Wednesday , December 13 2017
Home / Featured News / डा. केसीको अनसन तोडाउने प्रयास जारी

डा. केसीको अनसन तोडाउने प्रयास जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नव नियुक्त डिन शशी शर्मालाई राजिनामा गराएर डा. गोविन्द केसीको अनसन तोडाउने नेपाल चिकित्सक संघको प्रयास असफल भएको छ ।

संघले शर्मा र केसीसँग छुट्टा छुट्दै छलफल गरेर सहमति जुटाउने प्रयास गरेपनि असफल भएको हो । संघका पदाधिकारीले शर्मालाई राजिनामा दिन आग्रह गरेका थिए । शर्माले एकपटक केसीसँग छलफल गर्न संघलाई आग्रह गर्नुभएको थियो । शर्माको आग्रह लगत्तै संघका पदाधिकारीहरु डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका थिए ।dr.-govinda

तर केसीले त्रिविका उपकुलपति र रजिष्ट्रारलाई समेत कारवाही गर्नुपर्ने, शर्माको राजिनामा आउनुपर्ने र शिक्षण अस्पतालका सम्बन्धन रोकिनुपर्ने बटमलाइन सुनाउनुभएको छ । केसीलाई भेटेपछि संघका महासचिव मुक्तिराम श्रेष्ठले उज्यालोसँग भन्नुभयो ‘उहाँले तीन वटा बटमलाइन राख्नुभएको छ , डिनले पनि राजिनामा दिन्छु भन्नुभएको छैन । अब आन्दोलनका विषयमा आजै निर्णय गर्छौ ।’

उहाँले शनिबार नै आन्दोलनको घोषणा गर्ने तयारी गरेको बताउनुभयो । संघले सरकारले समस्या समाधान नभए आइतबारदेखि देशभरका सरकारी अस्पतालमा सेवा वन्द गर्ने घोषणा गरिसकेका छन् । तर समस्या समाधानका लागि अझै पहल गर्ने श्रेष्ठले बताउनुभयो ।

चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त बिभागीय प्रमुख डा. शशी शर्माको राजिनामा लगायतका माग राखी बरिष्ठ चिकित्सक डा. गोविन्द केसी ८ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।

समस्या समाधान गर्न रेग्मीको निर्देशन

मन्त्रिपरिषद्का अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

विवाद त्रिभुवन विश्वविद्यालयले आन्तरिक  रुपमा व्यवस्थापन गरी सम्वोधन गर्न सकिने भन्दै अध्यक्ष रेग्मीले शिक्षण अस्पतालमामा देखिको समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

समस्या जटिल बन्दै गएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, शिक्षा मन्त्री तथा त्रिविका सहकुलपति, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, शिक्षा मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवबीच संयुक्त छलफल भएको थियो ।

छलफलमा त्रिविका पदाधिकारीले शिक्षण अस्पताल र नेपाल मेडिकल एसोशिएशनका पदाधिकारीहरुसंग समेत परामर्श र छलफल गरी तुरुन्त समाधान गर्ने प्रतिवद्धता जनाएका शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकार सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको छ । सरकारले चिकित्साशास्त्र अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानको थप स्वायत्तताको विषयमा नेपाल सरकार बाट एक कार्यदल गठन भई सकेको र नयाँ मेडिकल कलेजहरुलाई सम्वन्धन दिइने विषयमा अहिलेलाई स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Comment