Thursday , December 14 2017
Home / PaperPublished / दाहालले भने- जनता रिसाएरै हामीलाई बढारे – अन्नपूर्ण पोस्ट

दाहालले भने- जनता रिसाएरै हामीलाई बढारे – अन्नपूर्ण पोस्ट

२५ नोवेम्बर २०१३, अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार 

निर्वाचनमा पराजय हुने देखेपछि धाँधली भएको भन्दै संविधानसभामै नजाने निर्णय सार्वजानिक गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी आन्तरिक बैठकमा भने ‘जनता रुष्ट भएर आफूहरूलाई बढारिदिएको’ बताएका छन्।

पूर्वपोलिटब्युरो तथा राज्य इन्चार्जहरूको शनिबार सुरु भएको बैठक र त्यसअघिका आन्तरिक छलफलमा दाहालले सार्वजनिक वक्तव्य दिएविपरीत आफूहरूसँग ‘जनता रिसाएको’ बताएका थिए। ‘जनता रिसाएकै हुन् हामीसँग, हामीलाई बढारेकै हुन्, दरिलो जबाफ दिएकै हुन् तर ठाउँठाउँमा छलछाम र षड्यन्त्र पनि भएकै हो’, उनले निर्वाचन परिणामबारे आफ्नो वास्तविक मूल्यांकन यसरी सुनाएका थिए।

केही पूर्वपोलिटब्युरो सदस्य एवं बुद्धिजीवीले मतगणना बहिष्कार र संविधानसभामा नजाने घोषणा गर्दा पार्टीलाई झन् क्षति पुगेको धारणा राखेका थिए। दाहालले त्यस्तो धारणा तत्कालका लागि ल्याउनु आवश्यक भएको जिकिर गरेको स्रोतले बतायो।

पार्टीको आगामी रणनीतिबारे उनले सबैसँग धारणा माग गर्दै बैठकमा भनेका थिए, ‘संविधानसभा प्रतिक्रियावादीहरूको थलो बन्यो, भन्डाफोर गरेर जाऔं भन्ने नीति लिनु पनि उचित हुँदैन, हाम्रा मुद्दा स्थापित गराउन कसरी भूमिका निर्वाह गर्न सकिन्छ यसमा सुझाव दिनुहोस्।’

संविधानसभामा जानचाहिँ जाने नै हो भन्दै उनले लुरुलुरु नजाने बरु कांग्रेस र एमालेलाई आफ्ना अजेन्डामा सहमति गराएर मात्र सहभागी हुने वातावरण बनाउन प्रयास गर्ने बताएका थिए।

राष्ट्रपति, युरोपेली संघ, अमेरिकी र भारतीय राजदूत सबैले निर्वाचन परिणाम अनपेक्षित आए पनि आफूलाई नै आगामी दिनको पनि मुख्य व्यक्तित्व भएकाले संविधानसभाबाट पार्टी बाहिर बस्न नहुने सुझाव दिएको सुनाउँदै दाहालले १२ बुँदे सहमतिदेखि संविधानसभा निर्वाचनसम्मका सबै प्रक्रियाबाट बाहिरिने अवस्थामा पार्टी पुग्न नहुने तर केही न केही उपलब्धि लिएरमात्रै संविधानसभामा जानुपर्ने धारणा राखेका थिए।

उनले निर्वाचनमा छलछाम र षड्यन्त्र पनि भएकै हो भन्ने जनतामा स्थापित गर्ने र पार्टीपंक्तिभित्र हामी कमजोर भएकै हो, जनताले बढारेकै हुन् भनेर तलदेखि माथिसम्म सुधार गर्ने आगामी रणनीति हुने बताएका थिए।

पार्टी नेता एवं नवनिर्वाचित सभासद् शक्तिबहादुर बस्नेतले अन्नपूर्णसँग भने, ‘जनता रिसाउने र खुसाउने दुवै थिए होलान्, त्यो अर्को ठाउँमा छ तर धाँधली त भएकै छ।’ बैठकमा ‘धाँधली’ रोक्‍न नसकेको समीक्षा भइरहेको उनले जानकारी दिए। बस्नेतले भने, ‘धाँधली रोक्‍न हामीले कति ध्यान दिनुपर्थ्यो र ध्यान दिएर पनि रोक्‍न नसकिने प्रकृतिका कति थिए भन्ने हो।’

दाहालले पार्टी बैठक सुरु हुनु अघिल्लो साँझ खगेन्द्र संग्रौला, हरि रोक्‍का, युग पाठक, राजेन्द्र महर्जन, सोमत घिमिरेलगायतका लेखक तथा अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका संघीय समाजवादी पार्टीका नेतासँग लाजिम्पाट निवासमा छुट्टाछुट्टै भेट गरी भावी कदमबारे जानकारी गराएका थिए।

Comment