Friday , December 15 2017
Home / Featured News / पेट्रोलियम मूल्यबृद्धि आंशिक फिर्ता

पेट्रोलियम मूल्यबृद्धि आंशिक फिर्ता

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आंशिकरुपमा फिर्ता लिएको छ । सरकारको मूल्यबृद्धि आंशिक फिर्ता लिएलगत्तै दुई दिनदेखि अवरुद्ध संसद सुचारु भएको छ । सरकारको तर्फबाट प्रवक्ता महेश आचार्यले संसद्मा मूल्यबृद्धि आंशिक रुपमा फिर्ता लिने निर्णय सुनाएका हुन् ।

सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि गर्ने निर्णय गरेकोमा ४ रुपैयाँ ५० पैसा मात्रै बृद्धि गर्ने भएको छ । मटि्टतेल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा मात्रै बृद्धि गरिने मन्त्री आचार्यले सदनलाई जानकारी गराए । यसअघि मटि्टतेल र डिजेलमा प्रतिलिटर ६-६ रुपैयाँ बृद्धि गरिएको थियो ।

हवाई ईन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियको लागि प्रतिलिटर १० रुपैयाँ मात्रै बृद्धि गरिने मन्त्री आचार्यले बताए ।

मूल्यबृद्धिको विरोधमा प्रतिपक्ष एमाओवादी, राप्रपा नेपाललगायत दलहरुले आज ११ बजेको संसद् बैठक अवरुद्ध पारेपछि सरकाले निगम पदाधिकारीसहित प्रतिपक्षसँग छलफल गरेर मूल्यबृद्धि आंशिक फिर्ता लिने निर्णय गरेको हो । मूल्यबृद्धिको विरोधमा १७ बिद्यार्थी संगठन पनि आन्दोलनमा छन् ।

मन्त्री आचार्यले पेट्रोलियम पदार्थको समस्याबारे दीर्घकालिन समाधान खोज्न संसदीय समिति बनाइने जानकारी दिए ।

उनले निगमको खर्च घटाउन कर्मचारीलाई तेलको कुपन वितरण बन्द गरिने, पोशाक खर्च कटौती गरिने, ओभरटाईम हटाइने, इलेक्टि्रोनिक हाजिरी लागू गरिने, तेलको ट्याङ्करको जीपीएस प्रणालीबाट अनुगमन गरिने, ग्यासको निलो र रातो सिलिण्डर प्रणाली प्रभावकारी रुपमा लागू गरिने, पेट्रोल पम्पको कमिशन नबढाइने बताए ।

प्रतिपक्ष दललहरुले पनिसमस्याको दीर्घकालिन समस्या समाधानको लागि संसदीय समिति गठन गर्ने भएकाले त्यसैबाट समाधान खोजिने भन्दै संसद् सुचारु गर्ने सहमति जनाएका हुन् ।

 

Comment