Monday , December 18 2017
Home / PaperPublished / देउवालाई हराउन राष्ट्रपति लागेको आरोप : अन्नपूर्ण पोष्ट

देउवालाई हराउन राष्ट्रपति लागेको आरोप : अन्नपूर्ण पोष्ट

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा आफूलाई हराउन राष्ट्रपति रामवरण यादवले ‘लबिङ’ गरेको भन्दै रुष्ट भएका छन्।

rambaranदेउवापक्षीय नेताहरूले तटस्थ बस्नुपर्ने मर्यादित पदमा बहाल रहँदा पनि राष्ट्रपतिले पार्टीभित्र एउटा उम्मेदवारका पक्षमा लागी भोट मागेर मर्यादा नाघेको आरोप लगाएका छन्। देउवापक्षीय नेताहरूको सोमबार बसेको चुनाउ समीक्षा बैठकले राष्ट्रपतिले धनुषा, महोत्तरी, सिराहालगायत तराईका सभासद्लाई शीतलनिवासमै बोलाएर सुशील कोइरालालाई भोट हाल्न दबाब दिएको निष्कर्ष निकालेको छ।

‘राष्ट्रपति संविधानअनुसार तटस्थ र मर्यादित रूपमा बस्नुपर्ने हो’, समीक्षा बैठकमा सहभागी एक नेताले अन्नपूर्णसँग भने, ‘उहाँले तीन वर्षअघि भएको पार्टीको बाह्रौं महाधिवेशनमा पनि एउटा पक्षलाई जिताउन दबाब दिनुभयो। उहाँ अहिले संसदीय दलको नेताको निर्वाचनमा पनि हामीलाई हराउन लाग्नुभयो। यो राष्ट्रपतिको मर्यादाविपरीत काम हो।’

नेता चयनका लागि मिति तोकेदेखि नै राष्ट्रपतिले मधेसबाट प्रतिनिधित्व गरेका सभासद्लाई बोलाएर कोइरालालाई भोट हाल्न दबाब दिएको विवरणसहितको सूची बैठकमा पेस गरिएको थियो।

देउवालाई भोट हाल्ने निर्णयमा पुगेका तराईका सभासद् संगीता मण्डल, मुक्ता यादव, रामअयोध्याप्रसाद यादव, रश्मी ठाकुरलगायतलाई राष्ट्रपतिले शीतल निवास बोलाएर कोइरालालाई भोट हाल्न दबाब दिएको ठहर बैठकले गरेको छ।

बैठकमा सहभागी एक नेताका अनुसार मधेसकी एक महिला सभासद्ले गत शुक्रबार देउवालाई भेटेर भोट दिने प्रतिबद्धता जनाएपछि भोलिपल्ट राष्ट्रपतिकी भतिजी किरण यादवले उनलाई बिहानै राष्ट्रपति कार्यालय लिएर गएकी थिइन्।

त्यसपछि दिउँसो ती महिला सभासद्ले देउवापक्षीय नेतालाई फोन गरेर ‘राष्ट्रपतिको दबाब आयो, मैले सहयोग गर्न सकिनँ’ भनेर जानकारी गराएको ती नेताले बताए। विषेशगरी धनुषा, महोत्तरी र सिराहाका अधिकांश सभासद्लाई राष्ट्रपतिले निवासमा बोलाएर देउवालाई भोट नहाल्न दबाब दिएको स्रोतको दाबी छ।

पदअनुसार तटस्थ बस्नुपर्ने र पार्टीको सदस्यतासमेत त्यागेका राष्ट्रपति यादवले कांग्रेस बाह्रौं महाधिवेशनमा पनि देउवालाई हराउन तराईका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई शीतल निवास बोलाएर ‘लबिङ’ गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई शीतलनिवासमा बोलाएर दहीचिउरा खुवाएर कोइरालालाई भोट हाल्न दबाब दिएको सञ्चारमाध्यममा त्यतिबेला सार्वजनिक भएको थियो। यस विषयमा देउवाले पनि सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए।

Comment