Saturday , December 16 2017
Home / Article / नयां पुस्ताकालागि बातावरणिय शिक्षा

नयां पुस्ताकालागि बातावरणिय शिक्षा

nepal_newsalina_tamrakarअलिना ताम्राकार
मानिसले जीवन जिउनका लागि अति आवश्यक तत्वहरु सबै प्रकृतिबाट नै प्राप्त गर्दछन् तर अहिले विकसित जीवन शैलीको भूल-भूलैयामा फँसेर हामीले प्रकृतिका स्रोतको अत्यधिक प्रयोग गरिरहेका छौँ । जसका कारण वातावरणीय समस्याहरु, जस्तैः प्रदूषण, खडेरी, बाढी, जलवायु परिवर्तन आदि जस्ता समस्याहरु प्रष्ट रुपमा देखिन थालेका छन् । यस्ता असरलाई कम गर्न र वातावरणको गुणस्तर बढाउन हाम्रो क्रियाकलापमा सुधार र व्यवहारमा परिवर्तन गर्ने समय आइसकेको छ । यही विषयलाई मध्यनजर राखेर ‘स्मल अर्थ अस्ट्रेलिया’ नामक संस्थाद्वारा वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले सिड्नीमा जीवनयापन कार्यशाला शृङ्खला सञ्चालन गरिएको थियो ।

एउटा प्रसिद्ध भनाइअनुसार, यो पृथ्वी हामीले पुर्खाहरुबाट सित्तैमा पाएका होइनौँ, बरु भावि सन्ततिबाट सापटी लिएका हौं । त्यसैअनुरुप, यसलाई सही स्वरुपमा फिर्ता दिनु हाम्रो प्रमुख दायित्व हो । यस पृथ्वीको मुख्य भागिदार अहिले र भोलिको दिनमा आउने बालबालिका हुन् । त्यसैले हामीले प्रकृति र वातावरणबाट भोगेको सुख सुविधा हाम्रा बालबच्चाहरुले पनि पाउनुपर्छ । साथै यससम्बन्धी उपयुक्त जानकारी पनि बालबालिकाहरुले सही समयमा पाउनु अति आवश्यक छ । यही विचारलाई अङ्गिकार गर्दै यस कार्यशाला शृङ्खला बालबालिकाहरुलाई लक्षित गरी तयार पारिएको थियो । शब्दमाला नेपाली भाषा विद्यालयसँग साझेदारीमा सञ्चालित यस निःशुल्क कार्यशाला विद्यालयको ग्रानभिल र क्याम्पसी शाखामा सञ्चालन गरिएको थियो । सिड्नीमा बसोबास गर्ने सबै नेपालीका लागि यो कार्यशाला खुल्ला गरिएको थियो ।

दिगो जीवनयापनका केही मुख्य मुद्दाहरुलाई समेट्ने उद्देश्यले तीन ओटा कार्यशाला प्रस्तुत गरिएका थिए । जुन निम्न प्रकारका छन्ः
१. फोहरलाई चिनौँ
२. जैविक फोहर व्यवस्थापनका लागि गँड्यौला खेती र कम्पोस्टिङ
३. घरमा पानी र  बिजुली महसुल घटाउने तरिका पहिलो, दोस्रो र तेस्रो कार्यशालामा क्रमशः ५२, ५२ र ४३ जनाले सहभागिता जनाएका थिए ।

व्यवहारिक जीवनयापन सहजताका साथ होस् भन्ने उद्देश्यले सञ्चालित यी कार्यशालाहरुमा विभिन्न खेल, उदाहरण, चित्र र अन्तरक्रियाद्वारा ज्ञान र जनचेतना जगाउने प्रयास गरिएको थियो । यी तिनै ओटा कार्यशालामा सक्रियताका साथ भाग लिने शब्दमाला ग्रेनभिलका अश्लेष घलेका अनुसार, उनलाई गँड्यौला खेती र फोहरकोबारे जानकारी निकै मनपर्‍यो र उनी सही फोहरलाई रातो वा पहेँलो बिर्क्रो भएको बिनमा राख्ने गर्छिन् । त्यसैगरी क्याम्पसीमा तिनै ओटा कार्यशालामा निकै उत्सुकताका साथ अन्तरक्रिया गर्ने आहन भट्ट भन्छन्, “मलाई गड्यौँले खेल एकदम मनपर्‍यो । मैले फोहरको बारेमा महत्वपूर्ण जानकारी पाएँ अनि पानी र बिजुली बचाउने बारे पनि धेरै कुरा सिकेँ । म कोठाबाट निस्कने बेला बत्ति निभाउँछु अनि दाँत माझ्ने बेला धारा बन्द गर्छु ।”

अहिलेको जीवनशैली र बद्लिँदो वातारणीय अवस्थासम्म आइपुग्दा हामीले के निष्कर्षमा पुग्नु पर्छ भने वातावरणीय शिक्षा अब व्यक्तिगत रोजाइको विषय मात्र नभएर निश्चित प्राथमिकतामा परिसकेको छ । बालबालिकाहरुको जीवन उनीहरुको घर, परिवार, विद्यालय र साथीहरुमा सीमित हुन्छ र समाज प्रतिको जिम्मेवारीबाट अनभिज्ञ हुन्छन् । उनीहरुको व्यवहार र क्रियाकलापबाट वातावरणकमा कस्तो असर परिरहेको छ भन्ने कुरा थाहा हँुदैन । त्यसैले सानै उमेरदेखि बालबालिकाहरुमा मानिसको क्रियाकलापले वातावरणमा पर्ने असरका बारेमा जानकारी दिई सचेत गराउनु आमाबुवा, अभिभावक र शिक्षक सबैको कर्तव्य हो ।

विशेषगरी शहरी क्षेत्रमा बालबालिकाहरु सानै उमेरदेखि उपभोक्ता बनिसकेका हुन्छन् । कस्ता खेलौना किन्ने, कस्तो लुगा लगाउने, के खाने आदि जस्ता कुराहरु केही मात्रामा उनीहरुको रोजाइमा भर पर्छन् । र, ठूलो हुँदै जाँदा त्यसैअनुसार उनीहरुको आवश्यकता, चाहना र माग पनि बढ्दै जान्छन् । वातावरणीय शिक्षाले बालबालिकाहरुमा सामाजिक जिम्मेवारीको बोध गराई सही निर्णय गर्ने क्षमताको वृद्धि गर्दछ । साथै, वातवरण मैत्री सामग्री र सेवाको छनौट गर्ने ज्ञान पनि बढाउँछ । यति मात्र नभई सानै उमेरदेखि वातावरण र प्रकृतिप्रति इज्जत र ख्याल राख्ने शिक्षा पाएको खण्डमा यसप्रति नकारात्मक सोच उब्जने मोका पाउँदैन । प्रकृति र वातारण सितको सही अन्तरक्रियाले बालबालिकाको विकास र स्वास्थ्यमा पनि अनुकूल प्रभाव पार्दछ । सानो व्यवहारिक परिवर्तन, सही निर्णय र सकेको ठाउँमा वातावरण मैत्री वस्तुको प्रयोगले समाजमा दीर्घकालीन असर पार्दछ ।
(लेखक सिड्नी अवन सिटी काउन्सिलमा वातावरण अधिकृतका रुपमा कार्यरत छिन् ।)


- See more at: http://nepalipatra.com/news/detail/3036/5//.meroml#sthash.ZXV3jODz.dpuf

Comment