Tuesday , December 12 2017
Home / PaperPublished / नत्र संविधानसभामा जान्नौं १८ दल- नेपाली समाचारपत्र

नत्र संविधानसभामा जान्नौं १८ दल- नेपाली समाचारपत्र

संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानविन गर्नका लागि आयोग गठन नभएसम्म एकीकृत नेकपा माओवादीलगायतका १८ राजनीतिक दलले संविधानसभामा सहभागी नहुने र समानुपातिकतर्फको नामसमेत सिफारिस नगर्ने निर्णय गरेका छन्। एमाओवादीसहित १८ दलीय मोर्चाले उच्चस्तरीय छानविन आयोग गठन नभएसम्म संविधानसभामा सहभागी नहुने निर्णय गरेका हुन्।

सोमबार एमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले सहमतिका आधारमा संविधान निर्माण, निर्वाचनमा भएको संस्थागत धाँधली र षड्यन्त्र छानविन गर्न सरकारले उच्चस्तरीय छानविन आयोग गठन नभएसम्म संविधानसभामा सहभागी नहुने बताएको छ। संघीय समाजवादी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले ताजा जनादेश आइसकेको अवस्थामा अध्यादेशमार्फत संविधान संशोधन गर्ने प्रयास रोक्नुपर्ने मोर्चाले निर्णय गरेको बताउनुभयो। ‘राजनीतिक सहमति नभएसम्म संविधान संशोधन गर्न नपाउने समेत निर्णय मोर्चाले गरेको छ’ –उहाँले भन्नुभयो। मोर्चामा एमाओवादी, संघीय समाजवादी पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, मधेसी समता पार्टी, जनजागरण पार्टी र नेपाली जनता दललगायतका रहेका छन्। मोर्चाले चुनावमा भएको धाँधली र षड्यन्त्रको निष्पक्ष छानविन गर्नुपर्ने माग राख्दै आएको छ।

१८ दलको बैठकले संविधानको धारा ६९ संशोधन गर्ने तयारी विरोध गर्दै सीमित व्यक्तिको इच्छा पूरा गर्न अध्यादेशमार्फत संविधान संशोधन नगर्न सरकारसमक्ष आग्रहसमेत गरेको छ। १८ दलको बैठकमा संघीय लोकतान्त्रिक गठबन्धनको अवधारणाबारे छलफल भए पनि गठबन्धनमा सहभागी हुने दलहरूले आन्तरिक छलफल नपुगेकाले अर्को बैठकले मात्र निर्णय गर्ने बताइएको छ।

मोर्चाको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने गठबन्धबीच प्रारम्भिक सहमति भइसकेको छ। आयोग गठनमा सरकारले ढिलाइ गरेको भन्दै मोर्चाले आफूले पाएको समानुपातिकतर्फको उम्मेदवारको समेत छनोट कार्यलाई अगाडि बढाएको छैन।

Comment