Saturday , December 16 2017
Home / Featured News / किन रोएँ थाहा छैन : पारस खड्का – नया पत्रिका दैनिक

किन रोएँ थाहा छैन : पारस खड्का – नया पत्रिका दैनिक

नायक हुन सिनेमा नै खेल्नुपर्छ भन्ने छैन । पारस खड्का पनि सिनेमा होइन, क्रिकेटका नायक हुन् । उनको नायकत्वमा नेपालले बंगलादेशमा हुने टी–२० विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाललाई क्रिकेटमा लगातार एकपछि अर्को सफलता दिलाइरहेका यी ‘मिस्टर कुल’ अहिले लाखौँ नेपाली क्रिकेट फ्यानका ढुकढुकी बनेका छन् ।

 टी–२० विश्वकपमा नेपालको स्थान सुरक्षित गरेर स्वदेश फर्केको १५ दिनपछि कप्तान पारस खड्कासित भेटघाटको साइत जुर्‍यो । उनले आफू बसेको नक्सालस्थित होटेल क्राउन प्लाजामा बिहान आठ बजे नै बोलाएका थिए । अन्तरंग कुराकानी गर्ने सोचका साथ हामी समयमै पुग्यौँ । करिब नौ बजेतिर मात्र पारस होटेलको भान्सामा देखिए । उनको ६ फिट २ इन्च अग्लो शरीरले हामीतिर आएर हात लम्कायो । हामीले कुर्सीबाट उठेर हात मिलायौँ । उनी मुस्काए, तर हो कि होइन जसरी ।

‘के विषयमा कुरा गर्ने ?’ उनले सोधे । हामीले जवाफ दियौँ, ‘क्रिकेटको ।’ त्यसो त व्यक्तिगत प्रश्नहरू पनि थुप्रै दिमागमा थिए । तर, कृपया व्यक्तिगत प्रश्न नगर्नुहोला भन्ने सन्देश पहिल्यै आएको थियो ।

पारस एउटा प्लेटमा खाजा (दुईवटा अन्डा, एउटा स्यान्डबिच) र कफी बोकेर कुनाको टेबुलमा गए र हामीलाई त्यहीँ बोलाए । कफीका लागि आग्रह गरे, तर हामीले उनको प्रतीक्षा गर्ने क्रममा दुईपटक पिइसकेका थियौँ । ‘मसित १५ मिनेट मात्रै छ । खाँदै कुरा गरौँ है,’ उनले भने ।

 क्रिकेटबाटै कुरा सुरु भयो । झट्ट हेर्दा ‘रिजर्भ’ देखिने पारसले हरेक प्रश्नको जवाफ खुलेर दिए । उनको ब्याटिङ शैली र बोल्ने शैलीमा समानता देखियो, सन्तुलित र आत्मविश्वासपूर्ण । हरेक प्रश्नको सटिक जवाफ दिए । नेपाल विश्वकपमा पुग्दाको अनुभूतिबाट हाम्रो संवाद सुरु भयो, र उनी यसरी प्रस्तुत भए :

विश्वकपमा पुग्दाको क्षण

केन्याविरुद्ध विशाल लक्ष्य सफलतापूर्वक पछ्याएपछि हाम्रो टिममा नयाँ विश्वासको सञ्चार भएको थियो । हामी यो लेबलका लागि तयार छाँै भन्ने अनुभूति भएको थियो । त्यही आत्मविश्वासले हामीलाई विश्वकपमा पुर्‍याएको हो जस्तो लाग्छ ।

हङकङविरुद्ध निर्णायक क्वार्टरफाइनल खेल्नुअघि तीन दिनजस्तो ग्याप थियो । ट्रेनिङ गरिरहेका थियौँ । सबै खेलाडीमा नर्भसनेस देखेको थिएँ । किनकि त्यो गर या मरको अवस्था थियो । देशको क्रिकेटका लागि भन्ने कि खेलकुद जगत्का लागि भन्ने कि खेलाडीहरूको आफ्नै फ्युचरका लागि भन्ने कि ? सबै हिसाबले एकदमै महत्त्वपूर्ण थियो । त्यस्तो खेलमा प्रेसर हुन्छ नै । तर, हामी सकभर कुल भएर प्राक्टिस गरिरहेका थियौँ ।

म्याचको दिन सबैजना एकदमै फोकस थियौँ । बिहानदेखि वार्मअप गरिरहेका थियाँै । त्यस दिन भाग्यवश हामीले टस जित्याँै । त्यसअघि कुनै म्याचमा पनि हामीले टस जित्न सकेकै थिएनाँै । 

ट्वान्टी–ट्वान्टीमा मैदानको कन्डिसन जस्तोसुकै होस्, लक्ष्य दिनेभन्दा पनि पछ्याउनेमा हामी बढी आत्मविश्वासी छौँ । यसअगाडि पनि लक्ष्य पछ्याउँदा लगातार सफलता पाएका थियाँै । जुन फर्मुलाले काम गरिरहेको थियो, त्यसैलाई प्रयोग किन नगर्ने भन्ने भयो र मैले पहिले बलिङ रोजेँ ।

हाम्रो बलिङ र फिल्डिङ दुवै सार्प थियो । तैपनि हङकङले अन्तिम ओभरहरूमा केही ठूला सट खेलेर १४३ को चुनौतीपूर्ण लक्ष्य दियो । तर, यति रन पछ्याउन सक्छौँ भन्ने थियो हामीलाई । बस, सम्हालिएर खेल्नु थियो ।

सागर र सुवासले राम्रै सुरुवात गरे । त्यसपछि ज्ञानु र मेरो पार्टनरसिप भयो । गेम कुनै वेला पनि हाम्रो नियन्त्रणभन्दा बाहिर गएको थिएन । तर, मिसकम्युनिकेसन भनौँ कि मिसजजमेन्ट, ‘क्रुसियल’ समयमा म रन आउट भएँ । म दुई रन लिने धुनमा बलै नहेरी दगुर्न खोजेछु । जब कि त्यहाँ दुई रन थिएन । आफ्नै गल्तीले आउट भएको थिएँ ।

यसरी आउट हुँदा म एकदमै दु:खी भएको थिएँ । कतै यही नै गेमको टर्निङ प्वाइन्ट बन्ने त होइन भन्ने डर थियो । त्यतिनजिक पुगिसकेर पनि खेल सुम्पनुपरेको भए र नेपाल विश्वकपमा छानिन नसकेको भए म सायद आजसम्म पनि पछुतोमा डुबिरहेको हुन्थेँ । तर, नेपालको भाग्य, हामीसित शरद भेषवाकरजस्ता फिनिसर थिए । प्रदीप, शक्ति र वसन्त पनि बाँकी नै थिए ।

भेषवाकरले पहिलो दुई बलमै छक्का र चौका हानेपछि खेल अब सकियो भन्ने लागेको थियो । तर, अन्तिम ४ बलमा हङकङका बलरले निकै राम्रो कमब्याक गरे । खेल अन्तिम बलसम्म पुग्दा हाम्रो ढुकढुकी अचानक बढ्यो । मसहित सबै खेलाडी मनमनै प्रार्थना गरिरहेका थियौँ । हाम्रो यत्रो वर्षदेखिको मिहिनेत त्यसै खेर जान हुँदैनथ्यो ।

अन्तत: शरदले कत्ति पनि नहडबडाईकन अन्तिम बलमा एक रन लिँदै नेपाललाई जिताए । तत्कालै केही खेलाडी र दर्शक हुरुरु मैदानभित्र पसे । प्रशिक्षक मेरो छेउमै हुनुहुन्थ्यो । हामीले एक–अर्कालाई गहिरो अंकमाल गरेर बधाई साटासाट गर्‍यौँ । सम्भवत: अहिलेसम्मकै सबैभन्दा ठूलो खुसी थियो त्यो ।

हामीले हङकङलाई हराएपछि सामूहिक खुसी मनायौँ । सबैले एकैसाथ डिनर गर्‍यौँ । अरू वेला आ–आफ्नै रुममा अर्डर गरेर खान्थ्यौँ । त्यस दिन नेपालबाट मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले फोन गरेर बधाई दिनुभयो । बधाई आउने क्रम अहिलेसम्म पनि जारी छ ।

क्रेडिट प्रशिक्षकलाई 

हामीले वर्षौंदेखि देखेको सपना साकार भएको छ । यो कुनै एक व्यक्तिको मात्रै प्रयासले सम्भव भएको होइन । हामी सबैको सामूहिक मिहिनेतको फल हो । तर, सबैभन्दा ठूलो श्रेय प्रशिक्षक पुबुदु दासानायेकेलाई दिन चाहन्छु । उहाँले नै नेपाली टिममा विश्वास जगाइदिनुभएको हो । उहाँ आएपछि नेपाली टोली धेरै परिवर्तन भइसकेको छ ।

अघिल्ला प्रशिक्षक रोय लुक डायस र अहिलेका प्रशिक्षकको शैली फरक छ । आखिर दुई व्यक्तिको शैली फरक त भई नै हाल्छ । डायसले टेक्निकमा जोड दिनुहुन्थ्यो । पुबुदुले टेक्निकका साथसाथै खेलाडीलाई खुलेर खेल्न प्रेरित गर्नुहुन्छ । भिडियो एनालाइसिस गरेर आ–आफ्नो कमजोरी महसुस गर्न तथा सच्याउन मौका दिनुहुन्छ । मेरो आफ्नै खेलमा पनि परिपक्वता आएको महसुस गरेको छु ।

शरदको ब्याटिङ

शरद भेषवाकर सुरुदेखि नै नेपालका महत्त्वपूर्ण ब्याट्सम्यान हुन् । धेरैका लागि युएईमा शरदले गरेको प्रदर्शन चमत्कार जस्तो भयो, किनकि उनले पहिले यस्तो विस्फोटक ब्याटिङ गरेको उनीहरूले देखेका थिएनन् । तर, हाम्रो लागि भने यो अनपेक्षित थिएन । उनले यस्तो गर्न सक्छन् भन्ने विश्वास हामीलाई थियो । टिकेर खेल्ने अनि आवश्यक समयमा ठूलो सट खेल्न सक्ने दुवै क्षमता शरदमा छ ।

टी–२० मा ६ नम्बरमा उतारेर प्रशिक्षकले उनलाई फिनिसरको रोल दिनुभएको हो । प्रतियोगिताभर उनले ‘आउटस्ट्यान्डिङ’ प्रदर्शन गरे । उनले अहिलेसम्म निरन्तर गरेको मिहिनेतकै फल हो यो । हामीले टिममा खेलाडी छान्दा केवल अगाडिका रेकर्ड मात्र हेर्दर्ैनौँ । उसमा भएको ‘पोटेन्सियल’ पनि हेर्छौं । शरद अहिले नेपाली टिमका अभिन्न अंग हुन् ।

केन्याविरुद्धको खेलमा मैले शरदलाई एक ओभर बलिङ पनि गराएको थिएँ, जतिवेला सबै बलरले रन खाइरहेका थिए । त्यसैले पार्टटाइम बलरका रूपमा उनलाई ट्राइ गरेँ । तर, त्यसले ब्याकफायर भयो । उनको एक ओभरमा केन्याका ब्याट्सम्यानले ३० रन ठोके । आफूलाई हानिएको रनको बदला शरदले ब्याटिङ गर्दा राम्रैसित लिए ।

पालो वान डेको

टी–२० वल्र्डकपमा पुगेपछि अब हाम्रो लक्ष्य वान डे वल्र्डकप हो । न्युजिल्यान्डमा हुने छनोट प्रतियोगिता नेपाली क्रिकेटका लागि सर्वाधिक महत्त्वपूर्ण छ । उक्त प्रतियोगिताको टप ४ मा परेर ओडिआई स्ट्याटस पायौँ भने नेपाली क्रिकेट अर्कै स्तरमा पुग्नेछ । त्यतिवेला हामी अस्ट्रेलिया, इन्डिया, पाकिस्तान जोसँग पनि खेल्न सक्छौँ । यति ठूलो अवसरलाई हामी खेर जान नदिन प्रतिबद्ध छौँ, मिहिनेत गरिरहेका छौँ ।

न्युजिल्यान्डको पिच हाम्रा लागि नयाँ हुनेछ । यसअघि नेपालले त्यहाँ अन्डर १९ वल्र्डकप खेलेको थियो र प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुगेको थियो । त्यो टोलीका सदस्य शक्ति दाइ र वसन्त मात्रै अहिलेको राष्ट्रिय टोलीमा हुनुहुन्छ ।

उनीहरू कहाँ पुगे 

मैले यु–१५ प्रतियोगिताबाट आफ्नो अन्तर्राष्ट्रिय खेलजीवन प्रारम्भ गरेको हुँ । हामीले उमेर समूहमा प्रतिस्पर्धा गरेका टेस्ट राष्ट्रका थुप्रै खेलाडी अहिले अन्तर्राष्ट्रियस्तरमा चर्चित छन् । पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेशजस्ता शक्तिशाली देशलाई अन्डर १९ विश्वकपमा हामीले हराएका छौँ । त्यतिवेला भारतका सुरेश रैना, रविचन्द्र आश्विन, इंग्ल्यान्डका एलेस्टर कुक, टिम ब्रेस्नान, किसवेटर, पाकिस्तानका अहमद सहजाद, अस्ट्रेलियाका स्टिभन स्मिथ, फिल ह्युज, दक्षिण अफ्रिकाका फिलान्डर, न्युजिल्यान्डका मार्टिन गुप्टिल, बंगलादेशका मुस्फिकर रहिमजस्ता खेलाडीसित खेलेको अनुभव हामीसित छ ।

उनीहरू स्रोत–साधनसम्पन्न देशमा जन्मिएकाले त्यहीअनुसार आफ्नो खेलस्तर विकास गरे । नेपालमा पनि क्रिकेटको व्यवसायीकरण हुन सक्यो भने हामी उनीहरूभन्दा कम हुनेछैनौँ । प्रतिभाको कमी छैन, केवल वातावरणको कमी छ । हामीकहाँ घरेलु क्रिकेटको संरचना नै छैन भन्दा हुन्छ । हाम्रो प्रणालीमा अहिले केवल २०–२२ जना खेलाडी छन् । सधैँ यतिले मात्रै क्रिकेट खेलेर हँुदैन । राष्ट्रिय टोलीसम्म आउने बाटो के हो त भन्ने नै छैन । चिनेको र सुनेको भरमा खेलाडीलाई टिपेर ल्याउनुपर्ने स्थिति छ । खेलाडी देशभर छन्, तर उनीहरूलाई सिस्टमभित्र समेट्न सकिएको छैन ।

आर्थिक पाटोबाट कुरा गर्दा पनि अवस्था नाजुक छ । ठूला प्रतियोगिता जित्दा सरकारले निर्णय गरेर केही रकम दिन्छ । त्यो भनेको हाम्रा लागि दसैँ–तिहारबराबर हुन्छ । अरू वेला हामीलाई सरकारले दिने पैसा भनेको मासिक १० हजार रुपैयाँ हो । सशस्त्र प्रहरीको टोलीबाट खेल्ने खेलाडीले मासिक १० हजार पाउँछन् । व्यक्तिगत रूपमा मैले केही कम्पनीको विज्ञापन तथा ब्रान्ड एम्बेसडरका रूपमा काम गर्ने मौका पाएको छु । त्यसबाट अहिले राम्रै पैसा हुन्छ । तर, मेरो मात्र राम्रो भएर भएन । आर्थिक कारणले नै नेपालका थुप्रै होनाहार क्रिकेटर विदेश पलायन हुन बाध्य भएका छन् । कतिले पेसा परिवर्तन गरेका छन् । खेलिरहेका खेलाडी पनि आयआर्जनका लागि अन्य उपाय सोच्न विवश छन् ।

यसपालि युएईबाट फर्केको टोलीका १५ सदस्यलाई सरकारले १०–१० लाख दिने घोषणा गरेको छ । यसबाट पक्कै राहत भएको छ । तर, राष्ट्रिय टोलीभन्दा बाहिर कसैको नजर पुगेको छैन । लामो समयदेखि देशका लागि खेलेर पनि कोही चोटका कारण, कोही फर्मका कारण राष्ट्रिय टोलीमा पर्न सकेका हुँदैनन् । उनीहरूले केही पनि पाउँदैनन् । म पनि कुनै दिन नपर्न सक्छु । त्यतिवेला मेरो पनि अवस्था त्यही हो । सरकारले अब खेलाडीको वर्गीकरण गरेर अन्य देशमा जस्तै विभिन्नस्तरको कन्ट्रयाक्ट गर्नुपर्छ । त्यसो भए मात्र खेलाडी ढुक्क भएर खेल्न सक्छन् । सधैँ २०–२५ जनाले क्रिकेट खेलेर हँुदैन । बढीभन्दा बढी खेलाडीलाई राष्ट्रिय संरचनामा तान्नुपर्छ । स्कुल वा कलेजमा क्रिकेट खेल्ने युवालाई राष्ट्रिय टोलीसम्म पुग्ने बाटो देखाइदिनुपर्छ । यसका लागि घरेलु क्रिकेट प्रतियोगिताहरू नियमित आयोजना गरिनु एकदम महत्त्वपूर्ण छ । खेलाडीलाई क्रिकेटबाट कहिल्यै फुर्सद दिनुहँुदैन । वर्षभरि नै प्रतियोगिता हुनुपर्छ । विदेशका बलिया टिमसित खेलाउन क्यानले पहल गर्नुपर्छ । अब सरकारले मात्रै होइन, निजी क्षेत्रले पनि क्रिकेटमा लगानी गर्ने वेला भइसकेको छ ।

नेपाल विश्वकपमा पुगेपछि बल्ल क्रिकेटलाई अलि सिरियस रूपमा लिन थालिएको महसुस हुँदै छ । देशलाई एकसूत्रमा बाँध्न खेल र खेलाडी पनि महत्त्वपूर्ण हुँदा रहेछन् है भन्न प्रमाणित भयो जस्तो लाग्छ । फलत: यतिवेला सबै निकाय सकारात्मक देखिएका छन् । यो क्षणलाई हामीले खेर जान दिनुहँुदैन ।

paraskhadka(करिब २० मिनेट कुराकानीपछि पारसले आफूलाई हतार भएको भन्दै बिदा लिन खोजे । होटेल क्राउन प्लाजाबाट खेलाडीको गाडी त्रिवि मैदानका लागि छुट्न लागिसकेको थियो । उनले अरू प्रश्न बाँकी भएमा मैदानमै आउन आग्रह गरे । दिउँसो १ बजे त्रिवि मैदानमा पुन: वार्ता सुचारु गर्ने सहमतिमा हामी छुट्टियौँ ।

दिउँसो तोकिएको समयमा त्रिवि मैदान पुग्दा खेलाडी आफू–आफूबीच अभ्यास म्याच खेलिरहेका थिए । कोच पुबुदु दासानायके मैदानको दक्षिणी भागमा एक्लै कुर्सीमा बसेर टोलीको खेल अवलोकन गरिरहेका थिए । उनले क्रिकेट टोलीलाई ३०० रनको काल्पनिक टार्गेट पछ्याउन लगाएका रहेछन् । मैदानमा पारस र शरद भेषवाकर ब्याटिङ गरिरहेका थिए । पारस व्यक्तिगत ७४ रनमा थिए । स्कोरबोर्ड हेर्दा ३५ ओभरको खेल सकिएको थियो भने १ सय ६७ रन बनेको थियो । हामी पारस आउट हुने प्रतीक्षामा बस्यौँ । केहीबेरमा शरद रनआउट भए र प्रदीप ऐरी क्रिजमा गए । उनले पारसलाई साथ दिँदै केही चौका र छक्का हाने । अन्तिम ओभरमा उनीहरूले तीन सय रनको लक्ष्य पूरा गरे । पारस एक सय ३२ रनमा नटआउट हुँदै मैदानबाट निस्के । त्यसपछि लन्च समय थियो । केही फ्यान उनीसित फोटो खिचाउन प्रतीक्षा गरिरहेका थिए । बल्ल हाम्रो पालो आयो ।

दोस्रो चरणको वार्तामा पारस आफ्नो व्यक्तिगत जीवनबारे पनि खुलेर प्रस्तुत भए । यद्यपि, आफ्नो विवाह र प्रेमकथाबारे भने धेरै चर्चा गर्न चाहेनन् । उनले आफ्नो क्रिकेट जीवनबारे यसरी सुनाए :

क्रिकेट यात्रा

मैले पहिले सोचेको थिइनँ– क्रिकेटमा यति लामो यात्रा गर्नेछु भनेर । बाल्यकालमा क्रिकेट केवल सोख थियो । ब्याटले बललाई हिर्काउन मन पथ्र्यो । हिर्काउँदा त्यसबाट निस्कने ध्वनि मन पथ्र्यो । बलिङ गर्न मन पथ्र्यो । फिल्डिङ गर्न मन पथ्र्यो । त्यसो त अरू खेलमा पनि रुचि थियो । बास्केटबल पछिसम्म खेलेँ ।

मेरो परिवारले कहिल्यै पनि मलाई क्रिकेट खेल्नबाट रोकेन । यसको सबैभन्दा ठूलो कारण भनेको मेरो पढाइ राम्रो हुनु हो । विद्यालयमा सधँै राम्रो रिजल्ट ल्याएकाले खेलमा लाग्दा कहिल्यै प्रश्न उठाइएन । ड्याडी अहिले होटेल म्यानेजमेन्ट इन्स्टिच्युट चलाउनुहुन्छ । म सानो छँदा उहाँले क्रिकेट खेलेको देखेको छु । अहिले मेरो सफलतामा गर्व गर्नुहुन्छ । हजुरबुबा रिटायर्ड इन्जिनियर हुनुहुन्छ । अहिले नेपालको क्रिकेट भनेपछि हुरुक्क हुनुहुन्छ । नेपालमा गेम हुँदा मैदानमै गएर हेर्नुहुन्छ ।

अहिले २६ वर्षको भएँ । यतिन्जेल केवल आफ्नो प्यासनका खातिर क्रिकेट खेलेको थिएँ । कहिलेसम्म खेलिन्छ भन्ने टुंगो थिएन । बीचमा एकचोटि खेल्न छाडेर विदेश जाने प्रोसेस पनि गरेको हुँ । तर, के भएर भिसा लागेन । अब भने मलाई लाग्दैन, म क्रिकेटबाट बाहिर निस्कन सक्छु । सबै जनताबाट यति माया पाएको छु । अरू कुनै पनि पेसामा लागेर यो सम्भव थिएन । शरीरले सकुन्जेल खेल्नेछु । देशका लागि खेल्नेछु । क्रिकेट मेरो भाग्यमा लेखेको रहेछ । मैले रोजेकोभन्दा पनि भाग्यमा पाएको कुरा हो भन्ने ठान्छु । एकदमै खुसी छु । आज म जे छु क्रिकेटकै कारण छु ।

क्रिकेटमा नलागेको भए इन्जिनियर बन्ने लक्ष्य थियो । आर्किटेक्ट इन्जिनियर बन्न चाहन्थेँ र बन्थेँ पनि होला । साउथ प्वाइन्ड बोर्डिङ स्कुलबाट एसएलसी दिएर ७७ प्रतिशत ल्याएको थिएँ । ह्वाइटहाउसमा प्लस टु पढे । प्लस टुमा पढाइ अलि डिस्टर्ब भयो । तैपनि राम्रै नतिजा आयो । ब्याचलरमा त पढ्नै पाइनँ भन्दा पनि हुन्छ । तैपनि जेनतेन पास गरेँ । पढाइलाई अझै निरन्तरता दिन चाहन्छु । तर, कति सम्भव होला भन्न सक्दिनँ ।

सुरुदेखि नै बलिङ र ब्याटिङ दुवै गर्थें । अलराउन्डरको भूमिकामा राष्ट्रिय टोलीमा समावेश भएको हुँ । अहिले पनि अलराउन्डरकै भूमिकामा छु । म आवश्यकता र पिचको कन्डिसनअनुसार फास्ट र अफस्पिन दुवै गर्छु । युएईमा मैले एउटै खेलमा पनि दुईथरी बलिङ गरेको थिएँ । यद्यपि, केही समययता बलिङभन्दा ब्याटिङ राम्रो भइरहेको छ ।

अस्ट्रेलियाको फ्यान

मैले कसैलाई आइडल मानेर क्रिकेट खेल्न थालेको होइन । खासमा मेरो कोही आइडल छैन । यद्यपि, मन पर्ने खेलाडीहरू थुप्रै छन् । माइकल क्लार्क, एबी डेभिल्लर्स, ब्रेट लीहरूको खेलशैली मन पर्छ । अस्ट्रेलियन टोलीको पहिलेदेखि नै फ्यान हुँ । हाम्रो छिमेकी देश भारत क्रिकेटको हेडक्वाटर नै हो । तर, मलाई इन्डियन टोली मन पर्दैन । तथापि राम्रा खेलाडी छन् भारतमा । जस्तो, विराट कोहली, रोहित शर्माहरूले राम्रो खेलिरहेका छन् । राम्रो खेल्नेहरूको प्रशंसा गर्नुपर्छ । तर, म भारतीय टोलीलाई समर्थन गर्दिनँ ।

फुर्सदमा 

क्रिकेटभन्दा बाहिर मेरो जीवन सामान्य छ । तर, अहिले क्रिकेटबाहिर समय नै कहाँ छ ? फुर्सदमा साथीभाइसँग घुम्न मन पर्छ । समय मिलेसम्म मुभी हेर्ने, गीत सुन्ने र अखबार पढ्ने पनि गर्छु । फेसबुक चलाउँछु । मेरा शुभचिन्तकले फेसबुकमार्फत मलाई थुप्रै शुभकामना र सन्देश पठाउनुहुन्छ । समय मिलेसम्म हेर्छु र सबैलाई रेस्पोन्स गर्ने प्रयास पनि गर्छु । मेरो नाममा थुप्रै फेक फेसबुक फ्यानपेज बनेको पाएको छु । म भन्ठानेर त्यसमा हजारौँजनाले लाइक गर्नुहुँदो रहेछ । तर, मेरो फ्यानपेज छैन । म आफूलाई सेलिब्रेटी पनि ठान्दिनँ । केवल खेलाडी हुँ । धेरैले माया दिनुभएको छ, त्यसमा धन्य छु । महिलाहरू पनि हुनुहुन्छ, मेरो खेल मन पराउने । मेरा लागि महिला वा पुरुष सबै एकै हुन् । फरक दृष्टिले हेर्दिनँ ।

विवाह टाढै

मेरो इन्गेजमेन्ट भइसकेको छ । सात वर्षदेखिको प्रेम थियो । साथीमार्फत चिनेको हुँ । उनी विद्यार्थी हुन् । क्रिकेट फ्यान होइनन्, तर हेर्छिन् । उनको अरू पर्सनल कुरामा जान चाहन्नँ । हामी वेलाबखत भेट्छौँ । यद्यपि, म यसलाई डेट भन्दिनँ । उनी मलाई परिवारकै सदस्यझैँ लाग्छिन् ।

पारिवारिक लाइफ सुरु गर्ने योजना छ । तर, तत्काल बिहे सम्भव देख्दिनँ । हुन सक्छ, एक वर्षपछि, दुई वर्षपछि वा तीन वर्षपछि । सही समयको प्रतीक्षा छु । यसमा अरू केही छेकबार त छैन । तर, अझै वेला भएको छैन जस्तो लाग्छ । परिवारबाट बिहेका लागि दबाब छैन । यो कुरामा मलाई स्वतन्त्रता छ ।

किन रोएँ थाहा छैन

म त्यति भावुक मान्छे होइन । हम्मेसी आँसु आउँदैन, खुसीमा होस् या दु:खमा । नेपालले विश्वकपमा स्थान बनाउँदा हृदय जतिसुकै गद्गद् भए पनि आखाबाट आँसु झरेन । खेलेर फर्केपछि एयरपोर्टमा समर्थकको भीड देख्दा, भीडले हाम्रो समर्थनमा नारा लगाइरहेको देख्दा भावुक भएको थिएँ ।

हम्मेसी नरुने मान्छे अस्ति एउटा सम्मान कार्यक्रममा रुन पुगेँ । किन रोएँ ? आफैँलाई थाहा छैन । सबैलाई आफ्नो देशको माया लाग्छ । देश राम्रो होस् भन्ने सबैलाई लाग्छ । नेपाल यस्तो देश हो जुन सबै मिले भने राम्रो बनाउन सकिन्छ । तर, हामी जनतादेखि लिएर सरकार सबै क्याजुअल छौँ । देशभित्र कुनै पूर्वाधार नभए पनि नेपाल विश्वकपमा पुग्यो, कोचको भिजन, खेलाडीको मिहिनेत र फ्यानको समर्थनले खेलाडी जस्तो अवस्थामा छन् त्यो हेर्दा हामी विश्वकपमा पुग्छाँै भनेर कसले विश्वास गर्छन् ?

त्यतिवेला यस्तै कुरा मनमा खेलिरहेका थिए । मेरो मनभित्र पनि गुम्सिएको भावना रहेछ । पीडा त भन्दिनँ, एउटा गाँठो रहेछ । त्यही व्यक्त भयो । आफूलाई थाम्नै सकिनँ । त्यसलाई खुसीको आँसु भनूँ कि दु:खको भनूँ ?

मिडियाबारे

म लजालु स्वभावको होइन, तर सकभर फ्रन्टमा आउन चाहन्नँ । मिडियामा आउन पनि रुचि लाग्दैन । तर, मेरो पोजिसन नै यस्तो छ, फ्रन्टमा आउनैपर्छ ।

मलाई मिडिया फ्रेन्ड्ली छैन पनि भनिन्छ । तर, जो मान्छेले क्रिकेट बुझ्दैन, उसलाई अन्तर्वार्ता दिन ठीक लाग्दैन । त्यसैले कतिपय पत्रकार केही यत्तिकै हचुवामा प्रश्न सोधिदिनुहुन्छ । त्यतिवेलाचाहिँ जवाफ दिन मन लाग्दैन ।

नेपालको क्रिकेट विकासमा मिडियाको ठूलो भूमिका रहेको स्वीकार गर्छु । मिडियाको सपोर्टविना क्रिकेट यहाँसम्म आउने थिएन । खालि मिडिया व्यावसायिक र उत्तरदायी हुनुपर्छ भन्ने मेरो मान्यता हो । मलाई आफ्नो पर्सनल लाइफबारे प्रतिक्रिया दिन मन पर्दैन । क्रिकेटको सम्बन्धमा कसैले सोध्नुहुन्छ भने म सधैँ उपलब्ध हुन्छु । प्रतियोगिता भएको वेला भ्याउँदिनँ, नत्र सधैँ बिहान उठेर पत्रिका पढ्छु ।

प्रस्तुति : चिरञ्जीवी पौडेल/दीपेन्द्र गुरुङ

 

 

Comment