Friday , December 15 2017
Home / Featured News / खेलाडीहरुले कर छुट सहित पाए रु १० लाख

खेलाडीहरुले कर छुट सहित पाए रु १० लाख

गत महिना युएइमा सम्पन्न आइसीसी टीट्वान्टी विश्वकप क्रिकेटमा तेस्रो स्थान हात पार्दै पहिलो पटक विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले घोषणा गरेको १०/१० लाख रुपैयाँ पुरस्कार सोमबार प्रदान गरेको छ। आगामी मार्चमा बंगलादेशमा आयोजना हुने टीट्वान्टी विश्वकपका लागि छनोट भएलगत्तै मन्त्रपरिषद्को बैठकले प्रत्येक खेलाडीलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।

सोहीअनुरूप मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहित खेलाडीलाई सम्मान गरे। नेपाललाई विश्वकपमा छनोट गराउने टोलीमा रहेका खेलाडी पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुभाष खकुरेल, अनिल मण्डल, महेश क्षेत्री, सागर पुन, प्रदीप ऐरी, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, राहुल विश्वकर्मा, अविनाश कर्ण, विनोद भण्डारी, अमृत भट्टराई र जितेन्द्र मुखियाले १०/१० लाख रुपैयाँ पाएका हुन्।

 

प्रशिक्षक पुबुदु दासनायकेलाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरियो। सहायक प्रशिक्षक दीपेन्द्रप्रताप सिंह, फिजियो विरास्वामी सुब्रमण्यम, टोली व्यवस्थापक पूर्ण लामा र म्याच एनालिस्टलाई जनही तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो। कार्यक्रममा अध्यक्ष रेग्मीले नेपाली क्रिकेटको विश्वकप छनोट सम्पूर्ण नेपालीका लागि अविस्मरणीय र ऐतिहासिक क्षण भएको बताए। उनले सरकारले दिएको सम्मानभन्दा जनताको प्रशंसा ठूलो भएको बताए। ‘क्रिकेटले दिलाएको सफलताका लागि यो सांकेतिक सम्मान मात्र हो, जनताको प्रशंसा त योभन्दा झन् उच्च छ’, रेग्मीले भने।

आगामी माघमा न्युजिल्यान्डमा आयोजना हुने एकदिवसीय क्रिकेटको छनोट चरणको तयारीका लागि मंगलबार श्रीलंका जान लागेको क्रिकेट टोलीलाई अध्यक्ष रेग्मीले सम्मानपछि बिदाइ पनि गरेका थिए। नेपाली क्रिकेटलाई गरेको सहयोगका लागि रेग्मीले श्रीलंकाली प्रशिक्षक दासानायेके र श्रीलंका सरकारलाई पनि धन्यवाद दिएका थिए। उनले युवा क्रिकेटरले नेपाललाई विश्वमाझ चिनाउन खेलेको भूमिका प्रशंसनीय रहेको र त्यसका लागि सरकारी सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले क्रिकेटको भौतिक पूर्वाधार विकासमा लागि सरकारले यसपटक राम्रो बजेट दिएको बताए। विश्वकपमा छनोट भएलगत्तै सरकारले मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) लाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य योजना बनाउन निर्देशन दिएको थियो।

सोहीअनुरूप गठित कार्यदलले पहिलो चरणमा कीर्तिपुर मैदानमा इन्डोर हल बनाउने प्रस्ताव र योजना राखेपलाई बुझाइसकेको थियो। नेपाली टोलीका कप्तान पारसले क्रिकेट नेपालका लागि ठूलो सम्भावना बोकेको खेल भएकाले सबैको सहयोग आवश्यक रहेको बताए।

क्रिकेटरलाई कर छुट

सरकारले खेलाडीलाई प्रदान गर्दै आएको नगद पुरस्कारमा लगाइने आकस्मिक लाभकर क्रिकेटरसँग भने नलिने निर्णय गरेको छ। सरकारले पहिलोपटक खेलाडीलाई पुरस्कार रकममा कर छुट दिएको हो। यसअघि पुरस्कारबापत पाएको रकममध्ये आकस्मिक लाभ कर २५ प्रतिशत काटेर खेलाडीलाई दिइने गरिएको थियो।

 

कर छुट नभएको भए १० लाखको घोषणा भए पनि क्रिकेट खेलाडीले सात लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गर्ने थिए, तर सोमबारको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले मन्त्रीपरिषद्को निर्णयबाटै क्रिकेट खेलाडीसँग कर नलिने निर्णय गरेको बताए। जसका कारण खेलाडीले पुरस्कारबापत पूरै १० लाख रुपैयाँको चेक प्राप्त गरेका थिए।

सेन्चुरी बैंकको पुरस्कार योजना

राष्ट्रिय क्रिकेटरलाई प्रोत्सहान गर्ने उद्देश्यले सेन्चुरी बैकले नेपालले खेल्ने आइसीसी र एसीसीअन्तर्गतका हरेक प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

बैंकले आगामी दिनमा प्रतियोगितामा शतक हिर्काउने र एउटै खेलमा पाँच विकेट लिने खेलाडीलाई एकएक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। यसैगरी एउटै खेलमा अर्धशतक बनाउने र तीन विकेट लिने खेलाडीलाई ५०/५० हजार रुपैयाँ पुरस्कार दिइने घोषणा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले गरे।

बैंकले टीट्वान्टी विश्वकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नै नगद पुरस्कारसहित सम्मान पनि गर्‍यो। सेन्चुरी बैंकले टीट्वान्टी विश्वकप छनोट प्रतियोगितामा सहभागी १५ जना खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गर्‍यो। नेपाल क्रिकेट संघ (क्यान) सँग बैंकले अफिसियल पार्टनरका रूपमा सम्झौता पनि गरेको छ।

सिद्धार्थ बैंकको नगद सम्मान

यसैगरी सोमबार नै भएको कार्यक्रममा सिद्धार्थ बैंकले विश्वकपमा छनोट भएको टोलीलाई नगद पाँच लाख रुपैयाँसहित सम्मान गर्‍यो। बैंकले टीट्वान्टी विश्वकप छनोट प्रतियोगितामा सहभागी टोलीमा नरहेका तर अहिले एकदिवसीय विश्वकप छनोट चरणमा अन्तिम १५ भित्र परेका पृथु बास्कोटा र समोपाल कामीसमेत गरी १७ जना खेलाडी, प्रशिक्षक पुबुदु दासानायेके, फिजियो सुव्रमण्यम र टोली व्यवस्थापक पूर्ण लामालाई पुरस्कार रकमबाट जनही २५ हजार रुपैयाँ बराबरको बैँक ब्यालेन्ससहितको भिसा प्रिपेड कार्ड उपलब्ध गराएको छ।

 

यसैगरी बैंकले युवा क्रिकेटर पृथु र सोमपाललाई आगामी दुई वर्षका लागि जागिर प्रदान गरेको जानकारी पनि बैंकका अध्यक्ष चिरञ्जीलाल अग्रवालले दिए। पुथु र सोमपाल एकदिवसीय विश्वकपका लागि नयाँ सदस्यका रूपमा छनोट भएकाले दुवै क्रिकेटरलाई सिद्धार्थ बैंकले रोजगारीको जिम्मा लिएको हो। यसअघि विश्वकपमा छनोट हुने टोलीका खेलाडीलाई विभिन्न व्यापारिक प्रतिष्ठानले जागिर दिने निर्णय गरिसकेका छन्।

पारससँग समर्थकको साक्षात्कार

दिनभरि सम्मान र पुरस्कार थाप्न व्यस्त रहेका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सोमबार बेलुकी समर्थकसँग साक्षात्कार कार्यक्रम गरे। पारस ब्रान्ड एम्बेसडर रहेको बजाज पल्सरले ‘मिट एन्ड ग्रिट पारस’ नामक कार्यक्रम आयोजना गरी उनलाई समर्थकसँग भेटाएको हो।

कार्यक्रममा पारसले समर्थकसँग टीट्वान्टी विश्वकप छनोट चरणको अनुभव साटेका थिए। समर्थकको प्रश्नको जवाफ दिने क्रममा पारसले न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सफलता हात पार्न टोलीले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

 

 

Comment