Sunday , November 19 2017
Home / PaperPublished / कांग्रेसले भोट किनेकाले एमाले पहिलो भएन: खनाल – नया पत्रिका

कांग्रेसले भोट किनेकाले एमाले पहिलो भएन: खनाल – नया पत्रिका

एमाले अध्यक्ष झलनाथ खनालले नेकपा–माओवादीले बहिष्कारका नाममा कांग्रेसलाई भोट बेचेकाले आफ्नो पार्टी गत चुनावमा पहिलो हुन नसकेको बताएका छन् ।
प्रेस चौतारी नेपालको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै खनालले माओवादीले देशव्यापी रूपमा पैसा लिएर कांग्रेसलाई भोट दिएको आरोप लगाएका हुन् । केही ठाउँमा आन्तरिक कारणले चुनाव हारेको उनको भनाइ थियो । ‘केही निश्चित जित हुने क्षेत्रमा पनि आफ्नै व्यवस्थापकीय कमजोरीका कारण चुनाव हार्‍यौँ,’ खनालले भने, ‘तर, बहिष्कारका नाममा नेकपा–माओवादीले राष्ट्रव्यापी रूपमा कांग्रेसलाई भोट बेच्यो त्यसैले हामी पहिलो पार्टी हुन सकेनौँ ।’ खनालले एमालेको शक्ति विस्तार भइरहेको बताउँदै नवौँ महाधिवेशनपछि एमालेको सदस्य संख्या पाँच लाख पुग्ने दाबी गरे ।
पत्रकारको भेलालाई सम्बोधन गर्दै खनालले लोकतान्त्रिक गणतन्त्र, सामाजिक आर्थिक परिवर्तनको मूल्य आत्मसात् गरेको र प्रेसमैत्री संविधान एक वर्षभित्र बनाउन एमालेले संकल्प गरेको पनि बताए । ०६३ सालको परिवर्तन शान्तिपूर्ण राजनीतिक क्रान्ति रहेको र त्यसको व्यवस्थापनका लागि आगामी ८ माघभित्र संविधान बनाउनुपर्ने उनको भनाइ थियो ।
नवौं महाधिवेशनलाई एकताबद्ध बनाएर निर्माणको युग सुरुवात गर्ने खनालको भनाइ थियो । उनले सामन्तवादविरोधी राजनीतिक क्रान्तिको युग समाप्त भएको र अब निर्माणको युग सुरुवात भएकाले महाधिवेशनले त्यसअनुरूपको भूमिका निर्वाह गर्ने बताए ।

वर्तमान युग पुँजीवादी कि सामन्तवादी युग भन्नेमा पार्टीभित्र बहस भइरहेका वेला खनालले सामन्तवाद अब अवशेषका रूपमा मात्र रहेको र सामन्तवादी अवशेष समाप्ती, पुँजीवादको विकास र समाजवादी अर्थतन्त्रको तयारी गर्नुपर्ने बताए ।
चौतारीको भेलाले पत्रकार महासंघको आगामी महाधिवेशनमा पत्रकार डा. महेन्द्र विष्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Comment