Tuesday , December 12 2017
Home / Featured News / करोडका गाडीमा डन – नया पत्रिका दैनिक

करोडका गाडीमा डन – नया पत्रिका दैनिक

नवराज मैनाली

गुन्डागर्दीका नाइकेहरू विलासी जीवन बिताइरहेका छन् । अधिकांश डनले करोड रुपैयाँभन्दा बढीका गाडी चढ्छन् भने केहीले फेरी–फेरी नयाँ गाडीमा सयर गर्ने गरेका छन् । उनीहरूमध्ये केही मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका छन् ।

चिकित्सकलाई धम्क्याएको आरोपमा केही दिनअघि पक्राउ परेका तालु भनिने सुभाष श्रेष्ठ एक करोड रुपैयाँभन्दा धेरै पर्ने ल्यान्डरोभर गाडी चढ्छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई दरबारमार्गबाट पक्राउ गर्दा उनको बा.६च ८१११ नम्बरको ल्यान्डरोभर गाडी पनि बरामद गरेको थियो । तर, उनको गाडी प्रहरीले छाडिदिएको छ । तालुलाई भने प्रहरीले अपरहण उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।

तालु मात्र होइन गुन्डागर्दीका अधिकांश नाइके महँगो गाडी चढ्छन् । कुनै पेसा र व्यवसाय नभएका उनीहरूले कसरी करोडभन्दा धेरै पर्ने गाडी खरिद गरे भन्नेबारे प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा करिब डेढ करोड मूल्य पर्ने रातो रङको रेन्जरोभर गाडी चढ्छन् । उनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यक्ति हुन् । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडको हाराहारीमा मात्र सम्पत्ति भेट्टाएको छ । स्रोतका अनुसार उनले अन्य व्यक्तिका नाममा गाडी किन्ने तथा लगानी गर्दै आएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका अजय श्रेष्ठ पनि कार नै चढ्छन् । उनले हालै स्पोर्टेस कार किनेका छन् ।

त्यस्तै, दिनेश अधिकारी चरीले पनि झन्डै एक करोड रुपैयाँ पर्ने रातो रङको भक्सवागन पोलो ब्रान्डको कार चढ्दै आएका छन् । सोही कारमा धादिङबाट फर्कने क्रममा उनीमाथि केही महिनाअघि सतुंगलमा आक्रमण भएको थियो ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका डन गणेश लामाले सेतो रङको पजरो चढ्दै आएका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी तीन करोड धरौटीमा रिहा भएका छन् ।

ललितपुर क्षेत्रमा गुन्डागर्दी गर्ने मीनकृष्ण महर्जन पनि पजेरो नै चढ्छन् । बा.२च ९५२२ नम्बरको कलेजी रङको पजेरो उनले चढ्दै आएका छन् । स्रोतका अनुसार कांग्रेस नेता खुमबहादुर खड्का जेल परेपछि उनले खड्कासँग सो पजेरो किनेका हुन् ।

धरौटीमै छुटेका अर्का डन दीपक मनाङे स्कोर्पियो कार चढ्छन् । कुमार घैँटैले फेरी–फेरी नयाँ कार चढ्ने गर्छन् । उनले कार खरिदबिक्री पनि गर्दै आएका छन् । गुन्डागर्दीका नाइकेका रूपमा चिनिएका साजन महर्जन, बाघे लामा, माइला लामा, विश्वक्रान्ति सिंहले पनि फेरी–फेरी गाडी चढ्छन् ।

ललितपुरमा गुन्डागर्दीमा संलग्न राजु बोगटी स्विफ्ट कार चढ्छन् भने श्याम महर्जन स्यान्ट्रो कार चढ्छन् । उनीहरू व्यापारी शेखर गुरागाईंको अपहरणमा पक्राउ परी छुटेका व्यक्ति हुन् । चर्काे ब्याजमा पैसा लगानी गर्ने महेश सिंह र वीरेन्द्रलाल श्रेष्ठ पनि डेढ करोड रुपैयाँ पर्ने ल्यान्डक्रुजर गाडी चढ्छन् । उनीहरूको पनि कुनै वैध किसिमको व्यवसाय नभएको स्रोत बताउँछ । अवैध रूपमा कमाएको सम्पत्तिबाट नै उनीहरूले महँगा गाडी चढेको स्रोतको भनाइ छ । सिंह यसअघि लागूऔषध प्रकरणमा अमेरिकामा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘मोटरसाइकल चढ्ने गुन्डाहरू त कमै होलान्,’ महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्, ‘गुन्डाका आसेपासेसमेत कार चढ्ने गर्छन् ।’

गुन्डागर्दीमा संलग्न व्यक्तिहरूको धनाढ्य व्यापारीहरूको जस्तै जीवनशैली रहेको प्रहरी अधिकारीहरू बताउँछन् । गुन्डागर्दी नियन्त्रणका लागि उनीहरूको अवैध सम्पत्ति नियन्त्रण गर्ने अभियान सुरु भए पनि अनुसन्धानमा चलखेल हुँदा प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारीहरूको भनाइ छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रभावकारी बन्न नसक्दा गुन्डागर्दीलगायत अवैध कामबाट पैसा कमाउनेको हौसला बढेको ती प्रहरी अधिकारी बताउँछन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक चुणमणि शर्माले महँगा गाडी चढ्ने गुन्डागर्दीमा संलग्न लगायत विभिन्न व्यक्तिको उजुरी आएको बताए । अवैध रूपमा सम्पसत्त जोड्ने सबैमाथि छानबिन हुने उनको भनाइ छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुसन्धानको जिम्मा दिएर विभागले यसअघि गुन्डागर्दीका पाँचजना नाइकेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । गणेश लामा, दीपक मनाङे, मिलन चक्रे, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विभागले मुद्दा चलाएको थियो । अनुसन्धानका क्रममा उनीहरूको सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो । उनीहरूको सम्पूर्ण सम्पत्ति रोक्का राखिएको बताए पनि धरौटी तिरेर निस्किएलगत्तै उनीहरू करोडौँको गाडी चढ्न थालिसकेका छन् । उनीहरूको जीवनशैली पहिलेकै जस्तो हाइफाईपूर्ण भइसकेको छ ।

ठेक्कापट्टा तथा धम्की नै गुन्डागर्दीमा संलग्न व्यक्तिहरूको प्रमुख कमाइ भएको प्रहरी स्रोत बताउँछ । कतिपयले भने जग्गाको कारोबार गर्ने, पैसा उठाएर कमिसन खाने, रेस्टुरेन्ट चलाउने काम पनि गर्दै आएका छन् । कतिपयले आफ्नै ठेक्कापट्टाको कम्पनी पनि चलाउँदै आएका छन् ।

Comment