Monday , December 18 2017
Home / Featured News / दिल्लीमा केजरीवालको सरकार

दिल्लीमा केजरीवालको सरकार

 आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको ऐतिहासिक रामलीला मैदानमा शनिबार दिल्लीको नयाँ मुख्यमन्त्रीको शपथ लिएका छन्। शपथ लिएसँगै उनी दिल्लीका सातौं मुख्यमन्त्री बनेका छन्। पार्टी कार्यालयबाट मेट्रो चढेर केजरीवाल रामलीला मैदान पुगेका थिए। उपराज्यपाल नजीव जंगले उनलाई शपथ खुवाएका हुन्।

केजरीवालका साथमा विधायक मनीष सिसोदिया, सोमनाथ भारती, सत्येन्द्र जैन, कुमारी राखी बिरला, गिरिष सोनी र सौरभ भारद्वाजले पनि शपथग्र्रहण गरेका छन्। खुल्ला मैदानमा केजरीवालका लाखौं समर्थकले पनि उनले जस्तै टोपी पहिरिएर सहभागी भएका थिए। टोपीमा ‘म आम व्यक्ति हुँ’ लेखिएको थियो। ‘मेरो होइन आम आदमीको जित भएको छ।

यो शपथ दिल्लीका जनताले लिएका हुन्। दुई वर्षअघि हामीले यो लडाइँ जित्छौं भन्ने सोचेका पनि थिएनौं’, शपथ लिएपछि केजरीवालले भने,’अरविन्द केजरीवालले यो लडाइँ एक्लै लड्न सक्दैन। म आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेछु।’

उनका अनुसार सबै समस्याको समाधान छैन। कुनै जादुको छडी पनि छैन तर दिल्लीका जनता आफैं मिलेर समस्याको समाधान निकाल्न सक्छन्। सपथग्रहण कार्यक्रममा ‘आम आदमी पार्टी’ तथा भारतको पक्षमा नारा लगाइएको थियो।

त्यहाँ केजरीवालको गाउँ सिवनीबाट धेरै मानिस आएका थिए। १५ अगस्त र २६ जनवरीमा पनि यत्ति भीड देखिएको थिएन। समर्थकहरूले बोकेको प्लेकार्डमा ‘आज दिल्ली, भोलि मुलुक’ भनी लेखिएको थियो। प्रहरीले कार्यक्रममा करिब एक लाख व्यक्ति सहभागी भएको अनुमान गरेको छ। हालै स्थापना भएको आमआदमी पार्टीले दिल्ली विधानसभाको निर्वाचनमा २८ स्थान प्राप्त गरेर दोस्रो दल बनेको आम आम आदमीले सरकार बनाएको हो।

यो दलले केन्द्रीय सरकार सञ्चालन गर्ने कांग्रेस पार्टीलाई पराजित गरिदिएको थियो। ‘यो आममानिसको विजय हो’, केजरीवालले मेट्रोबाट शपथग्रहणस्थल जानुपूर्व भनेका थिए, ‘यदि हामी एक भयौं भने मुलुकलाई परिवर्तन गर्न सक्छौं।’

हालसम्म भारतमा कुनै पनि मुख्यमन्त्रीले शपथग्रहण गर्न यसरी मेट्रोको उपयोग गरेका थिएनन्। पूर्वकरनिरीक्षक केजरीवालले निर्वाचनपूर्व दिल्लीको राजनीतिक वृत्तमा कायम अति महत्त्वपूर्ण व्यक्तिको संस्कार अन्त्य गर्ने बचन दिएका थिए।

रामलीला मैदानमा केजरीवालको शपथग्रहण कार्यक्रममा कुनै पनि महत्त्वपूर्ण व्यक्तिलाई बोलाइएको थिएन। यो मैदानलाई भारतमा भ्रष्टाचारविरोधी आन्दोलनको मुख्य स्थलको रूपमा लिइन्छ। यहाँ दुई वर्षअघि सरकारीस्तरमा हुने भ्रष्टाचारको विरोधमा आन्दोलन आरम्भ भएको थियो। केही विश्लेषकले दिल्लीमा केजरीवालको विजय भारतको राष्ट्रिय निर्वाचनको आरम्भको रूपमा हेरेका छन्। यो दलको चिह्न कुचो थियो।

निर्वाचनपछिको जनमतका आधारमा यसलाई भारतमा घूस तथा भ्रष्टाचार बढार्ने औजारको रूपमा हेरिएको छ।

आलोचकहरूले भारतको राजनीति तथा दैनिक जीवनमा घूस र भ्रष्टाचार व्यापक रहेको बताउँछन्। इन्डिया टुडेको ‘न्युजमेकर अफ द एयर’ केजरीवालाले शपथग्रहण कार्यक्रमपछि पनि ‘साइरन’ सहितको सरकारी गाडी उपयोग गरेनन्। उनले नयाँदिल्लीको राजनीतिज्ञका वरपर रहेका सुविधाको संस्कार हटाउने घोषणा गरेका थिए। ट्याक्सीचालक, शिक्षक, व्यापारी तथा कर्मचारी समर्थक रहेका केजरीवालले सरकारी भवनको उपयोग नगर्ने बताएका छन्।

इन्डिया टुडेका प्रधान सम्पादक अरुण पुरीले आफ्नो सम्पादकीयमा केजरीवाल भारतीय राजनीतिमा नयाँ नैतिक बलको रूपमा उदय भएको बताए। उनले मतदातालाई उद्धारकर्ताको रूपमा रहेको भनी उनीहरूको अपेक्षा पूरा गर्नुपर्ने पनि उल्लेख गरे। केजरीवाल भारतका पाका सामाजिक कार्यकर्ता अन्ना हजारेका सल्लाहकारको रूपमा राष्ट्रको अगाडि देखा परेका थिए। उनको भ्रष्टाचारविरोधी आन्दोलनले भारतलाई तताएको थियो।

यसपछि केजरीवालले आफ्नो दल स्थापना गरेका हुन्। दिल्लीको विधानसभामा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले ३१ स्थान प्राप्त गरी सबैभन्दा ठूलो दल बनेको थियो। केजरीवाललाई कांग्रेसले बाहिरबाट समर्थन दिएको छ। उसले आठ स्थान प्राप्त गरेको छ।

आरम्भमा केजरीवालले कांग्रेसको समर्थन नलिने बताएका थिए। उनले भ्रष्टाचारका लागि कांग्रेस पार्टीको निकै आलोचना गरेका थिए। पछि इमेल र टेक्स्ट सन्देशमा दिल्लीका नागरिकले उनलाई सरकार गठन गर्न आग्रह गरेका थिए। केजरीवालले विश्वको सबैभन्दा भीडयुक्त , गरिबीग्रस्त, प्रदूषित, स्वच्छ पानी तथा भरपर्दो ऊर्जा नभएको नगरको व्यवस्थापन गर्नुपर्छ। यो सजिलो कार्य होइन।

Comment