य खानपिनसम्बन्धी सर्वेक्षणमा नेपाल ९१ औं स्थानमा छ । भारत ९७ र बंगलादेश १०२ औं स्थानमा छन् । नेदरल्याण्ड, फ्रान्स, स्वीडेन, डेनमार्कजस्ता पश्चिमा मुुलुकका बासिन्दाले भने खानपान स्वच्छता र पर्याप्तताको अवसर पाएका छन् ।everest-482x298

स्थानीय नागरिक माझ खाद्य पर्याप्तता, खाद्य मूल्य तिर्नसक्ने क्षमता, खाद्य गुणस्तर र खाद्यान्नको स्वच्छता आदि विषयमा सर्वेक्षण केन्द्रित रहेको जनाइएको छ । तथापि, नेपाली सबैले गुणस्तरीय खानपानको अवसर भने नपाएको तथ्य पनि फेला परेको छ । नेपालका करिब ३० प्रतिशत केटाकेटीमा उमेर अनुसारको तौल नभएको, कूल १६ प्रतिशत नागरिकमा कूपोषण रहेको तथ्यांकमा जनाइएको छ । तर नेपालीको आहारमा विविधता नहुँदा पर्याप्त पोषण हासिल गर्न सकेका छैनन् । ७२ प्रतिशत नेपालीले दैनिक एकै खाले आहार खान्छन् ।

यस आधारमा नेपालले कम तौलका केटाकेटी हुने मुुलुकको कोटीमा ६४ औं स्थान र कूपोषित नागरिकयुक्त मुलुकको कोटीमा १९ औं स्थान पाएको छ । इण्डेक्स अधिकतम र न्यूनतम अंक मापन विधिमा उल्लेख छ, जसमा शून्य अंक सबभन्दा कम र १०० अंक सबभन्दा बढी भनिएको छ । अधिकतम अंक पाउनेहरु सर्वाधिक खराब सूचिमा परेको जनाइएको छ ।

अध्ययनका क्रममा स्थानीय नागरिकमध्ये केहीले महंगीको कारण पोषिलो खाना उपभोग गर्न नसकेको बताएका थिए । पोषिलो खानाकै अभावले केटाकेटीको कम तौल र कूपोषण समस्या देखिएको जनाइएको छ । नेपालले खाद्यान्न मूल्यको सूचिमा ४२ औं स्थान हासिल गरेको छ । ‘उच्च मूल्यको कारण विश्वका अति गरिब समुदाय सर्वाधिक पीडित छन्’ प्रतिवेदनमा भनिएको छ ‘अति गरिब समुदायले आफ्नो आयको ७५ प्रतिशत रकम खाद्यान्नमा खर्च गर्दछन् ।’ तर एउटा सुखद कुरा, नेपालको खाद्य मूल्यवृद्धि मुद्रास्फीति दर भने कम छ । खाद्य मुद्रास्फीतिका आधारमा १३ औं स्थान हासिल गरेको छ ।

त्यस्तै, नेपालका ८७.६ प्रतिशत नागरिकले शुद्ध र सफा पिउने पानीमा पहुँच पाएका छन् । विश्वमा मधुमेह र मोटोपनाको समस्या बढिरहेको अवस्थामा नेपालीमा भने कमै असर परेको छ । कूल ८.४ प्रतिशतमा मधुमेह र १.४ प्रतिशतमा मोटोपनको समस्या देखिएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाको आधारमा अक्सफामले केही सिफारिस पनि गरेको छ । पर्याप्त पूर्वाधार निर्माण गरी कृषि उत्पादनको विविधीकरण र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिइएको छ । उत्पादनसँगै किसानलाई बजारसम्म पहुँच विस्तार गर्नुपर्ने, खाद्यान्न भण्डारणको सुविधा दिलाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ । खाद्यान्न बजारको नियमनबाट मूल्यस्फीति नियन्त्रण गर्नुपर्ने सुझाव पनि दिएको छ ।

 

Comment