Thursday , December 14 2017
Home / World / चिनियाँ धनाढ्य चेनले न्युयोर्क टाइम्स किन्ने

चिनियाँ धनाढ्य चेनले न्युयोर्क टाइम्स किन्ने

 चीनका सबैभन्दा धनी ४ सय व्यक्तिमध्ये एक चेन ग्वाङविआओले सोमबार आफू अमेरिकी अखबार किनेर त्यसको विश्वसनीयता र प्रभावकारिताको पुनः निर्माण कार्यमा लाग्ने बारे गम्भीर रहेको जानकारी दिएका छन्। समय समयमा सामाजिक संस्थाहरूलाई ठूलो परिणाममा चन्दा सहयोग उपलब्ध गराएर चर्चामा आइरहने चेनले सरकारी अखबार ग्लोबल टाइम्सको विचार पृष्ठमा प्रकाशित आफ्नो लेखमा उनले लेखेका छन्– ‘म न्युयोर्क टाइम्स किन्न चाहन्छु, कृपया यसलाई ठट्टाको रूपमा नलिनुहोस्।’ न्युयोर्क टाइम्सको परम्परा र शैलीले गर्दा यसलाई चीनको सम्बन्धमा वस्तुगत समाचार सम्प्रेषण गर्न गार्हो परेको छ। ‘यदि यसलाई हामीले खरिद गर्यौं भने यसको लयलाई फेर्न सकिन्छ। त्यसैले मैले यस सम्बन्धमा आफ्नो विचारसँग सहमत हुने खालका लगानीकर्ताहरूसँग छलफल गरिरहेको छु।’

nytimes-special-edition

 न्युयोर्क टाइम्सले चीनको बारे समाचार छापेर थुप्रै पुरस्कारहरू जितिसकेको छ। सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओको पारिवारिक सम्पत्तिबारे अनुसन्धनात्मक लेख छापेर त्यसले प्रतिष्ठित पुलित्जर पुरस्कार प्राप्त गरेको थियो। सोही बेलादेखि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा उक्त अखबारको वेबसाइट बन्द गरिएको छ भने त्यससँग आबद्ध थुपै्र पत्रकारहरूलाई चीनका लागि प्रवेशाज्ञा पाउन गार्हो भएको छ।

 चिनियाँ सरकारी सञ्चारमाध्यम र अधिकारीहरूले विदेशीहरूको आलोचनालाई प्रायः सत्तारुढ कम्युनिस्ट पार्टी र राष्ट्रमाथि नै आक्रमण भएको ठान्ने गरेका छन्। चेनले यदि आफूले उक्त अखबार खरिद गर्न सफल भएको खण्डमा केही आवश्यक सुधार गरी त्यसको थप आधिकारिक र वस्तुगत बनाई त्यसको विश्वसनीयता र प्रभावकारिताको पुनः निर्माण गर्ने बताएका छन्। गत सोमबार दक्षिणी चिनियाँ शहर सेन्झेनमा आयोजित एक कार्यक्रममा चेनले आफूले अमेरिकामा गएर उक्त अखबार खरिदका लागि छलफल गर्ने योजना बनाएको बताउँदा त्यसलाई अधिकांश व्यक्तिले धनी व्यवसायी चेनको आफूतिर सबैको ध्यान आकर्षण गर्ने अर्को नाटकको रूपमा टिप्पणी गरेका थिए।

 त्यसको चार दिनपछि चाइनिज बिजिनेस न्युजका एक पत्रकारले चेनलाई न्युयोर्कको जाह्न एफ. केन्नेडी विमानस्थलमा देखेका थिए। तर गतसाता न्युयोर्क टाइम्सको महिला प्रवक्ताले आफ्नो कम्पनीसँग चेनसँग कुनै वार्ता भएको सूचना नरहेको बताएकी थिइन्। चिनियाँ धनी व्यक्तिहरूको सूची सार्वजनिक गर्ने हुरुन प्रतिवेदनले चेनको रिसाइकलिङ कम्पनी हुआन्गपु रिन्युएवल रिसोर्सेस युटिलाइजेसन ग्रुपमा ८२ करोड ५० लाख अमेरिकी डलर बराबरको लगानी रहेको जनाएको छ।

 कुनैबेला प्रदुषित वातावरणमा बस्न बाध्य बेइजिङका बासिन्दालाई क्यानमा बन्द ताजा हावा बिक्री गर्ने गरेका चेनले अखबार खरिदको सिलसिलामा हङकङस्थित एक व्यवसायीलाई आफूले ६० करोड अमेरिकी डलर लगानी गर्न आग्रह गरेको पनि बताएका छन्। न्युयोर्क टाइम्सको बजार पूँजी २ अर्ब डलरभन्दा बढी रहेको छ। चेनले भाउ मिलेमा कुनै पनि चिज खरिद गर्न सकिने बताएका छन्।

 उनले सन् २०१२ को डिसेम्बरमा आफूले चिनियाँ भाषामा ‘दियाओयुस’ र जापानी भाषामा ‘सेन्काकुस’ को नामले चिनिने टापूहरूको समूहमाथि चिनियाँ सार्वभौम दाबी गर्दै न्युयोर्क टाइम्समा विज्ञापन छपाएदेखि नै आफूमा सो अखबारै किन्ने सोच पलाएको पनि बताएका छन्। चेनले आफूलाई अमेरिकीहरूले तीव्र विकासमा निरन्तर अग्रसर सभ्य र खुल्ला चीनको बारे कमै बुझेको जस्तो लागेको धारणा पनि व्यक्त गरेका छन्।

Comment