Saturday , December 16 2017
Home / Article / जेल र त्रासपूर्ण जीवन-भुटानी गाथा

जेल र त्रासपूर्ण जीवन-भुटानी गाथा

padam kafle photo edited

पदम काफ्ले

 पदम काफ्ले
मुक्तानका घरै मास्तिर सडकका छेवैमा ठूलो चौतारो बनाइएको छ, जसलाई मुक्तानको बस स्टप भनेर चिन्ने गरिन्छ । यो चौतारो नयाँ नभएर पुरानै हो जहाँ स्कुले, पाठशाले र बटुवा थकाई मारी यो बस स्टपबाट आफ्नो गन्तव्यतिर लाग्ने गर्छन् तर केही महिनाबाट स्कुल र पाठशाला बन्द भएकाले यो चौतारोमा आवतजावत कम भएको छ र सुनसानजस्तै भएको छ आजकल , दुईचार महिना पहिले यहाँ कोही न कोही भेटिन्थ्यो र भलाकुसारी पनि गरिन्थ्यो तर आजकल गाउँमा मानिस भेला भएर हिड्न वा समूहमा गफ गर्ने प्रचलन पूर्णरुपमा प्रतिबन्धित गरिएकाले होला यहाँ भलाकुसारी गर्न कोही पनि भेला हुन छाडेका छन् ..केवल दिनमा एकाध बटुवाहरु यस चौतारोमा केही क्षण आराम गर्दा हुन् आजभोलि……..
आज म एक्लै मुक्तानको बस स्टपमा बसेर थकाई कम गर्दैछु ….हप्ता दस दिन नै भएछ छिमेकी मुक्तान बाका घरतिर नआएको भन्ने मनमा सोच्दै पनि छु अहिले …..एकाएक मेरो दृष्टि तल्तिर मुक्तानको धान पेल्ने मिल भएको ठाउँमा एकाग्र हुन पुग्यो । जन्तरे छोराले मुक्तान बालाई यसो बाटामा लौरो टेकाउँदै हिड्ने अभ्यास गराइरहेको देखेँ । ढाड निहुरी र खुट्टा बाङ्गा बनाउँदै दाहिने हातमा बैसाखी र देब्रे हातले छोराको काँधमा हात राखेर बिस्तारो हिड्दै छन् मुक्तान बा अहिले ……बिचरा मेरा छिमेकी मुक्तान बा, जेलबाट छुटेको एक महिना जति भयो अझ पनि राम्ररी तङ्ग्रिन भने सकेका छैनन् । जेलको पिटाइले बाको कम्मरको हड्डी भाँचिएको र तिघ्राका हड्डी फुटेको छ भनी डक्टले नै भनेछ …, विभिन्न दवाइपानी र घरको स्याहारसुसारले धन्न यत्तिको हिड्न सक्ने भएछन् भन्ने मलाई लाग्यो ।
विगत र वर्तमानमा गाउँमा घटेका घटनाबारे चौतारामा बसेका बेला मेरा दिमागमा एकपछि अर्को स्मरण हुन लाग्यो ……लामीडाँडा गाउँका धेरै मानिसहरु जेलमा नै छन् आजभोलि… कति त जेल मै मरे अनि कति जेलबाट छुटेकाहरु मरिजानु कि गरिखानु भएर घरमा नै लम्पसार परेका पनि छन्…नानाभाँतीका आरोप लगाउँदै आर्मीले लगेकाहरु कोही डम्फुको जेलमा त कोही थिम्फुको जेलमा नारकीय जीवनयापन गरिरहेका छन् । आखिर किन जनता र सरकारबीच यस्तो बैरभाव र शत्रुता …? किन सरकारले दमनको नीति अपनाएको होला नि भन्ने लागिरहेको छ मलाई..मेरो मन झनै उथलपुथल हुन थाल्यो यी कुरा सोच्ता अहिले… ।
अस्तिको दिनमात्र ढुङ्गेल भिनाजु, भोलानाथ दाई, चिदानन्द र भविलाललाई पाता कसेर आर्मीले कुट्तै र पछार्दै डम्फु लगेका छन् ….उनीहरुको फर्किने आशा कमै छ भनेर गाउँलेहरु भनिरहेका छन्..उनीहरुमाथि धेरै ठूलो आरोप सरकारले लगाएको छ रे…..पार्टीका मानिसलाई चन्दा दिएको, नाराजुलुसमा भाग लिएको र गाउँका सोझा जनतालाई आन्दोलनमा लाग्न उक्साएको भनी उनीहरुमाथि कडा कार्वाही थालिएको छ भन्ने कुरा सुन्नमा आइरहेको छ …..यस्तै आरोपका साथ करिब पन्द्र बीसदिन पहिला आर्मीले जेल लगेका भोजराज र कर्ण दाईलाई कुट्ता कुट्तै प्राण गएको थियो भन्ने कुरा जेलबाट छुटेर आएका लक्षुमन दाईले नै गाउँमा बताएका थिए…. ती भोजराज र कर्ण दाईका परिवार हिजोदेखि गाउँमा छैनन्……कता गए कता..? परिबार नै सरकारले लगेको छ वा कतै गएका छन् भन्ने कुरा छरछिमेक कसैलाई थाहापत्तो छैन । लक्षुमनकै आँखाका अघि जेलमा कुट्तै मारिएका भोजराज र कर्ण दाईको लास घरपरिबारमा जिम्मा दिइएको पनि थिएन.. केवल खबरकै आधारमा परिबारले काजक्रिया भने गरेका थिए…. काजक्रियापछि ती दुई परिबारको अत्तोपत्तो नहुनु अचम्म भएको छ ………………
“ अलि बिस्तारो….बिस्तारो….यहाँ बस्नु बुबा ” भन्दै जन्तरे छोराले मुक्तान बालाई म बसेकै चौतारोसम्म ल्याएर बिस्तारै बस्न भने र बाबै मेरा छेवैमा बसेका छन् अहिले…..हँ..हँ..हँ, अइया……पनि भन्दै छन् बाबै बसेका ठाउँमा । शारीरिक दुखाइका कारण बाबैलाई गाह्रो भएको मैले महसुस गर्दैछु त्यहाँ…
अरुबखतको भेटमा “ काफ्ले कान्छा ” भनेर सम्बोधन गर्थे मुक्तान बाले मलाई तर आज भने “ कान्छा” मात्र भने । जन्तरे छोरा अलिपर चउरमा गएर लमतन्न भएर सुते उनका बुबालाई मेरा छेउमा छाडेर ।
मुक्तान बाबै र मबीच बसेका ठाउँमा सामान्य कुरा हुन थालेको छ अहिले…एकैछिन पछि केही आवेश र भावुक बन्दै अनि आँखाबाट आँसु झार्दै मुक्तान बाबै बर्बराउन थाले – “ खै मेरा पाँचपाँच ओटा गाडी…? स्कुटर र बाइक….? मेरा दुखले कमाएको सम्पत्ति आज मसँग छैन… खै मेरो मिल….? डम्फु र लामीडाँडाका दुकान….? सबै लुट्यो सरकारले….आर्मीले….मेरो अब केही बाँकी राखेनन्…सबै लुछे …लुछे…सके मलाई … ….बर्बाद बनाए ” ।
पर्तिर दुबोमा लमतन्न भई सुतेका जन्तरे छोराले यसो मन्टो उठाएर “ बुबा , जे भयो भइगयो अब….ती कुरा बिर्सिदिनुपर्छ….बितेका कुरा गरेर के फाइदा …? तपाईंले बेसी बोल्नु पनि हुँदैन, डाक्टरले त्यसै भनेको छ… ” भन्दै बाबैलाई चुप लगाउन खोजे तर बाबैले जन्तरेका कुरालाई सुन्दै नसुनी बड्बडाइरहेका छन् (“ हाम्रो यत्रो सम्पत्ति लुटियो, मलाई जेलमा कुट्ताकुट्तै मरो भनेर फ्याँकेको हो…मेरा दुईटा छोरा अझ पनि जेलमै छन्…तिनीहरुको शरीरमा सास हुन्जेल चाहिँ आर्मीले पिट्छन् ….अब यो बचेको घर पनि कुनै दिन मबाट लुसिन्छ…” भुत्भुताउँदै र आँखाका आँसु पुछ्तै मुक्तान बाले लामो सास फेरे । उनी धेरै नै भावुक बन्दै गएको मैले महसुस गर्दैछु अहिले…..
मुक्तान बाले भन्दै गर्दा म उनीतिर हेरेर यसो टाउको हल्लाउँदै छु र उनका कुरा सुन्दैछु भन्ने शङ्केत पनि जनाउँदैछु बेलाबेला ….
भक्कानिएका स्वरमा मुक्तान बाबै फेरि पनि भन्न थाले “ म यो पापी देशमा बस्तिन….के आशले यो मेरो देश भनूँ….? सर्वस्व लुटियो……अब जेल लगेका मेरा छोरालाई मार्छन् ती पापीले…लाससम्म देख्न नपाइने भो……………..
बाबु झन्झन् भावुक बन्दै गएकाले जन्तरे छोरा पर्तिरको चउरबाट आएर “ जौं बुबा…तँपाईलाई गाह्रो हुन्छ धेरै बेर यसरी बस्ता” भन्दै फेरि बसेका ठाउँबाट घरतिर हिडाउन थाले आफ्ना बाबुलाई । बाबै फलैंचाबाट उठ्ता बरर आँशु झारे त्यहाँ………
बाबैका कुराले म पनि गहभरि आँशु पार्दै घरतिर लाग्दैछु…ज्योतिषी बाका घरछेउको वरपीपलमा आइपुग्दा वरका दाना खादै गरेका चराको चिरविर आवाजले मेरो भावुक मन केही झस्कियो र मनमा अन्य विषयले बिस्तारै स्थान पाउन थाल्यो ।
गोलाईमा पुग्दा बिनाले माथि घरको छेउको पाखोबाट मलाई देखेर हात हल्लाइन् , मैले पनि प्रत्युत्रमा हात हल्लाई दिएँ । स्कुल पाठशाला दुईतीन महिनाबाट बन्द भएकाले बिना र मेरो भेट भएको पनि रहेनछ भन्ने मनमा सोच्दैछु अहिले…
मेरो घर पर्तिरको बाँसघारीबाट आँगनतिर आउँदै गर्दा घरमा निकै कल्याङमल्याङ मानिस बोलेको आवाज आउनथाल्यो…मनमा शङ्का उपशङ्काका साथ दौडिदै आँगनमा पुगेँ । छोकानाबाट डिल्लीराम भिनाजु घरमा आएका रहेछन् र छिमेकी धिताल दाई अनि पर्तिरका भुजेल मित भिनाजु पनि बसेर कुरा गरिरहेका रहेछन् हाम्रा आँगनमा….
केही क्षणको वार्तालाप पछि डिल्लीराम भिनाजुले बिस्तारो कुरा कोट्याउँदै बुबा र आमा पट्टी फर्केर भने “ मेरा ससुराली भनेको तपाईहरु नै हो….सधैँ तपाईहरुको भलो चिताउने गरेको छु , म आज तपाईंहरुका निम्ति एउटा नराम्रो खबर लिएर आएको छु…कसरी भनूँ भन्ने मनमा लागिरेको छ…हाम्रो गाउँको मण्डलले हिजो मात्र ठिम्पेन अफिसमा पक्रेर जेल हाल्ने लिस्टमा तपाईँ बाबु छोराको नाम देखेको थियो रे….. सायद यही हप्ताभित्र तपाईँहरुलाई पक्रिन्छ । मण्डलले तपाईका ससुरालीलाई गएर खबर दिनुहोस् भन्दा म आएको हुँ , छोकाना मण्डल र तपाईको सम्बन्ध राम्रो भएकाले पनि उनले तपाईलाई मबाट खबर पठाएका हुन् …बच्न सक्नुहुन्छ कि भनेर तर कसरी बच्नु होला….? खै म त के भनौँ…? अनि अर्को कुरा पनि भनेका छन् मण्डलले तपाईका निम्ति , गाउँमा केही चम्चा गर्ने व्यक्ति छन् तिनीहरुदेखि बचेर बस्नु रे , तपाईले के गर्दै हुनुहुन्छ ती चम्चाले चाल नपाऊन् रे , सुराकीका कारण पनि मानिस जेल परिरहेका छन् भनी मण्डल भन्दै थिए ”
आमाका आँखाबाट बरबर्ती आँशु झर्न थाले, बुबा एकतमासले सोचेको सोच्यै देखिनु भयो , दाजु र भाउजू काला र मलिन अनुहार लिएर आँगनमा ठिङ्ग उभिएका छन् , मेरो होसहवास गुमे जत्ति कै भएको छु भिनाजुका कुरा सुनेर………के गरुँ कसो गरुँ भइरहेको छ मेरा मनमा….
“आजदेखि घरमा रातदिन कोही नबस…म मात्र एक्लै बस्छु , लुकेर हप्तादस दिन हेरौँ…..सायद अवस्था परिवर्तन हुन्छ कि …? आमाले रुन्चे स्वरमा परिबारका सदस्यबीच त्यति भन्दा बुबाले मान्नु भएन र भन्नुभयो “ हामी लोग्ने मानिस त जङ्गल र भिरपहरातिर गएर लुकँौला तर बुहारीहरुले त्यो गर्न पनि त सक्तैनन्.. अनि सम्भव पनि त छैन नि”
आज घरमा पाकेको भात घरका कसैले पनि खाएनौँ, खान मन पनि भएन कसैलाई , लुकेर र भागेर कति दिनसम्म आर्मीबाट बच्न सकिएला र …? आखिर पक्रिने लिस्टमा दाजु र बुबाको नाम परिसकेको रहेछ..अब के गर्ने होला …? मन भुट्भुटिरहेको छ मेरो …मलाईभन्दा धेरै चिन्ता त बुबाआमा र दाजुभाउजूलाई परेको छ…..
बुबा र दाजुले एकएक ओटा पातला धुसा आआफ्ना काँधमा हाल्दै सिकुवामा उभिएर मलाई पर्खिनु भयो । मैले हतारले आमाको बर्को बोकेर आमा र भाउजूतिर पुलुक्क हेरेँ…सदा झैँ हामी आर्मीबाट बच्न र ज्यान जोगाउन जङ्गलतिर ल्याग्यौँ..घरमा आमा र भाउजूहरु डाको छोडेर रुन थाल्नुभयो – ह्वाँ……..ह्वाँ……ह्वाँ………………………………..
[email protected]

 

Comment