Friday , December 15 2017
Home / Featured News / धांदली भयो भन्ने प्रति प्रमुख आयुक्तको आक्रोस, एमाओेवादीलाई चेतावनी

धांदली भयो भन्ने प्रति प्रमुख आयुक्तको आक्रोस, एमाओेवादीलाई चेतावनी

Nilakantha-upreti_प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संविधानसभा निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतामा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्। निर्वाचनमा एक ठाउँमा पनि धाँदली नभएको बताउँदै उनले चुनवाको बारेमा औंला नउठाउन एकीकृत माओवादी लगायतका दललाई चेतावनी दिएका छन्।
‘एक ठाउँमा पनि धाँदली भएको छैन, तपाईंहरुले कसैलाई एउटा औंलो उठाउँदा बुद्धले भनेजस्तो चार वटा औंलाहरु आफूतिर फर्कन सक्छन् भन्ने कुरा विचार गरिदिनुहोला,’ आयोगद्धारा शनिवार आयोजित पत्रकार सम्मेलनमा बौल्दै उप्रेतीले भने ‘एउटा पनि गडवढी भएको छैन, त्यस्तो देखेको भए प्रमाण लिएर आउनोस् ।’

एमाओवादीका नेताहरुले आफ्नो पार्टी विरुद्ध सबै देशी विदेशीको षडयन्त्रमा मतपेटिका परिवर्तन गरेको आरोपबारे प्रश्नको जवाफमा उप्रेतीले त्यसलाई केटाकेटीले गर्ने जस्तो उरेन्ठेउला कुराको संज्ञा दिए। ‘कुनै पनि कुराको पुनरावलोकन गर्ने भनेको अवलोकन नभएको विषयमा मात्रै हो,’ निर्वाचन मतगणना पुनरावलोकनबारे एमाओवादीले उठाउँदै आएको विषयप्रति लक्षीत गर्दै उप्रेतीले भने ‘आयोगले सन्चालन गरेको निर्वाचनमा अनावश्यक प्रश्न उठाई पुनरावलोकनको माग गर्नेहरुले बरु आफ्नै ‘मेमोरी रिकल’ गर्न अनुरोध गर्दछु।’

निर्वाचन परिणाममा अरु दलभन्दा पछि परेका कारण एमाओवादीले निर्वाचनमा धाँदली भएको र मतपेटिका साटफेर गरेको आरोप लगाइरहेका बेला उप्रेतीले एमाओवादी आरोपको तथ्यहीन भएको बताएका हुन्। निर्वाचन आयोगले निर्वाचन सामाग्रीहरु मतदान हुने स्थल नजिक सुरक्षा निकायकै पहलमा मतपेटिका राख्ने प्रचलन पुरानै भएकाले प्रहरी कार्यालयमा मतपेटिका भेटिएकोबारे औचित्यहीन तरिकाले भ्रम फैलाइएको उनले बताए । ‘मतपेटिका जहाँबाट मतदान केन्द्रमा पुर्‍याउन सजिलो हुन्छ तत तत स्थानमा राखिन्छ’, उप्रेतीले भने, ‘यो सडकमा, ब्यापारिक पसल वा दलका घरमा राखिँदैन। सरकारी भवन र सुरक्षा निकायका कार्यालयहरुमै राख्ने हो ।’

उनले मतदानको बेलाबाहेक मतदानका सबे प्रक्रिया दलहरुका प्रतिनिधिकै उपस्थितीमा गरिएकाले निर्वाचनको पुनरावलोकन हुनै नसक्ने स्पष्ट पारे। ‘मतदानपछि मतपत्र खसाल्ने प्वाल बन्द गरेको सिल नम्बर उल्लेख भएको मुचुल्का राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधिले समेत दस्तखत गरी मतपेटिका बन्द गर्ने व्यवस्था थियो,’ उनले भने ‘ती मतपेटिकालाई दलका प्रतिनिधीकै सहभागीतामा गणनास्थलसम्म ल्याएर गणना शुरु गर्नुपूर्व मतपेटिका सिल गरिएको सुरक्षण सिलको नम्बरसमेत रुजु गरी राजनीतिक दल तथा उम्मेदवारको रोहवरमा मुचुल्का गरी यकिन भएपछि मात्र मतपेटिका खोली गणना गरिएको हो।’

मतदान एवं मतगणना कार्य गर्दाखेरि पुरानो प्रचलनअनुसार दलका प्रतिनिधीहरुकै रोहवरमा, उनीहरुलाई देखाएर र उनीहरुकै हस्ताक्षरका आधारमा मात्रै गरिएको हुनाले धाँधलीको आरोप लगाउन नमिल्ने उनले बताए। निर्वाचन प्रक्रियाप्रति चित्त नबुझे संविधानसभा अदालतमा उजुरी गर्ने प्रावधान रहेको समेत उनले स्मरण गराए। ‘मतगणनास्थलमा समेत सिलबन्दी मतपेटिकाको पुनः जाँच गरी मतगणना कार्य अगाडि बढेपछि केही राजनीतिक दलबाट निर्वाचनको निष्पक्षतामा प्र्रश्न उठाइनु दु:खद कुरा हो,’ उनले भने ‘यस्तो भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न निर्वाचन आयोग आम मतदाता र सबै सरोकारवालालाई अनुरोध गर्दछु।’

काठमाडौं क्षेत्र नम्वर ४ निर्वाचन क्षेत्रबाट एमाओवादी उम्मेद्धार नन्दकिशोर पुनबाट परेको उजुरीमा कुनै निश्चित नभई समग्र क्षेत्रको धाँदली भनिएकाले त्यसमा खासै सुनुवाई गर्नु नपरेको उनले बताए । ‘सवै प्रक्रियामा सवै दलका प्रतिनिधि सहभागी गराइएको हो,’ उनले भने ‘मतगणनाको बेला कसैलाई बाहिर जान मन लाग्दा जान पाउने र हार्नेजस्तो देखेपछि कोही बाहिर जादैमा मतगणना रोक्ने कुरै आउँदैन।’

उप्रेतीले समानुपातिकको मतगणनाको काम एकसाता भित्र सकिने जानकारी दिए। दलहरुको समेत सहभागितामा तर्जुमा भएका निर्वाचनसम्बन्धी कानून तथा अन्तर्राष्ट्रियरुपमा स्थापित विधि, प्रक्रिया र मापदण्डको उच्चतम परिचालन गरी निर्वाचन व्यवस्थापन गरिएको हुँदा निष्पक्ष निर्वाचन सम्पन्न भएको आयोगले दावी गरेको छ।

उप्रेतीले मतदाताको स्पष्ट पहिचानका लागि मतदाता नामावलीमा मतदाताको व्यक्तिगत विवरणका अतिरिक्त रङ्गीन तस्बिरसमेत राखिएको र आयोगको आफ्नै छापाखानामा छपाइ गरी मतदाता परिचयपत्र वितरण गरिएको जानकारी दिए । मतपेटिकाकासंगै जान चाहने दलका प्रतिनिधिलाई जानसक्ने व्यवस्था गरिएको बताए । ‘निर्वाचन व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल कार्य भएको हुँदा यसमा प्रयोग हुने सामग्रीको उचित मात्रामा जगेडामा राख्ने र आवश्यक परेको बखत मतदान केन्द्रमा यथाशीघ्र पुर्‍याउन सक्ने गरी जगेडा सामग्रीहरूको परिचालन गर्नुपर्ने उनले बताए ।

प्रत्यक्षतर्फ एक करोड ४९ लाख ५२ हजार र समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सोही सङ्ख्यामा मतपत्र छपाइ गरिएको, सम्बन्धित मतदान केन्द्रमा रहेको मतदाता सङ्ख्यामा ५० थान थप मतपत्र जगेडाका लागि पठाइएको आयोगले जनायो । मतदानमा प्रयोग भई बाँकी रहेका सबै मतपत्रहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरुपमा राखिएको आयोगले जानकारी दिएको छ ।

मतपेटिका प्रयोगका लागि मापदण्ड निर्धारण गरी ५ सय सम्म मतदाता रहेको मतदान केन्द्रमा दुवै निर्वाचन प्रणालीतर्फ ४३ लिटर क्षमता र सो सङ्ख्याभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ८५ लिटर क्षमताको प्लास्टिकको अर्ध पारदर्शी मतपेटिका प्रयोगमा ल्याइएको आयोगले जनाएको छ । कुनै मतदान केन्द्रमा कारणवश मतपेटिका थप गर्नुपर्ने अवस्थाका लागि जगेडा मतपेटिका आवश्यकताअनुसार निर्वाचन अधिकृतको निर्देशनमा घुम्ती सुरक्षा टोलीमार्फत पुर्‍याउने व्यवस्था मिलाइएको उप्रेतीले बताए । ‘ती व्यवस्थाले मतदान सञ्चालन, मतपेटिका सङ्कलन र मतगणना व्यवस्थापन पारदर्शी, सहभागितामूलक, स्वच्छ, निष्पक्ष र विश्वसनीयरुपमा सम्पन्न हुन सकेको कुरामा विश्वस्त हुन आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ,’ उप्रेतीले भने।

 

Comment